भरतराज शर्मा(गोपाल)
धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षा मजदुरहरू फेरि आन्दोलनमा उत्रिएका छन् ।
प्रतिष्ठानको सम्पूर्ण सुरक्षाको जिम्मा लिएको ठेकेदार कम्पनी केटिएमले बिपीमा कार्यरत सुरक्षा मजदुर गोपी योगीलाई विना कारण हटाएको भन्दै विना शर्त योगीलाई पुनर्वहालीको माग गर्दै उनीहरु आन्दोलनका होमिएका हुन् ।
सुरक्षा मजदुरहरूले हिजो पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् ।
सुरक्षा श्रमिक योगीको पुनर्वहालीसँगै अन्य ६ वटा माग अगाडि सारेर आजदेखि चरणवद्ध आन्दोलन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन इकाई कमिटी धरानका अध्यक्ष दिपक कार्कीले दशकौदेखि प्रतिष्ठानलाई सुरक्षा दिएर आएको सुरक्षाकर्मी माथि अनावश्यक लाञ्छना लगाई कामबाट निकालेकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताउनुभयो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र सुरक्षाको जिम्मा लिएको केटिएम सेक्युरिटी सर्भिसले चैत्र १५ गते स्कुटीमा दुर्घटना भई प्रतिष्ठानमै उपचार गरिरहेका सुरक्षा मजदुर योगीलाई काममा नआएको भन्दै निष्कासन गरेपछि बिवाद सुरू भएको थियो ।
आक्रोसित मजदुरहरुले असार २८ गतेदेखि प्रतिष्ठानमा विहान एक घण्टा काम छोडेर सम्पूर्ण सुरक्षा मजदुर धर्ना बस्ने,सातदिनसम्म क्रमश दिनको एक घण्टा बढाउदै ५ घण्टासम्म धर्नामा बस्ने र त्यतिगर्दा पनि केटिएमको सम्पर्क कार्यालय, क्षेत्रीय कार्यालय, प्रतिष्ठानको उपकुलपति, रेक्टर, रजिष्टार र शिक्षाध्यक्षको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी समेतको आन्दोलनको घोषणा गरेका छन ।