बीबीसी।
बलात्कारको मामलामा सिबिआई कोर्टबाट २० वर्षको सजायँ पाउने गुरमित राम रहिम सिंहको नाममा विभिन्न रेकर्ड छन् ।
यसमा उनको फिल्मको पोष्टरदेखि सर–सफाईको जागरुकताका लागि आयोजित कार्यक्रम पनि समावेश छ । उनको कीर्तिमानको यस प्रकार छन्ः
१. सबैभन्दा ठूलो फिंगर पेन्टिङः
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सबैभन्दा ठूलो फिंगर पेन्टिङ बनाउने रेकर्ड गुरमित राम रहिम सिहं र शाह सतनाम जी ग्रीन एस वेलफेयर फोर्स विंगको नाममा छ ।
३ हजार ९ सय वर्ग मिटर (४१,९७९ वर्ग फुट) को यो पेन्टिङ २३ सेप्टेम्बर सन् २०१२ को सिरसामा बनाइएको थियो ।
२. सबैभन्दा ठूलो पोष्टरः
सबैभन्दा ठूलो पोष्टर बनाउने रेकर्ड पनि गुरमित राम रहिम सिंह र हकिकत इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको नाममा छ । १५१२३.८ वर्ग मिटर (१६२७९१.२ वर्ग फुट) को उक्त पोष्टर हरियाणामा सन् २०१६ को अक्टोबर १४ तारिखमा बनाइएको थियो ।
यो पोष्टर गुरमित राम रहिम सिंहको फिल्म एमएसजीः द वारियर लायन हार्टको प्रोमोशनका लागि बनाइएको थियो ।
योभन्दा अघि पनि सबैभन्दा ठूलो पोष्टरको रेकर्ड पनि गुरमित राम रहिमको नाममा थियो । ५९६९.६१ वर्ग मिटर (६४२५६.३४ वर्ग फुट) को यो पोष्टर सिरसाको शाह सतनाम क्रिकेट स्टेडियममा सन् २०१५ को सेप्टेम्बर ९ तारिखमा बनाइएको थियो ।
उक्त पोष्टर गुरमित राम रहिमको फिल्म एमएसजी–२ को प्रोमोशनका लागि बनाइएको थियो । यो पोष्टरले बाहुबली फिल्मको (५१५९८.२१ वर्ग फुट) को रेकर्ड तोडेको थियो ।
३. एकै पटक हात धुने रेकर्डः
सिरसास्थित डेरा सच्चा सौदाको एसएमजी कम्प्लेक्समा गुरमित राम रहिम सिंह र शाह सतनाम ग्रिन एस वेलफेयर फोर्स विंगको तर्फबाट आयोजित कार्यक्रममा सन् २०१२ को सेप्टेम्बर २३ मा यो रेकर्ड बन्यो ।
यतिबेला ७,६७५ ले एकैपटक हात धोए । यो रेकर्ड भारतका विभिन्न शहरमा सर–सफाइलाई महत्व दिनका लागि बनाइएको थियो ।
४. सागसब्जीको प्रयोगबाट विशाल ‘वान’ बनाइयोः
अर्गानिक सागसब्जीको प्रयोगलाई बढावा दिनका लागि १८५८.०७ वर्ग मिटर (२०००० वर्ग फुट) को एक चिन्ह बनाइयो ।
गुरमित राम रहिम सिंह र शाह सतनाम जी ग्रीन एस वेलफेयर फोर्स विंगको तर्फबाट यसलाई सिरसास्थित डेरा सच्चा सौदाको एसएमजी कम्प्लेक्समा बनाइयो ।
यसलाई बनाउन ७७,७२३ किलो सागसब्जीको प्रयोग भयो । यसमा फर्सी, रातो खुर्सानी, हरियो खुर्सानी, लसुन र गोलभेडाको पनि प्रयोग गरियो ।
५. सबैभन्दा ठूलो ग्रिटिङ कार्डः
सबैभन्दा ठूलो ग्रिटिङ कार्डको रेकर्ड गुरमित राम रहिम सिंह र हकिकत इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडको नाममा छ । ३९८.४२ वर्ग मिटर (४२८९.०६ वर्ग फुट) को यो ग्रिटिङ कार्ड सन् २०१५ अगस्ट २२ तारिखमा सिरसामा बनाइएको थियो ।
६. सबैभन्दा धेरै तेलको दियोः
सबैभन्दा धेरै तेलको बत्ती बाल्ने रेकर्ड पनि गुरमित राम रहिमको नाममा छ । हरियाणामा सन् २०१६ मा सेप्टेम्बर २३ तारिखमा आयोजित एक कार्यक्रममा १,५०,००९ दियो बालियो ।
उक्त कार्यक्रममा १,५३१ मानिसले भाग लिएका थिए ।
७. जन्मदिनको शुभकामनाको भिडियोः
गुरमित राम रहिम सिंहको नाम जन्मदिनमा भिडियोमार्फत सबैभन्दा धेरै शुभकामना पाएको रेकर्ड पनि समावेश छ । राम रहिमले ३२ हजार २ सय ७ वटा भिडियो पाए ।
यसै वर्ष सन् २०१७ को फेब्रअरी १५ मा भिडियोमार्फत आएका बधाई सन्देशमाथि गिनिज बुक अफ वर्ल्ड रेकर्डको छाप लाग्यो ।
उक्त भिडियो अगस्ट १४ देखि नोभेम्बर १४ सन् २०१६ का बिच पठाइएको थियो ।