होस् पुर्याउनुहोस् -कम्प्युटर, टिभी र मोबाइलले आँखा बिगार्न सक्छ

होस् पुर्याउनुहोस् -कम्प्युटर, टिभी र मोबाइलले आँखा बिगार्न सक्छ

  • बुधबार, बैशाख २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

प्रविधिको यस युगमा कामका लागि होस् या मनोरञ्जनका लागि, कम्तिमा पनि २–३ घण्टाभन्दा बढी कम्प्युटर अगाडि बस्नुपर्ने बाध्यता हामीलाई छ । तर, यही बाध्यता हाम्रो आँखा र शरीरका लागि  हानिकारक साबित भैरहेको छ । कम्प्युटर मात्रै होइन, टेलिभिजन, मोबाइल, स्मार्ट फोनलगायत विभिन्न खाले उपकरणको प्रयोगले हाम्रो आँखामा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ भन्ने एक प्रकारको रोग लाग्छ ।

के हो कम्प्युटर भिजन सिन्ड्रोम  ?

कम्प्युटर भिजन सिन्ड्रोम अथवा प्राबिधिक आँखा दुखाई भनेको लामो समय कम्प्युटर, मोबाईललगायत बस्तुको हेराई वा प्रयोगको कारणले आँखा र दृष्टिमा आउने समस्या हो भनेर बुझ्नुपर्छ। धेरै मानिसले लामो समय यस्ता वस्तु हेर्दा, पढ्दा आँखा असजिलो वा अप्ठेरो महसुस गर्छन र  त्यसको मात्रा हेराई, पढाईको समय संगसंगै बढ्दै जान्छ। मतलब जति बढी स्क्रीनको प्रयोग भयो उति बढी अप्ठेरो महसुस हुन्छ।

कम्प्युटर भिजन सिन्ड्रोमका सामान्य लक्षण ?

१   आँखा दुख्ने
२   टाउको दुख्ने
३   धमिलो देखिने
४   आँखा सुक्खा हुने, आँखा पोल्ने, बटारिने
५   आँखा चिलाउने
६   घाँटी र कुम दुख्ने

यी लक्षण निम्न कारणले गर्दा अझ बढ्न सक्छन् ?

कम्प्युटर, मोबाइल चलाउने कोठामा प्रकाश नमिलेमा
कम्प्युटर स्क्रीनमा कुनै बस्तु टल्किएमा, चम्किएमा
स्क्रीन हेर्ने दूरी नमिलेमा
बसाईको अवस्था नमिलेमा
आँखामा दृष्टि दोष भएमा

कम्प्युटर भिजन सिन्ड्रोमको मात्रा प्रत्येक बिरामीमा फरक–फरक हुन सक्छ। यसको मात्रा बिरामीले स्क्रीनमा हेर्ने समय र उसको आँखाले काम गर्न सक्ने खुबीमा भर पर्छ। दृष्टि  दोषका लागि चस्मा लगाउनुपर्ने आँखामा  चस्मा नलगाउँदा, ४० बर्षको उमेर आसपासमा आँखाको मांशपेशीमा खिचावको समस्याले गर्दा नजिक हेर्न, पढ्न नसक्ने हुँदा पनि आँखामा प्राविधिक आँखा दुख्ने समस्या हुन सक्छ।

धेरैजसो अवस्थामा यस्ता समस्या अस्थायी हुन्छन् र कम्प्युटर वा मोबाइलको काम गर्न छाडेपछि आफैँ हराउँछन् । तर कसैको आँखामा चस्मा र अरु समस्या छन् भने कम्प्युटर हेर्न छोड्दा पनि यो समस्या रहिरहन सक्छ।  यदि यो समस्याको समाधान समयमै गरिएन भने यसले अरु बिकराल रुप लिंदै जान्छ  र भविष्यमा कम्प्युटर, मोबाइल चलाउनै नसक्ने पनि हुन सकिन्छ।

यो समस्याको समाधानका लागि कम्प्युटरको स्क्रीनमा प्रकाश कन्ट्रोल गर्ने, हेर्ने दुरी मिलाउने, एसी कुलर पंखा सिधा आँखामा नपार्ने, कोठाको लाइट सिधा कम्प्युटर वा आँखा मा नपार्ने र सानोभन्दा सानो दृष्टि दोष देखिएमा पनि डाक्टरको सल्लाहअनुसार चस्मा लगाउने गर्नुपर्छ ।

यो समस्या छ भनेर कसरी  पत्ता लगाउने ?

