काठमाडौं, बैशाख १० ।
नेपालका मुख्य मुख्य पर्यटकीय गन्तव्यहरू तथा विभिन्न महत्वपूर्ण क्रियाकलापहरू समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप ‘वेलकम नेपाल’ नयाँ वर्ष २०७४ को मौका पारेर पुनः सार्वजनिक गरिएको छ ।
अन्तर्राष्ट्रिय र आन्तरिक पर्यटकहरूलाई लक्षित गरी मुलुकको पर्यटन पर्वद्धन गर्ने उद्देश्यका साथ मोबाइल एप सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यो मोबाइल एप सम्पूर्ण नभई प्रारम्भिक चरणको रहेको र आगामी दिनहरूमा आइओएस प्लेटफर्ममा पनि ल्याउने र विभिन्न नयाँ नयाँ प्रविधिहरू विकास गरिँदै लगिने बताएका छन् ।
यस एपलाई एक पटक एप डाउनलोड गरिसकेपछि इन्टरनेट बिना पनि प्रयोग गर्न सकिने बताइएको छ ।
उक्त मोबाइल एपमा नेपाली पर्यटनको बारेमा सम्पूर्ण जानकारी दिने गरी राखिएको हुँदा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताइएको छ । हाल यो एन्ड्रोइड भर्सन गुगल प्ले स्टोरमा उपलब्ध रहेको बोर्डले जनाएको छ ।