सप्तरी, मंसिर २२ ।
राष्ट्रिय मानवअधिकार आयोगले गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको व्यवस्थापन तथा सुधारका माग राखि आमरण अनसनरत विकास तिवारीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
तिवारी १५ दिनदेखि सप्तरी जिल्लामा रहेको अस्पताल प्राङगडमा नै २६ सूत्रीय माग राख्दै आमरण अनसनमा रहनुभएको छ ।
आयोगले विज्ञप्ति निकालेर तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गईरहेकोमा समेत सरकारको ध्यानाकर्षण गरेको छ ।
विरोधको स्वरुप जस्तोसुकै भएपनि अनसनरत तिवारीको जीवन रक्षा एवं स्वास्थ्यप्रति संवेदनशील हुन, सार्थक वार्ता र संवादबाट समस्याको समाधान खोज्न आयोग सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ, विज्ञप्तीमा भनिएको छ ।
यस्तै आयोगले आफ्नो अनुगमनको क्रममा सरकारी अस्पतालका भवनहरु तथा उपचारका उपकरणहरु जीर्ण बन्दै गएको, पिउने पानीको अभाव, फोहोरको सही व्यवस्थापन नहुँदा अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने लगायतका समस्याहरु देखिएको पनि जनाएको छ ।