कारवाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, वान्ता हुनेलगायतका शारीरिक समस्या उत्पन्न हुनुकासाथै गम्भिर प्रकारको क्यान्सरसमेत हुनसक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् । तर नेपालमा प्रतिबन्धित कारवाईड प्रयोग गरेर पकाईएको आँप कैलालीलगायत मुलुकका प्रमुख बजारहरुमा खुलेआम बिक्री भइरहेको पाइन्छ ।
कारवाईड प्रयोग गरेर पकाइएको आँप हेर्दा पहेलो, लोभलाग्दो र आकर्षक देखिने भएपनि मानव स्वास्थ्यका लागि हानिकारक हुने सेती अञ्चल अस्पतालका पूर्व सुपरिटेन्डेन्ट डाक्टर गणेशबहादुर सिंहले बताउनुभयो । कारवाईड एक प्रकारको विषादी हो, यो मानवस्वास्थ्यका लागि हानिकारक हुन्छ भन्नुहुदै डाक्टर सिंहले उपभोक्ता स्वयं सजग हुनुपर्ने बताउनुभयो ।
स्थानीय आँप रूखमै रहेको अवस्थामा बजारका आँप व्यापारीहरूले भारतको उत्तर प्रदेशबाट काँचो आँप आयात गरी त्यसमा पाक्नका लागि जनस्वास्थ्यका लागि हानिकारक कारवाइड प्रयोग गरी बिक्री गर्ने गरेका छन् । दुई वर्षअघि मात्र धनगढीमा ठूलो मात्रामा कारवाईड हालेर पकाइएको आँप बरामद गरिएको थियो भने कारवाईड प्रयोग गर्ने व्यापारिहरूलाई पनि कारवाही गरिएको थियो तर, त्यसयता नियमन निकाय क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कारवाही त परै जाओस, अनुगमन नै गरेको छैन ।
चाडपर्वको मुखमा मात्र अनुगमन गर्ने जिल्ला अनुगमन समितिको कमजोरीको कारण धनगढीको मुख्य बजारमा विषादी प्रयोग गरिएका आँप बिक्री वितरण भइरहेको हो । ‘नेपालमा कारवाईड प्रतिबन्धित छ, यसले आँप पकाउन पाइदैन,’ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख उपेन्द्र रायले भन्नुभयो– ‘कारवाईड प्रयोग गरेको पाइए कारवाही हुन्छ ।’ तर धनगढीस्थित खाद्य प्रविधिको अगाडी रहेको हाट बजारमा खुलेआम कारवाइड प्रयोग गरी पकाइएको आँप बिक्री भइरहेको पाइन्छ ।
कारवाईड प्रयोग गरेर पकाईको आँपको भेट्ना आसपास साह्रो हुन्छ, भने आँपको अन्य ठाउँ कमलो हुन्छ, पाकेको देखिन्छ । चिकित्सकका अनुसार कारवाईड प्रयोग गरेर पकाइएको आँपको रंग, स्वाद र बास्ना पनि विकास भएको हुँदैन । कारवाईडबाट ग्यास निस्कन्छ, जसले आँप पकाउन मद्दत गर्छ । कारवाईड प्रयोग गरेर पकाएको आँप खाँदा क्यान्सर समेत हुने भएकाले नेपालमा यसको प्रयोग बन्द गरिएको क्षेत्रीय प्रमुख रायले बताउनुभयो ।
खाद्य ऐन २०२३ को दफा ५ उपदफा ३ मा कारवाईड प्रयोग गरेमा सात महिनादेखि एक वर्षसम्म कैद र पाँच देखि दश हजार रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । यसरी भारतबाट काँचो आँप आयात गरी विषादी प्रयोग गरी उपभोक्तामाथि खेलबाड गर्ने व्यापारीमाथि कारवाही हुनु पर्ने राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले बताउनुभयो ।