काठमाडौँ, ८ माघ ।
नेपाली सेनाले आफ्नो स्थापना दिवशका दिनदेखि वीरेन्द्र सैनिक अस्पतालमा सर्वसाधारणका लागि बहिरङ्ग सेवा उपलब्ध गराउने भएको छ ।
सेनाले आफ्नो स्थापना दिवस (शिवरात्रि)को अवसर पारेर आगामी फागनु १३ गतेदेखि सर्वसाधरणका लागि बहिरङ्ग उपचार सेवा उपलब्ध गराउने स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच सैद्धान्तिक सहमति भएको छ ।
सहमती अनुसार फागनु १३ गतेदेखि अपराह्न ३.३० देखि ५ बजेसम्म सर्वसाधारणले नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालमा बहिरङ्ग सेवा पाउने छन् ।
त्यस्तै काठमाडौं बाहिर नेपाली सेनाको २४ स्थानमा भएका चिकित्सिकमार्फत पनि सर्वसाधारणलाई बहिरङ्ग सेवा उपलब्ध गराउने, नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालको विशिष्ट कक्षमा अति विशिष्ट व्यक्तिहरूको उपचारार्थ स्वास्थ्य मन्त्रालयले आवश्यक मद्दत गर्ने र यसलाई शीघ्र कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।
स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र नेपाली सेना मिलेर विशेषज्ञ सेवा नपुगेका विभिन्न जिल्लामा शल्यक्रिया सुविधासहितको स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने पनि सहमति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसका लागि नेपाली सेनाको मोबाइल अस्पताल प्रयोग गरिने सैद्धान्तिक सहमति भएको जनाएको छ ।