अस्थायी शिक्षकसँग चारबुँदे सहमति :केही अझै असन्तुष्ट

अस्थायी शिक्षकसँग चारबुँदे सहमति :केही अझै असन्तुष्ट

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, ९ असार । शिक्षा मन्त्रालय र अस्थायी शिक्षकका प्रतिनिधिबीचको वार्तामा आज चारबुँदे सहमतिसँगै आन्दोलनरत शिक्षकको अनशन तोडिएको छ ।

उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थिति र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिको रोहबरमा सिंहदरबारस्थित मन्त्रालयमा भएको वार्तामा कार्यरत सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी हुन मौका प्रदान गर्ने र असफल हुनेलाई तोकिएको सुविधा दिने उल्लेख छ । रिक्त दरबन्दीमा हुने त्यस्तो परीक्षामा न्यूनतम ४० अङ्क ल्याउने स्थायी हुनेछन् ।

शिक्षा ऐन आठौँ संशोधन (२०७२) मा आन्तरिक परीक्षामा भाग लिन नचाहने भएमा सुविधा लिन परीक्षाअगावै आवेदन दिनुपर्ने र असफल भएमा सुविधा नपाउने उल्लेख थियो । आजको सहमतिमा परीक्षामा असफल हुनेलाई पनि ऐनले तोकेको अतिरिक्त औषधि उपचार खर्च दिने उल्लेख छ । यो सहमति कार्यान्वयनका लागि शिक्षा ऐनमा पुनः संशोधन गर्नुपर्ने हुन्छ । आठौँ संशोधनमा परीक्षामा सामेल हुन नचाहनेले सेवा अवधिका आधारमा बढीमा रु १२ लाखसम्म सुविधा पाउने उल्लेख छ ।

सहमतिमा २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्मको कुल रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ प्रतिशत खुल्ला तर्फ विज्ञापन गर्ने विषयमा आन्तरिकतर्फको विज्ञापनमा पद सङ्ख्या समायोजन गर्न (अनुपात मिलान) का लागि मन्त्रालय, महासङ्घ र अस्थायीका प्रतिनिधि रहेको ११ सदस्यीय कार्यदल गठन हुनेछ । कार्यदलले १५ दिनभित्र प्रतिवेदन दिनेछ । हाल कुल २६ हजार एकसय ४१ शिक्षक अस्थायी छन् ।

यस्तै, शिक्षक विज्ञापनको पाठ्यक्रम, प्रश्न ग्रिड र परीक्षालगायतका विषयमा सुधार गर्न थप गृहकार्य गर्ने पनि सहमति भएको छ । यसको अर्थ प्रश्नपत्र सरल बनाउने भनी सङ्घर्ष समितिले आफ्ना कार्यकर्तालाई बुझाएको छ ।

सहमतिपत्रमा मन्त्रालयका तर्फबाट सहसचिव डा हरि लम्साल, महासङ्घका अध्यक्ष केशव निरौला, समितिका अध्यक्ष हेमनाथ चौलागाईंलगायतले हस्ताक्षर गर्नुभएको छ ।

समितिले यही असार २ गतेदेखि भद्रकालीमा आमरण अनशन कार्यक्रम सञ्चालन गरेको थियो । अनशनमा पाँच शिक्षक बस्नुभएको थियो ।

अनशन अन्त्य

सहमतिलगत्तै शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अनशनस्थलमा पुगी अनशनकारीलाई जुस खुवाई अनशन तोडाउनुभयो । सङ्घर्ष समितिका अध्यक्ष हेमनाथ चौलागाईंले आफूले मागेभन्दा बढी प्राप्ति भएको भन्दै समयमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

जुस खाएपछि अनशनमा बसेका मध्येका एक शिक्षक कलावती जोशीले सहमतिको शीघ्र कार्यान्वयन हुनुपर्ने प्रतिक्रिया दिनुभयो ।

शिक्षक नेताहरुबीचको सहमतिलाई अनशनस्थलमा उपस्थित कतिपय अस्थायी शिक्षकले भने विरोध गरेका छन् । उनीहरुले अनशन तोडाउन खोज्दा दरबन्दी समायोजन भन्ने बुँदा अस्पष्ट र झुक्याउने खालको भएकाले वार्ता समितिले धोका दिएको बताए । जुस खुवाएपछि शिक्षा सचिवले बोल्ने कार्यक्रम रहे पनि उनीहरुले सहमति मान्दैनौँ भनी नाराबाजी गरेपछि कार्यक्रमबीचमै अन्त्यभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी