काठमाडौँ, १० असार ।
उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्थानीय तहको निर्वाचनसँगै सामुदायिक विद्यालयको शिक्षा राम्रो हुने बताउनुभएको छ ।
राजधानीमा आज आयोजीत कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले स्थानीय तहलाई दिइएको अधिकारसँगै सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुने विचार व्यक्त गर्नुभयो ।
निजी विद्यालयका तुलनामा सामुदायिक विद्यालयले राम्रो अङ्क ल्याउन नसकेका स्वीकार गदै उहाँले व्यावहारिक शिक्षातर्फ मुलुकलाई अगाडि बढाउने सोच मन्त्रालयले गरिरहेको जानकारी दिनुभयो । उहाँले राम्रो अङ्क ल्याउन नसक्ने विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “दैनिक रोजगारीका लागि हजारौँ विद्यार्थी बाहिरिएका छन् उनीहरुलाई पनि जीवन उपयोगी शिक्षा दिन सकियो भने धेरै आम्दानी गर्न सकिन्छ ।”
उपप्रधानमन्त्री श्रेष्ठले जनताको इच्छा, आकाङ्क्षा र चाहनाअनुसार मुलुकलाई अगाडि बढाउने भन्दै स्याङ्जा जिल्ला र शिक्षा मन्त्रालयको शिर नझुक्ने गरी काम गर्ने बताउनुभयो ।