नेकपा माओवादीको नेतृत्वमा जनयुद्ध शुरु भएको २२ वर्ष पुगेको छ । आजकै दिन २०५२ सालमा माओवादीले रोल्पाको होलेरी, सिन्धुलीको गढी र रुकुमको राडी प्रहरी चौकीमा आक्रमण गरेर युद्धको उद्घोष गरेको थियो । दश वर्ष सम्म चलेको यस युद्धका क्रममा सत्र हजार मानिसले ज्यान गुमाए । यस युद्ध र जनआन्दोलनको पृष्टभूमिमा राजतन्त्र गएर गणतन्त्र आए पनि आर्थिक, सामाजिक एवं शासन व्यवस्थामा तात्विक परिवर्तन आउन सकेको छैन ।
अझ माओवादीको मुख्य नेतृत्व प्रचण्डहरु ससदीय प्रणालीको अभ्यासमा केन्द्रीत भए पछि नयाँ पार्टी बनाएर अघि बढीरहेका युवा नेता हुन् नेत्र विक्रम चन्द विप्लव । उनले एकीकृत जनक्रान्तिको नयाँ मोडेल प्रस्तुत गरेका छन् । साथै उत्तर साम्राज्यवाद , स्टालीनको मुल्याकंनको प्रश्न र जनतामा आधारीत नीति र कार्यक्रम भनेर नया विषय अघि सारेका छन् । तीनै नेता विप्लवसगँ उनको निवास पुगेर मिर्मिरेका लागि प्रज्वल श्रेष्ठ र सिर्जना तिम्सिनाले गरेको कुराकानीको प्रमुख अंशहरु :
जनयुद्ध शुरु गर्दा तपाई युवा हुनुहुन्थ्यो , अहिले २२ वर्ष पछि आउदा खेरी तपाई त्यो बेला कार्यकर्ता हुनुहुन्थ्यो भने अहिले पूर्ण जिम्मेवारी सहित पार्टीको नेतृत्व गरीरहनु भएको छ । आज जनयुद्ध दिवसको दिनलाई कसरी हेरीरहनु भएको छ ?
५२ सालमा जनयुद्धमा प्रवेश गर्दा हामी युवा अवस्थामा थियौं । लक्का जवान थियौं । त्यति बेला जनयुद्ध हाम्रो सपनाको बाटो थियो । आदर्शको बाटो थियो । तर हामी जनयुद्धबाट गुज्रिएर शान्ति प्रकृया सम्म पुग्दा फागुण १ को दिन नेपाली राजनीतिमा एउटा युगान्तकारी परिघटना र ईतिहासको रुपमा दर्ज भएको थियो । तर आज आउदा के लाग्छ भने ईतिहास नयाँ ढंगले पुनर्जागृत हुने अवस्थामा आईपुगेको छ । शान्ति प्रकृयाले हाम्रो दश वर्षे जनयुद्धको रक्त रञ्जित ईतिहासमा कालो दाग लगाउने काम गर्यो र त्यसलाई पञ्छाउदै ईतिहासको रक्षा गर्ने र पुनर्सगठि गर्ने ठाउमा जिम्मेवारी बोध सहित आएका छौं भन्ने लाग्छ ।
बाबुराम र प्रचण्ड जसको नेतृत्वमा जनयुद्ध भएको थियो । ती नेताहरुको अवस्था जहाँ पुगेको छ , त्यसै कारणले तपाईको नेतृत्वमा क्रान्ति अघि बढाउने अभियान चलिरहेको छ यसबारे तपाईको भनाई के छ ?
