उपचारबाहिर नौ हजार क्षयरोगी , उपत्यकामा मात्रै करिब ४ हजार नयाँ बिरामि थपिए 

उपचारबाहिर नौ हजार क्षयरोगी , उपत्यकामा मात्रै करिब ४ हजार नयाँ बिरामि थपिए 

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, चैत १२ ।
काठमाण्डौ उपत्यकामा मात्रै क्षयरोगका तीन हजार ६०० नयाँ बिरामी थपिएका छन् ।  राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार देशभरि क्षयरोगको ३४ हजारमध्ये काठमाडौँ उपत्यकामा मात्र यतिको सङ्ख्यामा नयाँ बिरामी थपिएका हुन् ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. शरदचन्द्र बर्माले आर्थिक वर्ष २०७२÷७३ मा देशभरमा ३४ हजार मानिसमा क्षयरोग देखिएको जानकारी दिनुभयो ।  नौ हजार क्षयरोगका बिरामी सम्पर्कमा नआएको अनुमान विश्व स्वास्थ्य सङ्गठनल गरेको जानकारी पनि उहाँले दिनुभयो ।
उपचारमा आएका बिरामीमध्ये ७५ प्रतिशतलाई हावाको माध्यमबाट सर्ने फोक्सोको क्षयरोग भएको पाइएको छ ।  एक जना क्षयरोगी बिरामीलाई पूर्ण निको हुन करिब आठ लाख रुपियाँबराबरको औषधि सरकारले डट्स सेन्टरबाट निःशुल्क दिँदै आएको भन्दै उहाँले धेरैले पूरा अवधि औषधि नखाई बीचैमा छोड्ने गरेकाले अन्य व्यक्तिमा समेत सर्ने जोखिम बढी भएको बताउनुभयो ।
क्षयरोग देखिएपछि नियमित ६ महिना औषधि खाएमा निको हुने भए पनि नियमित औषधि सेवन नगर्दा बर्सेनि नेपालमा चार हजार ५०० देखि पाँच हजार जनाको क्षयरोगका कारण मृत्यु हुने गरेको छ ।
क्षयरोग केन्द्रका योजना तथा अनुगमन शाखा प्रमुख अनिल थापाले घनाबस्तीका कारण उपत्यकामा धेरै सङ्ख्यामा क्षयरोगका बिरामी भेटिएको जानकारी दिनुभयो ।
प्रमुख थापाले दैनिक औषधि खान आउने बिरामीलाई मासिक एक हजार पाँच सय रुपियाँसमेत उपलब्ध गराउने गरेको बताउनुभयो ।  उहाँले कुल बिरामीमध्ये ७५ प्रतिशतलाई हावाको माध्यमबाट सर्ने फोक्सोको क्षयरोग भएको पाइएको जानकारी दिँदै हावाको आउजाउ नहुने कोठा, जेल, छात्रावास, गुम्बामा धेरै मानिस सँगै बस्ने ठाउँमा यो रोगको सङ्क्रमण बढी हुन्छ ।
वरिष्ठ क्षयरोग विशेषज्ञ डा. मोहनकुमार प्रसाईले लगातार खोकी लागिरहने, खकारमा रगत देखिने, साँझपख ज्वरो आउने, पसिना आउने, दुब्लाउँदै जाने लक्षण देखिएमा फोक्सोको क्षयरोग हुने बताउनुभयो ।  श्वासप्रश्वासको माध्यमले सर्ने रोग भएकाले धेरैजसो फोक्सोमा यो रोग लाग्ने गर्छ ।  क्षयरोग लागेपछि नियमित रूपमा चारथरि औषधि सेवन गरे पूर्ण रूपमा निको हुने डा. प्रसाईले बताउनुभयो ।
योजना प्रमुख थापाले क्षयरोगका बिरामी हुने युवा बढी रहेको जानकारी दिनुभयो ।  उहाँले हाल देखिएका ३७ हजार क्षयरोगका बिरामीमध्ये ११ हजारको हाराहारीमा युवा रहेको जानकारी दिनुभयो ।  गतवर्षभन्दा यस वर्ष झन् धेरै युवामा क्षयरोग भेटिएको छ, जसमध्ये धेरैलाई फोक्सोको क्षयरोग भएको पाइएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७२÷७३ मा ३२ हजार ३७९ नयाँ क्षयरोगी पहिचान भई उपचारको दायरामा आएकोमा २३ हजार ५२७ अर्थात् ७५ प्रतिशत फोक्सोको क्षयरोगी र आठ हजार ८५२ अर्थात् २८ प्रतिशत फोक्सोबाहिर हुने क्षयरोगी रहेका छन् ।  तीमध्ये एक हजार ७६९ जना अर्थात् ५.५ प्रतिशत बालबालिका छन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले हराइरहेका बिरामीको खोजी गरी उपचारको पहुँचमा पु¥याउनु मुख्य चुनौती रहेको बताउनुभयो ।  उहाँले जनचेतनाको कमीका कारण रोग लागेका व्यक्ति थाहा नपाएर उपचारको पहुँचमा नआएको हुनसक्ने जानकारी दिनुभयो ।  महानिर्देशक डा. पन्तले ‘जीन एक्सपर्ट मेसिन’को सहायताले अब रोगीको खोजी गर्न लागेको जानकारी दिनुभयो ।
यसैबीच शुक्रवार विश्व क्षयरोग दिवस मनाइएको छ ।  स्वास्थ्य मन्त्रालय राष्ट्रिय क्षयरोग केन्द्रमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले छुटेका क्षयरोगीको खोजी गरी उपचारको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।  उहाँले लक्ष्य अनुसार क्षयरोग उपचारमा सफलता प्राप्त भएको भन्दै सबै क्षयरोगीलाई उपचारमा ल्याउन सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ३० वर्षदेखि क्षयरोगको क्षेत्रमा स्वयंसेवकका रूपमा कार्यरत जोगबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।  विश्व स्वास्थ्य सङ्गठनको अगुवाइमा हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । –
गोरखापत्र  दैनिकबाट 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी