विश्वका चार जना मध्ये एक जनामा कुन न कुनै खालको मानसिक समस्या भएको मनोचिकित्सकहरुले वताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही , युनाइटेड मिसन टु नेपाल र सुनगाभा सामुदायिक विकास केन्द्रले आयोजना गरेको अन्तक्रियामा बोल्दै मनोचिकित्सकहरुले सामान्य लक्षणलाई बेवास्ता गरे त्यसले जटिल मानसिक समस्यामा पु¥याउने बताए । उनीहरुले मानसिक समस्या देखिएका ५० मध्ये ३० जना महिला र २० जना पुरुष हुने पनि बताए ।
कार्यक्रममा बोल्दै बरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुंगानाले नेपाल २५ प्रतिशत नागरिकमा मानसिक समस्या रहेको भन्दै उनीहरुलाई चिकित्सकसम्म पु¥याउनु चुनौतिपूर्ण भएको बताए । उनले नेपालमा ८६ जना मात्र मनोचिकित्सक रहेको बताए । ‘नेपालमा मानसिक समस्या बढ्दै गएको छ’ उनले भने, ‘तर, मनोचिकित्सकको अभाव छ ।’
डा ढुंगानाले बैदेशिक रोजगारमा भएका मानिसमा मनोगत समस्या बिकराल बन्दै गएको बताए । ‘समयमै रोग पहिचान र उपचार गरेर मनोगत समस्या निको पार्न सकिन्छ’ उनले भने, ‘जनचेतनाको अभावका कारण समस्या पहिचान हुन सकेको छैन ।’कार्यक्रममा बोल्दै डा. विक्रम काफ्लेल मानसिक समस्या बारे विद्यालय तहमै पठन पाठनको व्यवस्था हुनुपर्ने बताए ।
त्यस्तै मनोविद् यशोदा बगालेले बालबालिकालाई सानै उमेरदेखि हरेक परिस्थितीको सामना गर्न मानसिक रुपमा तयार पार्नुपर्ने बताइन् । ‘बालबालिकाका असिमित इच्छा, चाहना, तथा मागलाई सजिलै पुरा गदै जाँदा पछि दुर्घटना हुनसक्छ’ उनले भनिन् ।
कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक चुडामणि भण्डारीले मानसिक समस्याको उपचारमा प्रभावकारी काम हुन नसकेको वताए । उनले सरकारले मानसिक पाटोलाई प्राथामिकता दिन नसकेको समेत बताए । मानसिक समस्याको पहिचान र उपचारका लागि रुपन्देहीका ६० जना नर्स, हेल्थपोष्ट इन्चार्ज र ५ सय ६१ स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिएको उनको भनाई छ ।