कस्तो अनुभूति हुन्छ भने युगान्तकारी घटनाहरुले कैयौ पात्रहरुलाई पटाक्ष गर्ने , मेट्ने र कैयौ नयाँ पात्रहरुलाई सतहमा ल्याउने गर्दो रहेछ भन्ने जीवन्त अनुभूति भएको छ । प्रचण्ड र बाबुरामहरु जनयुद्धका सुत्रधारहरु हुन् त्यो कुरामा कुनै प्रश्न छैन । तर जनयुद्धले उहालाई जसरी नायकको रुपमा स्थापित गर्यो , त्यसै गरी उहाहरुले गलत बाटो लिए पछि ईतिहासले पटाक्षप पनि गर्यो । जनयुद्ध लड्ने नेताहरु नै जनयुद्धलाई ईतिहासको विषय बनाउदै जनयुद्धको ठीक विपरीत बाटोमा उभिन पुगेका छन् । त्यसैले ईतिहासले नयाँ युवाहरुलाई आफ्नो असल उत्तराधिकारीको रुपमा पैदा गर्ने काम गरेको छ । नेपाली क्रान्ति फेरी नया उचाईमा पुनर्सगठित भएर नयाँ प्रतिनिधिहरु सहित अघि बढ्दै छ । यस्तो अनौठो अनुभूति पैदा भएको छ ।
जनयुद्धका सुत्रधार प्रचण्ड बाबुरामकै बुझाईमा अब पुरानो तरीकाले क्रान्ति संवभ छैन भनिरहेका छन् र तपाई संभव छ र गर्नु पर्छ क्रान्ति भनिरहनु भएको छ , यसबारे के भन्नु हुन्छ ?
पहिलो कुरा आजको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता पनि जनयुद्धको उपलव्धि हो भन्नु हुन्छ । त्यो निश्चय पनि उपलव्धि हो त्यसलाई हामीले ईन्कार गर्ने कुरा होईन । तर यो उपलव्धिको मुल्य जनयुद्ध होईन यो हामीले राम्रोसगँ सबैलाई भन्नु पर्छ । यति उपलव्धिको लागि हामीले जनयुद्धको मुल्य चुकाउनु पर्ने थिएन , यो राजनीतिक आन्दोलनकै क्रममा प्राप्त गर्न सकिन्थ्यो । उहाहरुले मुल्य चाही जनताको सत्ताको लागि चुकाउने अनि उपलव्धि चाही निश्चित एउटा वर्ग र पङिक्तको लागि मात्रै स्थापित गर्ने र त्यसैलाई जनताको हो भनेर गौरवान्वीत गर्ने जुन कुरा गर्नु भएको छ त्यो झुट्टो कुरा हो ।
जनयुद्धको एउटा मात्र मुल्य भनेको नेपालमा सामन्तवादी र दलाल पुजीवादी सत्ताको अन्त्य गरेर जनताको नौलो जनवादी सत्ता निर्माण गरेर समाजवाद तिर जाने सत्ता निर्माण गर्ने कुरा हो । यो कुरा गर्दा संभव छैन भन्ने जुन कुरा गर्नु हुन्छ त्यो मनोगत कुरा हो ।
५२ सालमा जुन कुरा संभव छ भन्ने तर्क उहाँ ( प्रचण्ड ) ले गर्नु भएको थियो । त्यो भन्दा कैयौ अनुकुलतामा हामी आईसके पछि त्यो भनिएको छ । त्यो बेला सय जना पनि पूर्णकालीन कार्यकर्ता थिएनन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति निकै जटिल थियो । त्यस्तो प्रतिकुल समयमा उहाहरुले संभव छ भनेर हामीले क्रान्तिलाई अगाडी ल्यायौं र जीत्यौ पनि एक ढंगले । तर आज सिंगै समाज माओवादीको राजनीतिक प्रस्तावमा , सामाजिक , आर्थिक प्रस्तावमा सहमत भएर साथ दिन आउने विन्दुमा उहाहरु फेरी फर्किएर बुर्जुवा गणतन्त्र र संसदवाद तिर फर्कनु भयो । आफ्नो स्वार्थका कारणले फर्किएको कुरालाई उहाहरुले असंभव भन्नु भयो । यो ठीक उल्टो छ ।
हामीले संभव देखेको कुरा के हो भने आज पनि नेपाली जनताहरुले परिवर्तन चाहेका छन् । उनीहरुले आफ्नो अधिकार , राष्ट्रिय स्वाधीनता चाहेका छन् । संसदीय व्यवस्थामा, दलाल पूजीवादी व्यवस्थामा पैदा भएका संकटका कारण कोही पनि जनता सन्तुष्ट छैनन् । यसलाई बदल्नु पर्छ भन्ने कुरामा विमती पनि राख्दैनन् । यो नै हाम्रो क्रान्तिका लागि उपयुक्त र बस्तुगत आधार हो भन्ने हाम्रो तर्क छ ।
कमरेड विप्लवले हिजोकै जनयुद्धको निरन्तरताको कुरा मात्र हो , उहाँ जगल मात्र जान खोज्नु भएको छ भन्ने आरोप पनि छ नि ?
यो पनि एकदमै विषयान्तर हो । हामीले यस अघि पनि मिडियाबाट स्पष्ट पार्ने प्रयास गर्दै आएका छौं । हाम्रो लाईनको व्याख्या उहाहरुले आफ्नो तरीकाले गरिदिनु भएन । यसलाई तोडमरोड गरेर जनतालाई भ्रमित पारेर जनतालाई सत्य तथ्यबाट पर राखेर अलग गर्ने जो तर्कहरु छन् त्यो चाहीँ दुर्नियतपूर्ण छ र त्यो सत्य होईन ।
यो सत्य हो कि हामीले जनयुद्धको तरीकाले हुदैन भन्यौं । जनयुद्धको तरीकाले हुदैन भन्नुको अर्थ सम्पूर्ण क्रान्तिबाट भाग्ने भन्ने होईन । क्रान्तिलाई संगठित गर्नु पर्छ र विकास गर्नु पर्छ हामीले भनेकोे हो । जनयुद्धबाट संभव छैन भनेर संसदबाद तिर जानु हुन्छ यो कुरा त आत्मसमर्पण तिर जान्छ । त्यो कुरालाई हेरेर हामीले एकीकृत जनक्रान्ति ल्यायौं ।
हामीले यसको अर्थ जनयुद्धलाई छाडेको होईन, जनयुद्धको अपुग पक्षलाई पूर्णता दिएर नेपाली वस्तुस्थिति र नेपाली जनताको आकाक्षा अनुसार नीति र कार्यक्रम विकास गरेको कुरा हो । तर क्रान्तिको विकल्प छैन भन्ने कुरा आजको संसदीय व्यवस्थाको संकटले प्रष्ट देखाउछ ।
एकीकृत जनक्रान्तिको कुरा जुन अघि सार्नु भएको छ , यसले पहिल्यै माओवादीले ल्याएको २१ औं शताव्दीको जनवाद र मदन भण्डारीको बहुदलीय जनवादको विषय प्रवेश त भएको छैन भन्ने प्रश्न पनि कतिपयले गरेका छन् , एकीकृत जनक्रान्ति र समाजवादको विषेशतामाथि केही बहसहरु यहाले सृजना गर्न खोज्नु भएको छ ती के के हुन् ?
यँहा कस्तो छ भने अनुसन्धान र अध्ययनको पाटोलाई पकड्न झन्झट मान्ने र विगतमा विचारकहरुले, चिन्तकहरुले नेताहरुले संष्लेषण गरेकै विषयलाई प्रचार गरेर खाने राजनीतिक चरित्र छ । त्यसले के ठान्छ भने नयाँ विषय बस्तु आउने वित्तिकै यो अर्कै पाटोमा गयो कि भन्दछ । अर्कोतिर के छ भने विकासलाई समात्नु पर्छ भन्दै संसदीय विकासतिर फर्किएर जाने प्रवृति छ ।
हामीले गर्न खोजेको कुरा के हो भने सबैतिरबाट हामीले पूजीवादलाई खण्डन गर्नु छ । अमेरीकाको सबै भन्दा उत्कृर्षको प्रजातन्त्र या ग्रेट डेमोक्रेसी भन्ने जो छ त्यो समेत असफल हुदै गएको परिवेश छ । त्यो सगैँ जोडिएको तितो यथार्थ के छ भने पूजीवाद यति ठूलो संकटमा पर्दा पनि समाजवाद आउन सकेको छैन । यूरोप एशियामा क्रान्ति आउन सकेको छैन । यसले के देखाउछ भने पूजीवाद समाधान हैन यसले प्रष्ट देखाउछ । तर वैज्ञानिक समाजवाद अगाडी आउन सकेको छैन त्यो अलग कुरा हो । पूजीवादको संकटलाई क्रान्तिमा बदल्ने हो भने पूजीवादले समाजवादको अगाडी खडा गरेको सबै प्रष्नहरुको समाधान हामीले दिनु पर्छ ।
त्यसो गर्दा हामीले अहिले सोचेका छौं दर्शनमा पनि विकास गर्नु पर्छ, हामीले राजनीतिमा पनि कहाँनिर हो त कम्युनिष्टहरुको कमी त्यो पनि हामीले हल गर्नु पर्छ ।
जनतासगँ जोडिएका नीतिहरुलाई विचलन भनेर कहिले पनि ठान्नु हुदैन । राजनीति, अर्थतन्त्र, दर्शन र संगठन पनि जनतासगँ जोडिएर आउनु पर्छ । जनताबाट अलग भएको सानो झुण्डबाट आउने निर्णयहरुलाई वैज्ञानिक देख्ने , जनताको अनुमोदन सहित आउने कुराहरुलाई अवैज्ञानिक देख्ने दृष्टिकोण गलत छ यसलाई हामीले सच्याउनु पर्छ । यहा जनता भन्नाले पूजीवादी जनता हैन समाजवादी जनता भन्ने हो । यो कुरालाई छुट्याउन उहाहरुले सक्नु भएको छैन । यसलाई बहस गर्ने भनेरै हामी उत्रिएका छौं । हामीले तीन वटा कुरा भनेका छौं, हामीले गर्ने कुरा नया पनि हुनुपर्छ , पूजीवादलाई क्रस गर्ने पनि हुनुपर्छ , त्यो जनताको भावनालाई जीत्ने पनि हुनुपर्छ र क्रान्तिकारी र वैज्ञानिक पनि हुनु पर्छ । माक्र्स कहिले पनि बहसबाट फर्कनु भएन । सबै प्रश्नहरुको जवाफ दिन तयार हुनु भयो भने हामी प्रश्नहरुबाट किन तर्सने ? पूजीवादलाई जवाफ दिन हामी किन तयार नहुने ?
रुसमा समाजवादी क्रान्ति भएको एक शताव्दी अर्थात एक सय एक वर्ष पूरा भएछ । यही सन्दर्भमा स्टालीनको भूमिकाको मुल्याकंनमा केही परिवर्तन गर्न खोज्नु भएको देखिएको छ, समाजवादको विषेशतामा केही व्याख्या गर्न तथा उत्तर साम्राज्यवाद भनेर जुन पदावली ल्याउनु भएको छ यो के हो ?
