काठमाडौँ, २७ मंसिर/
प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा नेश्नल सोसाइटी फर अर्थकूइक टेक्नोलोजी नेपाल र नेपाल प्रहरीको आयोजनामा सञ्चालित मेडिकल फर्ट रेस्पोन्डर तालिम आइतबार समापन भएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक केदार प्रकाश साउदले प्रशिक्षार्थीहरु तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गर्दै नेपाल प्रहरीले सम्पादन गर्दै आएका कामहरु भन्दा विशेष ज्ञान र क्षमता भएका प्रहरीलेमात्र विपद्को समयमा उद्दार गर्न सक्ने भएकाले तालिमको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
उहाँले तालिमबाट आर्जन गरेका कला ,सीप र ज्ञान आफ्नो व्यवहारिक जीवनमा लागू
गरी विपद्मा परेका घाइतेको उद्दार गरी मृत्युबाट जोगान तालिमले सहयोग गर्ने बताउनु भयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक साउदले विपद् व्यवस्थापन गर्न दक्ष जनशक्तिको उत्पादनका लागि सहयोग गर्ने सँस्थाहरुलाई धन्यवाद दिनुहुदै आगामी दिनमा पनि सहकार्य र सहभागीता गरी मानव जीवनको उद्दार गर्नुपर्ने तर्फजोड दिनुभयो ।
विपद् व्यवस्थापन महाशाखाका प्रमुख तथा तालिम सुपरिवेक्षक प्रहरी वरिष्ठ उपरीक्षक ठूले राईले प्रशिक्षार्थीहरुले तालिमको महत्वलाई बुझेर तालिम हासिल गरेकाले आफ्नो कार्यक्षेत्रमा पनि उत्साहपूर्वक लागू गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एनसेट नेपालका कार्यकारी निर्देशक आमोदमणी दिक्षित र यूनाइटेड स्टेट एजेन्सी फर इटरनेश्नल डेभलोप्मेन्टका सन्तोष ज्ञावलीले प्रशिक्षार्थीहरु तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गर्दै विपद्को प्रथम स्थानमा नै उद्दार गर्न सकिने उद्देश्यले तालिमको आयोजना गरेको बताउनु भएको थियो भने प्रशिक्षार्थीहरुको तर्फबाट रोसन गुरुङले तालिमको अनुभव व्यक्त गर्नुभएको थियो ।
१३ कार्यवधिको तालिममा नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल , नेपाली सेना, एनसेट नेपाल,रेडक्रस सोसाइटी समेत गरी २४ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक समीर चन्द्र खरेलले जानकारी दिनुभएको थियो ।