भीमदत्तनगर, ७ माघ ।
कञ्चनपुरमा चैतेधान उत्पादनका लागि सरकारले रु २० लाख अनुदान दिने भएको छ ।
जिल्लाको ४०० हेक्टर क्षेत्रफलमा चैतेधान उत्पादन गर्न अनुदान आएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक कलकबहादुर सिंहले जानकारी दिनुभयो ।
साढे सात बिघा खेतमा चैतेधान लगाउने किसानलाई रु ५० हजार तथा १५ कट्ठा खेतमा लगाउनेलाई रु पाँच हजार अनुदान दिइनेछ ।
गत वर्ष बर्खेधानका लागि अनुदान आएको थियो । जिल्लामा ३०० हेक्टरमा चैतेधान हँुदै आएको छ । भारतबाट धान निर्यात बढेको भन्दै सरकारले स्वदेशमै धान उत्पादनलाई बढावा दिन अनुदान दिन लागेको प्राविधिक सिंहको भनाइ छ । “व्यक्ति, समूह र सहकारीलाई अनुदान दिने प्रावधान छ, निवेदन दिन आउनेको सङ्ख्या बढ्दै छ” उहाँले भन्नुभयो ।
किसानलाई धानको बीउ वितरण गर्न बजेट अभाव रहेको र निःशुल्क बीउ वितरण गर्न गैरसकरारी संस्थासित समन्वय भइरहेको कार्यालयले जनाएको छ ।