अस्पताल सुधार्न खोज्दा सरुवाको धम्की

अस्पताल सुधार्न खोज्दा सरुवाको धम्की

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

भक्तपुर, २३ असार । अस्तव्यस्त बन्दै गएको अस्पतालको सेवा सुधार्न खोज्दा अस्पतालकै चिकित्सकदेखि कर्मचारी समेतले सरुवाको धम्की दिएको भक्तपुर जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले बताउनुभएको छ ।

डा हरि केसीको सरुवा भएपछि सो पदमा सरुवा भएर आउनुभएकी देवकोटाले अस्पतालको सेवा सुधार्दै २४ सै घन्टा सेवा दिने निर्णय गरेपछि सरुवाको धम्की आएको बताउनुभएको हो ।

अस्पतालको तलब खाएर निजी अस्पतालमा जाने र ११ बजे आएर २ बजेपछि क्लिनिक जाने यहाँका चिकित्सकलाई पूरै समय अस्पतालमा रहेर सेवा दिन आग्रह गर्दा डा सरिता श्रेष्ठ र डा जमुना किरण पौडेलले उल्टै कर्मचारीको हस्ताक्षर गराएर सरुवा गर्ने धम्की दिएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार आमा सुरक्षा कार्यक्रम अन्तर्गत २४ सै घन्टा प्रसूति सेवा दिनेगरी आउनुभएकी डा पौडेल भक्तपुर अस्पतालमा केही घन्टा मात्रै बसेर अन्य समय गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा नियम विपरीत गएर सेवा दिएपछि सुपरिटेन्डेन डा देवकोटाले २४ सै घन्टा सेवा दिन निर्देशन दिनुभएको थियो ।

क्वार्टरको सुविधा लिएर अस्पतालकै सवारी साधनको समेत दुरुपयोग गरी अन्यत्र गएर सेवा दिएको पाइएपछि त्यसलाई रोक्न खोज्दा विवाद भएको प्रशासनको भनाइ छ ।

त्यसैगरी अस्पतालमा सातामा दुई दिन आएर ६ दिनको हाजिर गर्दैआउनु भएकी अर्का डा सरिता श्रेष्ठलाई प्रत्येक दिन अस्पतालमा सेवा दिन डा देवकोटाले निर्देशन दिंदा विवाद चर्किएको थियो ।

प्रशासन कर्मचारीकाअनुसार सातामा दुई दिन अस्पतालमा आउने र अन्य दिन निजी क्लिनिकमा जाने गर्नुभएकी डा श्रेष्ठले एकै पटक छ दिनको हाजिर गर्दा पनि प्रशासन प्रमुख मौन बसेकाले समस्या आएको हो ।

मेडिकल सुपरिटेन्डेन्टमा डा देवकोटा आएपछि डा श्रेष्ठलाई पूरै समय भक्तपुर अस्पतालमा सेवा दिन निर्देशन दिएकामा उहाँले सरुवाको धम्की दिएपछि दुई जनाबीच बोलचाल नै बन्द भएको प्रशासनका कर्मचारीको भनाइ छ ।

विवादबीच डा पौडेल र डा श्रेष्ठले केही दिनयता अस्पतालमा थप समय काम गर्न थालेपनि अस्पतालमा कर्मचारीबीच नै बोलचाल बन्द हुँदा व्यावहारिक समस्या भएको कर्मचारीको गुनासो छ ।

केही चिकित्सक र कर्मचारीको मिलेमतोमा ल्याबलगायतका विभिन्न परीक्षण एवम् एक्सरेका लागि बाहिर क्लिनिकमा पठाउने र यहीँ उपचार हुने रोगको समेत उपचार नगरी निजी अस्पतालमा पठाउँदै आएकामा अहिले त्यसलाई रोकेर अस्पताल मै सेवा दिन सुरु गरेको अस्पतालको दाबी छ । अहिले एक्सरे, ल्याब, फार्मेसी, प्रसूति र आकस्मिक सेवालाई २४ सै घन्टा सञ्चालनमा ल्याइएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा देवकोटाले अस्पतालको सेवा सुधार गरेको दाबी गर्दै भन्नुभयो–“अहिले सबै चिकित्सकलाई नियमित गराएको छु, काम नगरी निजी क्लिनिक जाने चिकित्सकलाई यहाँ नियमित गराएको छु, ओपिडी सेवालाई विस्तार गराएको छु, राति पनि अस्पतालमा चिकित्सकलाई अनिवार्य बस्ने व्यवस्था गरेको छु ।”
अस्पतालको सेवालाई सुधार्न खोज्दा सरुवा गर्ने धम्की आए पनि त्यसको पर्वाह नगरी काम गरेको बताउँदै उहाँले यहाँ उपचार हुनै नसक्ने बाहेक अरु बिरामीलाई बाहिर नपठाउने र रिक्त रहेको जनशक्ति पठाइदिन स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले केही समयभित्रै अस्पतालमा आईसियु सेवा समेत सञ्चालन गर्ने तयारी गरेको बताउँदै अस्तव्यस्त रहेको अस्पतालको सेवालाई सुधार्दै नमुनाको अस्पताल बनाउने प्रयास भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी