काठमाण्डौ, ५ चैत्र ।
“हेल्दि माउथ, हेल्थि बडि” भन्ने नाराका साथ आगामी मार्च २० तारिखमा विश्व मुख स्वास्थ्य दिवस मनाईने भएको छ ।
दिवसका अवसरमा नेपाल डेन्टल एशोसिएसनले देशभरका ९ ओटा शाखा मार्फत साताव्यापी मुलुकभर रहेका हरेक डेन्टल कलेज, हस्पिटल र क्लिनिकहरुमा निशुल्क मुख तथा दन्त परीक्षण सेवा सञ्चालन गर्ने भएको छ ।
कार्यक्रम आयोजक डा. शुभित मास्केले आज राजधानीको रिपोटर्स क्लबमा गरिएको पत्रकार सम्मेलनमा मार्च १७ देखि २३ तारिख सम्म निशुल्क मुख तथा दन्त परीक्षण लगायतका सेवा सञ्चालन गर्ने जानकारी गराउनुभयो ।
दिवसका दिन काठमाण्डौको खुल्ला मञ्चबाट मुख स्वास्थ्य सम्बन्धि बृहत्त जनचेतनामुलक प्रभातफेरी निकाल्ने मास्केको भनाई छ । हाल देशमा बिभिन्न ठाउँमा १२ ओटा डेन्टल कलेज रहेका छन् । यस्तै नेपाल मेडिकल काउन्सिलमा १ हजार ७ सय दन्त चिकित्सकहरु दर्ता भईसकेका जनाईएको छ ।
दन्त चिकित्सकहरु नेपाल मेडिकल काउन्सिलको माताहतमा रहेका छन् भने नेपाल डेन्टल एशोसिएसनले पृथक डेन्टल काउन्सिलको माग गर्दै आएको छ ।