काठमाडौं, आश्विन ५ ।
सप्तरीको कोईलाडी गाबिसमा रहेका झाडापखालाका बिरामिमा हैजाको जिवाणु भेटिएको छ ।
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार गरिरहेका चारजनाको दिशा परीक्षण गर्दा २ जनामा हैंजाको जिवाणु फेला परेको जनस्वास्थ्य कार्यालयका बरिष्ठ प्रशासक बिजयकुमार झाले जानकारी दिनुभयो ।
झाका अनुसार थप परिक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाउने तयारी भइरहेको छ । केही दिनयता कोईलाडिमा झाडापखालाको प्रकोप फैलिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले केही बिरामीलाई स्थानिय स्तरमा र सिकिस्त भएकाहरुलाई थप उपचारका अञ्चल अस्पताल राजविराज पठाएको छ ।
यसैबीच कोईलाडीमा हैजाको प्रकोप फैलिएपछि स्वास्थ्य मन्त्रालय अन्तरगतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बिशेशज्ञ सहितको टोली आज कोईलाडी पुगेको छ ।
कोइलाडी गाबिस २ को पश्चिम टोलमा अहिलेसम्म ५४ जनामा झाडापखाला देखिएको छ । साता अघिपनि सप्तरीकै जमुनी मधेपुरा गाबिसमा पनि झाडापखालाको प्रकोप फैलिएको भएपनि हाल नियन्त्रणमा आईसकेको छ ।