काठमाण्डौ, फागुन १९ ।
सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ ।
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले रिक्त रहेका मध्ये बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमुख नियुक्त गर्नुभयो ।
जसअनुसार बिपीमा डा.राजकुमार रौनियार, पाटनमा डा. भरत यादव, पोखरामा डा. बुद्धिबहादुर थापा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. राजेन्द्र वाग्लेलाई सरकारले उपकुलपतिको जिम्मेवारी तोकेको हो ।
छनोट समितिको सिफारिसमा प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नुभयो । सहकुलपति तथा स्वास्थ्यमन्त्री गगन थापाको संयोजकत्वमा बनेको उपकुलपति छनोट समितिले इच्छुक उम्मेदवारलाई कार्ययोजनासहित दरखास्त दिन आह्वान गरेको थियो ।
पाटनमा १५, कर्णालीमा पाँच, धरानमा १६ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १० जनाले उपकुलपतिका लागि दरखास्त पेस गरेका थिए ।
प्रतिष्ठानका लागि छनोट समितिले तीन–तीन जना उम्मेदवारको नाम कुलपति एवं प्रधानमन्त्री दाहाल समक्ष सिफारिस गरेको थियो ।
स्वास्थ्य मन्त्री थापा संयोजक रहेको समितिमा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्य थिए ।