काठमान्डौ ,असार २ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज सार्वजनिक भएकाे छ ।गत चैत्रमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा(एसईई)को नतिजा अाज (शुक्रवार ) सार्वजनिक भएकाे हाे ।
अाज बिहानअघि बसेको परीक्षा समितिको बैठक सम्पन्न भए लगतै एसईईको नतिजा सार्वजनिक गरिएको हो । विगतका वर्षमा एसएलसी भनिएको परीक्षालाई यस वर्षदेखि शिक्षा ऐन संशोधनसँगै एसईई नामकरण गरिएको हो । गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार विद्यार्थी सहभागी भएका थिए ।
यसवर्ष पनि ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६२ हजार १ सय ३६ मध्ये नियमितमा ४ लाख ४५ हजार ५ सय ६४ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १२ हजार २ सय ८४ जनाले प्राप्त गरेका छन् ।
यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४२ हजार ४ सय २७ जना छन् । २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ५० हजार ६ सय ४६ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ६१ हजार ९ सय ५५ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीएसम्म ल्याउने १ लाख ८ हजार ४ सय ६४ विद्यार्थी छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ जना विद्यार्थी रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् ।
कुनै विद्यार्थीले आफ्नो ग्रेडिङमा चित्त नबुझे पुनर्योगका लागि १५ दिन भित्र निवेदन दिन सकिने बोर्डले जनाएको छ । यस्तै दुई विषयमा अनुत्तिर्ण वा अनुपस्थित भए ग्रेड बृद्धिका लागि मौका परीक्षाको व्यबस्था गरिएको छ । परीक्षा साउन १९ गते देखि २६ गते सञ्चालन हुने जनाइएको छ ।बोर्डका अनुसार यो पटक देखि परीक्षाको नतिजा संघीय प्रणाली अनुसार गरिएको छ ।
परीक्षाको नतिजा थाहा पाउन १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै नतिजा शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौंको वेभसाइटwww.moe.gov.np , शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np , परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरको www.soce.np , राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np , नेपाल टेलीकम www.see.ntc.np , लगातयतको वेभसाइट मार्फत पनि हेर्न सकिने छ ।
यसअघि कक्षा १० अन्तिम परीक्षालाई एसएलसी भनिँदै आएकोमा गत असारमा भएको शिक्षा ऐनको आठौं संशोधनपछि कक्षा १२ को अन्तिममा लिइने परीक्षालाई एसएलसी मानिएको हो । कक्षा १२ सम्मलाई माध्यमिक तह मानिएसँगै एसएलसी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको दायित्व पनि राष्ट्रिय परीक्षा बोर्डमा गएको छ ।
परीक्षामा सामेल भएकामध्ये २ सय १९ जनाको परीक्षा रद्द गरिएको छ । परीक्षामा ‘सी’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । गतवर्ष दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए ।
विगतमा दुई विषयमा मात्रै मौका परीक्षा दिन पाइन्थ्यो । अब ‘सी’ भन्दा कम ग्रेड आएका विद्यार्थीले सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भन्ने हुँदैन ।
गतवर्षसम्म दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड वृद्धिको परीक्षा दिन पाउँथ्यो । यसवर्ष भने सैद्धान्तिक विषयमा ‘डी’, ‘डि’ प्लस र ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुले ग्रेड वृद्धिको परीक्षा दिन पाउने छन् । ग्रेड वृद्धिका लागि पुन: परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुनेछ ।