दुइ घण्टाभन्दा बढी कम्प्युटर वा मोबाइल चलाउने व्यक्तिलार्इ यो समस्या बढी हुन्छ र यो समस्या छ कि छैन भनेर पत्ता  लगाउन आँखाको डाक्टरलाई नै भेटेर केही बिशेष जाँच गर्नुपर्ने हुन्छ। जसमा आँखाको दृष्टि क्षमता, दृष्टि दोष, आँखाले कुनै पनि चीज हेर्दा, पढ्दा मांशपेशीको  खिचाब, तनाब बहन गर्न सक्ने क्षमता, दुवै आँखाले बराबर काम गर्न सक्ने खुबी आदिको जाँच गरिनुको साथै बिरामीको शारीरिक समस्या, औषधिको प्रयोग र बिरामीले काम गर्ने वातावरणको पनि विस्तृत छलफल गर्नुपर्ने हुन्छ।

कम्प्युटर भिजन सिन्ड्रोम को समाधान

कम्प्युटर भिजन सिन्ड्रोम समस्याको समाधान प्रत्येक व्यक्तिको स्वास्थ्य अवस्था, आँखाको समस्या, काम गर्ने वातावरण र उसको दृष्टि क्षमताअनुसार फरक–फरक हुन सक्छन् । तर यहाँ केही यस्ता बिषयका बारेमा छलफल गरिएको छ जसका कारण यो समस्या कम गर्न वा निराकरण गर्न धेरै नै मद्द्त मिल्दछ।

आँखा स्वास्थ्य

कुनै–कुनै अवस्थामा सधैंका लागि चस्मा लगाउन नपर्ने व्यक्तिले पनि कम्प्युटर चलाउँदा बिशेष चस्मा लगाउनुपर्ने हुन सक्छ भने सँधैं चस्माको पावर लगाउने व्यक्तिले उसको चस्माको पावर कम्प्युटरका लागि केही परिवर्तन गर्नुपर्ने पनि हुन्छ। साधारण अवस्थाका लागि कन्ट्याक्ट लेन्स र चस्मा दिएको छ भने त्यही चीज कम्प्युटरका लागि केही परिवर्तन गर्नुपर्ने हुन्छ, जसमा लेन्सको डिजाइन, लेन्सको पावर परिवर्तन गरि रङ र कोटिंग हालेर आँखालाई आराम र सजिलो बनाउन सकिन्छ।

कुनै–कुनै अवस्थामा चस्मा र कन्ट्याक्ट लेन्सले पनि राम्रो काम नगरेमा आँखाको कोअर्डिनेसन मिलाउने  भिज्युअल ट्रेनिङको पनि जरुरत पर्छ। यस्ता ट्रेनिंग डाक्टरको सल्लाह र निगरानीमा आँखा क्लिनिक, आफनै घर वा अफिसमा पनि गर्न सकिन्छ।

कम्प्युटरको दुरी र अवस्था

कम्प्युटर चलाउँदा आवश्यक पर्ने केही महत्वपूर्ण कुराहरु कोठाको प्रकाश, कुर्चीको बसाई, आफूले हेर्ने बस्तुको दुरी, कम्प्युटरको मोनिटरको अवस्था र आफूले आँखालाई बेला–बेलामा दिने आराममा भर पर्छ।  धेरैजसो मानिसहरु कम्प्युटरलाई आँखाभन्दा तल राख्दा आराम भएको महसुस गर्छन। जसमा कम्प्युटरको स्क्रीन आँखाको लेबलभन्दा १५–२० डिग्री वा ४–५ इन्च तल र २०–२८ इन्च पर हुनु पर्छ।

