विश्वका केही कम्पनीका लोगोहरु विश्वप्रसिद्ध नै छन् । हेर्दा सामान्य लाग्छन्, तर ती लोगोमा लुकेका अर्थ रोचक छन् ।
हुन्डाई (Hyundai)

हुन्डाई कम्पनीले गाडी उत्पादन गर्छ । दक्षिण कोरियाको यो कम्पनी विश्वभर चर्चित छ । हुन्डाईको लोगो हेरेपछि लाग्छ, नामको पहिलो अक्षरलाई नै लोगो बनाइएको हो । तर, वास्तविकता फरक छ । हुण्डाईको लोगोमा केबल अंगे्रजी अक्षर एचमात्रै कोरिएको छैन । यो एच अक्षरको लोगोमा दुई व्यक्ति हात मिलाउँदै गरेको सन्देश दिइएको छ । गहिरिएर लोगोको अध्ययन गर्नुहोस् त दुई व्यक्ति हात मिलाउँदै गरेको महसुस तपाईंलाई पनि हुन्छ । यी दुई व्यक्तिमध्ये एकजना ग्राहक हुन् भने अर्को कम्पनीका प्रतिनिधी ।
एडिडास (Adidas)

एडिडास कम्पनीका उत्पादन विश्वभर पुगेका छन् । एडिडासका जुत्ता र लुगा हामी अधिकांशले पनि लगाएकै छौं । यसले विशेषतः स्पोर्ट्स जुत्ता तथा लुगा उत्पादन गर्छ । संस्थापक एडोल्फ डास्लरको नामबाट यो कम्पनीको नाम राखिएको छ । हुन त यो कम्पनीको लोगो समयसँगै परिवर्तन गरिदै आएको पाइन्छ । तर, हरेक लोगोमा तीनविटा धारहरु पनि समावेश गरिएकै छन् । हालका लोगोमा एउटै कोणमा तीन धारहरु छन् जुन एक साथ त्रिकोण बन्दछन् । यसलाई हिमालको प्रतिकको रुपमा लिइन्छ र यसले एथलेट्सहरुले पार गर्नै पर्ने चुनौतीहरुको प्रतिनिधित्व गर्छ ।
एप्पल (Apple)

विश्वप्रसिद्ध एप्पल कम्पनीका डिजाइनर रोब यानोभले आफूले एप्पल कम्पनीको लोगो बनाउँदा धरै शोधहरु गरेको बताएका छन् । उनले अलिकति टोकिएको स्याउलाई किन लोगो बनाए त ? यो लोगोको चित्र बनाउन मात्र उनलाई एक हप्ता समय लागेको थियो रे । यसक्रममा उनले विभिन्न समान्य चित्रहरुको पनि प्रयोग गरेछन् । तर, उनलाई कुनै पनि उचित लागेन र अन्तमा एकपटक टोकेको स्याउलाई आफ्नो कम्पनीको लोगो बनाए । यो लोगोको अर्थ कम्प्युटरको ‘बाइट’सँग जोडिएको छ । कम्प्युटर शब्द ‘बाइट’सँग मिल्निे भएकाले नै एप्पलले यसलाई आफ्नो लोगो बनाएको हो ।
सोनी भायो (Sony Vaio)

सोनी भायोका ल्यापटप नेपालमा पनि खुब चलेको छ । यसको लोगो भायोको अंग्रेजी शब्दजस्तै नै लाग्छ । भायोको सुरुका दुई अक्षरले लहर बनाएको छ जसले एनालग प्रतिकको प्रतिनिधित्व गर्छ भने पछाडिका १ र ० जस्तै देखिने दुई संख्या डिजिटल सिग्नलको एउटा प्रतिक हो ।
अमेजन (Amazon)

झट्ट हेर्दा खासै विशेष नदेखिने अमेजनको लोगोको पछाडि उक्त कम्पनीको दर्शन निकै रोचक तरिकाले प्रस्तुत गरिएको ट । लोगोमा रहेको पहेंलो तीर आकारको चिन्हलाई मुस्कानको प्रतिक मानिन्छ । यसको अर्थ ग्राहकको सन्तुष्टी भन्ने हो । यो तीरलाई अमेजनको अक्षर ‘ए’ र ‘जेड’को बीचमा पर्ने गरी कोरिएको छ । यसको अर्थ ‘ए टु जेड’ अर्थात् यहाँ सबै खालका सामान पाइन्छ भन्ने हो ।
बास्किन–रोबिनस (Baskin-Robbins)

बास्किन–रोबिनसको आइसक्रिम उत्पादन विश्भर लोकप्रिय छ । यो कम्पनीको लोगोमा बिआर लेखिएको छ । तर, लोगोमा गहिरिएर हेर्नुहोस् त बिआरमा गुलाबी रंग दिइएको क्षेत्रलाई हेर्दा ३१ संख्या देख्नुहुन्छ । यसको अर्थ हो, कम्पनीले बिक्री वितरण गर्दै आएका प्रसिद्ध ३१ छुट्टाछुट्टै स्वाद । त्यसैले झट्ट हेर्दा बिआर मात्रै देखिने लोगोले आफ्ना उत्पादनका ३१ स्वादलाई प्रतिनिधित्व गरेको छ ।
टोयोटा (Toyota)

धेरै मानिसहरुले जापानी कार उत्पादक टोयोटाको लोगोलाई एउटा फेसनेवल टोपीसँग तुलना गरेको पाइन्छ । तर, वास्तवमा यसले सियोको प्वालको स्टाइलिस छवीलाई प्रतिनिधित्व गर्छ जहाँ धागो वारपार गरिएको छ । यसले कम्पनीको अतीतलाई संकेत गरेको छ जतिबेला यो कम्पनीले सिलाई मेसिनको उत्पादन गर्ने गथ्र्यो । त्यस्तै टोयोटाको लोगोमा विभिन्न भागमा कम्पनीको नामको अक्षर पनि समावेश गरिएको छ ।
कन्टिनेन्टल (Continental)

कार टायर उत्पादनका लागि कन्टिनेन्टल निकै चर्चित कम्पनी हो । लोगोमा रहेको पहिलो दुई अक्षरले अटोमोबाइलको पांग्राको प्रतिनिधित्व गरेको छ ।
फर्मुला १ (Formula 1)

कार कम्पनी फर्मुला १ को लोगोको अंग्रेजी अक्षर ‘एफ’ र अर्कोतर्फको रातो भागबीचको सेतो स्थानलाई ध्यानपूर्वक हेर्नुहोस् त । त्यहाँ तपाईंले १ संख्या देख्नुहुन्छ । लोगोको रातो भागले कम्पनीले हासिल गरेको गरेको ग्राफिकल प्रस्तुति दर्शाएको छ ।
बिट्स (Beats)

अडियो उपकरण निर्माण गर्ने अमेरिकाको चर्चित कम्पनी हो बिट्स । यसको लोगोमा भएको अक्षर ‘बी’ले हेडफोन लगाएको एक व्यक्ति जस्तो दर्शाउँछ ।
टोबलरन (Toblerone)

स्विट्जरल्याण्डको बन्र्समा रहेको प्रसिद्ध चकलेट कम्पनी टोबलरनले आफ्नो लोगोमा एउटा भालुको छाँया देखाएको छ । यसको अर्थ हो, बन्र्स कुनैबेला भालुहरुको शहर थियो ।
बीएमडब्यू (BMW)
प्रायः मानिसहरुले बिएमडब्यूको लोगोको मध्यभाग हवाइजहाजको घुमिरहेको बिलेटको प्रतिक हो भन्छन् । तर, वास्तवमा यो जर्मनीको बाभरियन प्रान्तको झण्डाको प्रतिक हो । किनभने यो कम्पनीले पहिले यहीँ स्थापना भएको थियो ।
एलजी (LG)

दक्षिण कोरियाली इलेम्ट्रोनिक्स कम्पनी एलजीको लोगोमा एउटा व्यक्तिको मुखजस्तै चित्र छ । कम्पनीका अनुसार लोगोको अर्थ उनीहरुले आफ्नो ग्राहकहरुसँग सामान्य मानव नाता बनाउने आकांक्षाको प्रतिनिधित्व गर्छ ।
कोकाकोला (Coca-Cola)

कोकाकोला कम्पनीको विश्वप्रसिद्ध लोगोमा ‘ओ’ र ‘एल’को बीच भागमा स्पष्ट रुपमै डेनिसको झण्डा देखिन्छ । तर, वास्तवमा यो संयोग मात्र भएको कम्पनीले बताइसकेको छ । झण्डालाई विज्ञापनको रुपमा भने प्रयोग नगरेको उसले बताएको छ ।
पेप्सी (Pepsi)

सुन्दा विश्वास नलाग्न पनि सक्छ । तर, पेप्सीले आफ्नो गुप्त अर्थहरु खुलाउने गरी लोगो बनाउनमात्रै १० लाख डलर खर्च गरेको छ । पेप्सीको विशेष डिजाइन गरिएको नयाँ लोगोमा रहस्यमय र गोपनीय विषयहरुको संकेत गरिएको छ । जस्तैः पृथ्वीको चुम्बकीय क्षेत्र, फेङ सुई, पाइथागोरस, भू–गर्भ विज्ञान, सापेक्षताको सिद्धान्त र स्वर्ण अनुपात । लोगोमा मोनालिसा, पार्थेनान र रेने डेसकार्टेसको सन्दर्भ पनि रहेको डिजाइनरले दर्शाउन खोजेका छन् । साथै, रातो, सेतो र निलो रङले अमेरिकी झण्डाको प्रतिनिधित्व गराएको छ ।