समाजवादी क्रान्ति भएको एक सय वर्ष भयो । एक सय वर्ष भित्रको अवधिमा समाजवादले जीतेको उत्कर्ष पनि छ र हामीले हार्यौ पनि अर्थात समाजवादले हारेको पनि छ । अर्थात विघटन भएको दुखद पक्ष पनि छ । स्टालीनकै बारेमा पनि कम्युनिष्ट पार्टीमा जो बुझाईहरु थिए त्यसलाई सही जे हो त्यो हामीले भन्नु पर्छ भनेका छौं ।
स्टालीन एउटा महान क्रान्तिकारी थिए । कमरेड लेनिनको नजिकको कमरेड पनि हो । उहाहरुकै कारणले रुसमा समाजवाद आएको हो र लेनिनको मृत्यु पछि स्टालीनकै कारण विश्वभर समाजवादी क्रान्ति सम्पन्न भएको पनि हो ।
स्टालीनको बारेमा प्रश्नहरु जो उठे एकथरी मानिसहरुले साम्राज्यवादी कोणबाट प्रश्नहरु उठाए त्यसको बहकावमा हामी जानु हुदैन । अर्को कुरा के त भने माओले तीस प्रतिशत गल्ती भन्ने जुन माओको मुल्याकंन थियो । त्यो समय सापेक्ष त्यो होला तर त्यसरी छुट्याउदा अलि समस्या पर्यो भन्ने हाम्रो बुझाई हो । अर्को तिर लेनिनले १२ औं महाधिवेशनमा जुन चिट्ठी लेख्नु भएको थियो । यो रुखो छ यसले चलाउन सक्दैन कि भनेर यसले पनि स्टालीनको कार्यशैलीमाथि नकारात्मक प्रभाव पार्यो । नेताहरुले ख्याल गर्नु पर्छ भन्ने हाम्रो भनाई छ । अर्को फेरी स्टालीनलाई अनुभवको कमी , आत्मसमर्पणवादीहरु , गद्धारहरु , साम्राज्यवादी एजेण्टहरुका विरुद्ध लड्नु पर्ने , हिटलरसगँ पनि लड्नु पर्ने दोहोरो चपेटामा पर्दा अधिनायकत्वको पक्षमा जसरी कुसलतापूर्वक प्रयोग गरियो त्याहाँ जनवादको पक्षमा प्रयोग गर्ने कुरामा केही कमी भएको छ भन्ने हामीले भनेका छौं ।
अर्को कुरा लेनिनले एक सय वर्ष अघि लगभग यही समयमा साम्राज्यवाद भन्ने शब्दलाई अगाडी ल्याउनु भएको थियो । त्यो बेला लेनिनमाथि विरोध जनाईयो । यो साम्राज्यवाद भनेको पूजीकोे अतिक्रमणकारी चरित्र हो भनेर व्याख्या गरेर गए पछि विश्वमा बहस र बुझाई बन्यो । उहाले परिभाषित गर्दै गए पछि स्थापित बन्यो ।
आज एक सय वर्ष पछि लेनिनले आफ्नो दस्तावेजहरुको लेखाईमा पनि कल्पना नगरेका विषयहरु अनुसन्धानमा आएका छन् । चाहे विज्ञान र प्रविधिमा भन्नुस् , चाहे राजनीतिमा चाहे अर्थतन्त्रमा ठूला ठूला परिवर्तन आएका छन् । साम्राज्यवादबारे लेनिनले भनेको पाँच वटा विषेशतामा छैन । लेनिनले भन्नु हुन्थ्यो । साम्राज्यवाद भनेको प्रत्यक्ष युद्ध, अति उत्पादन, क्षेत्रको विभाजन, प्रत्यक्ष शासन जस्ता जुन कुराहरु थिए त्यसमा पनि छैन साम्राज्यवाद ।
आज साम्राज्यवाद कस्तो छ भने मिलिजुली खाँउ तर मुख्य म खान्छु भन्ने खालको छ । पहिला साम्राज्यवादले आफूले हस्तक्षेप गथ्र्यो अहिले उताबाट बोलाउने छ । आज नेपालकै कुरा गर्नुस् न नेपालमा प्रत्यक्ष हस्तक्षेप छैन तर यहाका दलालहरुले साम्राज्यवादी शक्ति खोज्दै हिडेका छन् । बाहिरबाट आयात गर्ने खालको भएको छ । साम्राज्यवादलाई ल्याउने र त्यसको दलाल भएर सत्तामा पस्ने उनकै योजनामा काम गर्ने यस्तो खालको चरित्रमा परिवर्तन आयो ।
त्यसै गरी अहिले एकाधिकार पूजीको ठाँउमा समन्वयकारी पूजी आईरहेको छ । सबैलाई बाड्या जस्तो गर्ने , आवस्यकता पूर्ति गरीदिने र बाकी ठूलो हिस्सा कुम्ल्याएर हिड्ने प्रवृति आएको छ । विज्ञान र प्रविधि त आज झन एउटा तरंगको रुपमा गएको छ । डिजिटल प्रविधिमा प्रवेश गर्यो दुनिया । यो कुरा लेनिनको पालामा थिएन । तर यसको मतलव पूूजीवादको अन्त्य भएको छ त ? भन्दा त्यो त हैन नि । पूजीवादकै चरित्र छ तर हिजोको जस्तो चरित्र छैन भनेका छौं । यसलाई हामीले उत्तर साम्राज्य भनेका छौं । यसलाई कतिपय बुद्धीजीवी साथीहरुले मनपरी लेख्नु भयो भनेर भनेका छन् उत्तर भनेको त मरेको हो भनेका छन् । तर त्यो होईन । उत्तर भनेको नेपालको साहित्यमा हेर्नु भयो भने पनि पछिको भनिएको हो । पोष्ट भन्ने पनि छ त्यो पनि पछि भन्ने नै आउछ , नयाँ भन्ने आउछ । अलि पछिल्लो प्रवृतिलाई जोड दिन यो शब्द प्रयोग गरिएको हो ।
नेकपा माओवादी छाडेर पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्रै राख्ने भनिएको छ किन ? यसको कारण के हो ?
यँहा प्रष्ट पार्नु पर्ने कहा छ भने क्रान्तिकारी रगं कहाँ राख्दा आउछ भन्ने कार्यकर्ताहरुको चिन्ता हो जस्तो लाग्छ । कम्युनिष्ट मात्रै राख्दा आउछ कि , माओवादी मात्रै राख्दा आउछ कि भन्ने कुरा आउछ । यो सबै कुरा गर्दा हामीले चार वटा तर्कहरु अघि सारेका छौं । पहिलो कम्युनिष्ट मात्रै भन्दा राम्रो कि त्यसमा माओवादी थप्दा राम्रो भन्नेमा हामीले समग्र समयलाई समेट्ने र विचारलाई समेट्न कम्युनिष्ट शब्द नै उपयुक्त हुन्छ भन्ने हाम्रो छ ।
दोस्रो नेपालमा माओवादी भन्ने शक्ति अहिले जसरी नेतृत्व पक्ति विचलित भएर गयो र त्यही नामबाट काममा भाग लिईरहेको छ । जनतामा माओवादी भन्दा क्रान्तिकारी हो भनेर नबुझ्ने स्थिति बनेको छ । प्रचण्ड पनि माओवादी , किरणजीहरु हुनुहुन्छ अनि हामी भन्दा खेरी यो समस्या देखिन्छ ।माओवादी दमन गर्ने ठाउमा छ , जनताको अधिकार खोस्ने ठाँउमा छ । देश लेनदेन गर्ने , राष्ट्रघाती सन्धि गर्ने ठाँउमा छ । माओवादी भन्ने वित्तिकै जनता र राष्ट्रको क्रान्तिकारी नेतृत्व गर्ने शक्ति हो भन्ने पर्दैन । सर्वहारा बर्गीय आचार व्यवहार भएको शक्तिमा पर्दैन । विकृत भएको जो पहिचान छ नाम फेरेर जनतामा हामी जादाँ राम्रो काम गर्न थाले पछि जनताको साख आउछ भन्ने लाग्छ । तेस्रो कुरा हामीले सबै ईमान्दार कम्युनिष्टहरुलाई एकतावद्ध गर्न चाहेका छौं त्यो सहज होस् भन्नका लागि पनि नाम फेर्दैछौं । र चौथो कुरा नेपालमा अहिले जुन परिस्थिति बनेको छ माओवादी नाम धेरै तिर तितर वितर भयो , त्यो अहिले आवस्यक छैन भनेर भनेका छौं । अर्को कुरा बोल्सेविक पार्टीले सामाजिक मजदुर पार्टी भनेर पनि लड्यो , बोल्सेविक भनेर पनि लड्यो र पछि कम्युनिष्ट पार्टी भनेर पनि लडे रुसमा । त्यसैले राम्रो गरियो भने कम्युनिष्ट पार्टी भनेर जादा पनि जनता आउछन् भन्ने लाग्छ ।
कतिपय राजनीतिक पार्टीहरुलाई वर्गशत्रु जस्ता शब्द समेत प्रयोग हुने गरेका थिए तर अहिले तपाईको दस्तावेजमा यो देखिन्न नि ?
हामीले सचेततापूर्वक त्यो नगरेको हो । एउटा कुनै समयमा एउटा पार्टीको हकमा त्यो भन्न सकिएला । हिजो गलत थियो । यो विरालो बाधेर श्राद गर्ने भन्या जस्तो बन्न गयो । दस्तावेज लेखे पछि एउटा न एउटा पार्टीलाई गाली गर्ने । अहिले त्यो परिस्थिति छैन । आन्दोलनका क्रममा पार्टीहरु परिवर्तन हुन्छन् सोही बमोजिम भन्नु पर्ने हुन्छ ।
अहिले कुनै पनि पार्टी नेपाली जनताको दुष्मन भन्ने अवस्था छैन । दलालहरु हरेक पार्टी भित्र छन् । नेपाली जनताको विरोधी, जनताको स्वाधीनता विरोधी भनेको वर्गमा अहिले एउटा दलाल प्रवृति आएको छ । यो प्रवृतिकिो विरुद्ध नै जनताको लडाई हुनु पर्छ भनेर हामीले भनेका छौं । यो प्रवृति पार्टी भित्र, अर्थतन्त्र, राजनीति, कर्मचारी सबै तिर छन् । दलाल भनेको देशको विरुद्ध निर्णय गर्ने, विदेशीको अगाडी आत्मसमर्पण गर्ने, स्रोत साधन बेचेर खाने, कुर्सीको लागि राष्ट्रघाती सम्झौता गर्ने, प्राकृतिक स्रोत विदेशीको हातमा दिने , दलाल पूजीमार्फत लगानी गरेर मुनाफा बाहिर लैजाने यो प्रवृति नै दलाल प्रवृति हो र यसको विरुद्ध हामी लड्नु पर्छ । प्रवृतिगत ढंगले लड्ने हो हामी काग्रेस एमाले वा कुुनै दल विरुद्ध लड्ने हैन ।
त्यसो भए कस्तो मोडलमा क्रान्ति गर्दै हुनुहुन्छ त ?
हामीले सैदान्तिक ढंगले यसलाई हल गरेका छौं । नीतिगत ढंगले भन्दा आजको लडाई कहाँ हो ? भन्दा दलाल सत्ता र जनताको बीचमा हो भन्ने टुगो लगाएका छौं ।
यो शक्तिको विरुद्ध लड्दा को को हुनु पर्छ त भन्ने कुरा आउदा खेरी क्रान्तिकारी कम्युनिष्टहरु, माओवादीहरु, देशभक्तहरु, सही किसिमका लोकतन्त्रवादीहरु आउनु पर्यो ।
यति मिल्दा दलालहरुलाई हराउन सकिन्छ भन्ने हाम्रो सैद्धान्तिक मान्यता हो । क्रान्तिकारी को को छन् त भन्दा किरणजीहरु हुनु भयो । उहाहरुलाई एकता गरौ भनेका छौं । मशालहरुसगँ कार्यगत एकता गरौ, रोहित जीहरु ( नारायणमान बिजुक्छे ) सगँ संभव भए सम्म कार्यगत एकता गरौं । त्यस पछि ध्रवीकरण गरौ भन्ने छ हाम्रो माओवादी केन्द्र भित्रका , एमाले भित्रका राष्ट्रवादी र क्रान्तिकारीसगँ एकता गरौ भन्ने छ । देशभक्तको कुरा गर्दा कर्मचारी, सेना र प्रहरी भित्रको एउटा शक्तिले पनि हामीलाई साथ दिनु पर्छ भनेका छौं । यहासम्मको एकता चाहिएको छ हामीलाई । नेपाली काँग्रेस भित्रको पनि सही लोकतन्त्रवादी छ भने त्यो पनि आउनु पर्छ र दलाललाई सबै तिरबाट हान्यो भने जान्छ भन्ने सैद्धान्तिक कुराहरु छ । हामीले किरण जीहरु, र मशालसगँ त मिलेर केही कार्यक्रम पनि गर्यौं ।
अहिले यँहाले शुरु गराउनु भएको नया बिचारको बहसलाई अन्य अन्तराष्ट्रिय कम्युनिष्ट पार्टी र क्षेत्रहरुबाट कस्तो प्रतिकृया आएको छ ?
हामीले केही आर्टिकलहरु अग्रेजीमा उल्था गरेर पुर्याएका छौं , उहाहरुले पनि अध्ययन र छलफल गर्नु भएको छ । यहाँका बुद्धीजीवीहरुले जस्तै सोध्नु भएको छ केही विषयहरु । विश्वभरका कम्युनिष्ट क्रान्तिकारीहरुले कुनै न कुनै नया तरीकाले सोच्न थालेको देखिएको छ ।
आरसीपीले नयाँ सष्लेषण भनेर आफ्नो विषयहरु अघि सारेको छ । भाकपा माओवादीले पनि नँया कुरा आयो कि दुर्गम क्षेत्रमा मात्र लडेर हुन्न शहरमा आउने खालको गर्नु पर्यो भनेका छन् । हामीले सुझाव पनि दिएका छौं कि दिल्ली , मुम्बई, कलकत्ता, लखनउ जस्ता शहरमा छुदै नछुने खालको क्रान्ति भारतमा संभव छैन ।
अहिलेको सबै प्रवृतिहरुलाई सबै तरीकाले बहस गर्न जरुरी छ ।
फागुण १ गते आठौं महाधिवेशनको उद्घाटनका क्रममा जनताको निम्ती तपाईले भन्ने विषय के छ ?
यो अवसरमा हामी नेपालका सबै नागरिकहरुलाई हामी आफ्नो दृष्टिकोण राख्न चाहन्छौं । खास गरी माओवादी आफ्नो एउटा पार्टीको लागि लडिरहेको छैन । एउटा नेताको मात्रै कुरा पनि हैन यो । यो नेपाली जनता र नेपााल देशको विषय हो । मानिसहरुले अर्थतन्त्रको विषय, राजनीतिक विषय, स्वतन्त्रताको विषय, किशान, मजदुर , बुद्धीजीवीहरुको विषयमा के सोचेको छ भन्ने छ त्यस बारेमा हामी आफ्नो अबधारणा यो सभाबाट राख्छौं ।
अन्त्यमा तपाईले दिमागमा जीत्ने कुरा सोचीरहनु भएको छ होला, विजय नै सोचीरहनु भएको होला शायद, एउटा सपनाको रुपमा हेर्दा तपाईले यो अवधि सम्म क्रान्ति सम्पन्न हुन्छ भन्ने सोच्नु भएको छ ?
निश्चय नै । हाम्रो दिमागमा प्रतिविम्वित हुने चेतना, आकाक्षा, जनतासगँ पनि जोडिएको छ । नेपाली जनताहरु छिटो भन्दा छिटो परिवर्तन चाहन्छन् । शान्ति, समृद्धि र स्वाधीनता र परिवर्तन चाहन्छन् । त्यसैले केही हामीले मेहेनत गर्नु पर्छ । त्यो स्थितिमा आमुल परिवर्तनको समय धेरै टाढा छैन । यद्यपि, यो एउटा कठिन युगिन कार्यभार हो । यो बेला हामीलाई विवेकको पनि जरुरी छ , साहसको पनि जरुरी छ । यसको समायोजन हुदाको दिन धेरै पर हैन निकट भविष्यमा आउदा दिनमा परिवर्तन संभव छ ।