कम्प्युटरमा धेरै  टाईप  गर्नुपर्ने व्यक्तिले आफूले टाइप  गरिरहेको डकुमेन्ट वा किताब किबोर्डभन्दा माथि र मोनिटरभन्दा तल हुनु पर्दछ। यदि त्यो सम्भब नभएमा मनिटरको छेउमा डकुमेन्ट होल्डर प्रयोग गर्न सकिन्छ।

प्रकाश

कम्प्युटरको सेटिङ गर्दा झ्याल वा चिमको प्रकाश स्क्रीनबाट परावर्तन भै आँखामा नपर्ने किसिमले सेटिंग गर्नुपर्ने हुन्छ। यदि त्यो सम्भव नभएमा झ्यालमा पर्दा र चिम थोरै वाटको राख्नुपर्छ।  यदि प्रकाशको परावर्तन अझै पनि राम्रोसंग रोक्न सकिएन भने कम्प्युटरको स्क्रीनमा  एन्टी–ग्लेयर फिल्टर पनि प्रयोग गर्न सकिन्छ।

बसाईको अवस्था

शरीरलाई पूरा आरामदायी बनाउने किसिमको कुर्चीको प्रयोग गरि त्यसको उचाई आफनो खुट्टाले भुर्इंलाईं पूरा छुनेगरि राख्नुपर्छ। यदि कुर्चीमा हात अडाउने  चेयरआर्म छ भने त्यो हाम्रो हातलाई आराम दिने किसिमले सेटिंग गरि किबोर्डमा टाइप गर्दा हाम्रो हत्केलाले किबोर्डलाई नछुनी किसिमले सेट गर्नु पर्छ।

आँखालाई आराम

आँखाको दुखाई  कम गर्न हामीले बेला– बेलामा आँखालाइ आराम दिनु पर्छ।  यदि हामीले २ घण्टासम्म लगातार कम्प्युटर, मोबाइलमा काम गर्छौं भने १५ मिनेट आँखालाइ आराम दिनुपर्छ।  साथै २०र२०र२०र२० नियम पनि पालन गर्नुपर्छ।  जसमा कम्प्युटर हेरेको प्रत्येक २० मिनेटमा २० सेकेन्ड आँखा बन्द गर्ने, अनि २० फीट पर हेर्ने, अनि २० पाइला हिँड्ने। यसो गर्दा के हुन्छ भने – २० सेकेन्ड आँखा बन्द गर्दा हाम्रो आँखाले उत्पादन गरेको आँशुले आँखालाई पूरा भिजाउन पाउँछ  र हाम्रो आँखा सुक्खा हुन पाउन्न , २० फीट पर हेर्दा हाम्रो आँखाको मांशपेशीले आराम पाउँछ र २० पाइला हिँडदा घाँटी र ढाडको समस्या कम हुन्छ।

आँखा झिमझिम गर्ने

साधारण मानिसले एक मिनेटमा २२–२५ पटकसम्म आँखा झिमझिम गर्छ तर लामो समय कम्प्युटर चलाउँदा हाम्रो आँखा झिमझिम गर्ने दर  १०–१२ पटकमा झर्छ। त्यसो हुँदा हाम्रो आँखा सुक्खा भै पोल्ने बिझाउने समस्या आउछ, त्यसैले लामो समय कम्प्युटर चलाउँदा बेला–बेलामा सम्झिएर आँखा झिमझिम गर्नुपर्छ। यदि त्यसो गर्दा पनि आँखा पोल्न बिझाउन छाडेन भने सुक्खा आँखाको जाँच गर्नुपर्ने हुनसक्छ  । आँखाको आँसु नै सुकेको हुनसक्छ । यसका लागि डाक्टरको सल्लाहअनुसार आँसु बढाउने  औषधि प्रयोग गर्न सकिन्छ।
अन्त्यमा नियमित आँखा जाँच,सही हेराईका बानी, चस्माको प्रयोग र विशेषज्ञसंगको परीक्षण, उपचार र परामर्शले कम्प्युटर भिजन सिन्ड्रोम कम वा निवारण गर्न मद्दत गर्दछ।-स्वास्थ्य खबरपत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी