नेपालमा खास गरी काठमाण्डौं शहरमा ट्राफिक व्यवस्थापन एक जटिल समस्याको रुपमा देखिदै गएको छ ।
थोरै र साघुरा सडकमा लाखौं सवारी साधनको चापका कारण ठूलो समस्या बढेको छ ।
यस्तोमा सीमित संख्यामा रहेका ट्राफिक प्रहरीले सवारी र लेन अनुसासनको व्यवस्थापन, कार्बाही र पार्किङ जस्ता क्षेत्रमा काम गर्नु कठिनाई छ ।
यस सन्दर्भमा ईन्धन अभाव पछिको ट्राफिक व्यवस्थापन जस्ता विभिन्न विषयमा केन्द्रीत रहेर मिर्मिरेका लागि सिर्जना तिम्सिनाले ट्राफिक महाशाखाका प्रमुख जय बहादुर चन्दसग‘ गरेको कुराकानी….
नाका बन्दीका कारण ईन्धनको समस्याले गाडीहरु सडकमा भन्दा बढी पेट्रोल पम्पको लाईनमा बढी बसेका छन् । यो दशै नजिकिएको समयमा ट्राफिक व्यवस्थापनको काम कसरी भईरहेको छ ?
अघिल्लो वर्षको ट्राफिक व्यवस्थापन र यो वर्षको ट्राफिक व्यवस्थापनमा भिन्नता आएको छ तेलको संकटले गर्दा । अहिले तेलको अभावले गर्दा सडकमा ट्राफिक मुभमेन्ट अत्यन्त कम छ ।
अहिले २० प्रतिशत मात्र सवारी साधनहरु सडकमा गुडिरहेको छ । विगतमा यो समयमा ट्राफिक बाटो खुलाउन असिन पशिन हुनु पथ्र्यो ।चोक चोक र जक्सनहरुमा लामो समय गाडी रोकि राखेका हुन्थे ।
किनमेल, गन्तव्य यात्राको तयारीका लागि व्यस्त समय हो , सबै मानिसहरु दशैका लागि किनमेल गर्न बजारमा सवारी साधन समेत लिएर आउने हुनाले पनि यो समय अत्यन्तै व्यस्त हुनु पर्ने समय हो । तर अहिले यो फरक छ ।
हाम्रो जिम्मेवारी चाही अहिले पेट्रोल पम्पमा बसेको सवारी साधनको लाईन मिलाई दिने आदि काम गरीरहेका छौं ।
साथै विगतमा हामी सवारी साधनमा धेरै यात्रु चाप राख्न दिन्न थियौं भने अहिले त्यो रोक्न सक्ने अवस्था छैन । किन भने यात्रा नगर भनेर मानिसलाई भन्नु भएन नि विकल्प दिन नसके पछि ।
अर्को तिर गत वर्षको जस्तो केही कामहरु जस्तो नागरिक सहायता कक्षहरु काठमाण्डौंको १२ ठॉउमा स्थापना गरेका छौं ।
कंलकी, नागढुंगा, नया बसपार्क, पुरानो बसपार्क,गौशाला, कोटेस्वर, स्वयम्भू, जोरपार्टी , एयरपोर्ट र सातदोवाटोमा हामीले नागरिक सहायता कक्ष स्थापना गरेका छौं ।
दशैंको बेलामा बढी पैसामा टिकट बेच्ने, एउटै टिकट दुई जनालाई बेच्ने जस्ता समस्याहरुले गर्दा यस्तो विकृति जन्य कुराहरु रोक्न हामीले नागरिक सहायता मार्फत काम गरीरहेका छौं ।
अहिले गाडी नै घर जान मानिसले पाईराख्या छैनन् कस्तो छ अहिले नागरिकको गुनासो ?
अहिले पनि यस्तो गुनासो आईरहेका छन् ।
आजै मलाई फोन आएको थियो यात्रुहरुबाट बढी पैसा लियो भनेर मैले ट्राफिक प्रहरी लाई नम्बर टिपाएर बसको ओनरलाई कुरा गर्न , समितिलाई पनि भन्न भनेको छु । जनताको गुनासो आईनै रहेका छन् ।
अहिले मानिसहरु गाडी नपाएर छत भरी समेत बसेर जोखिमपूर्ण यात्रा गरीरहेका छन् यसलाई रोक्ने कसरी ?
हैन रोकेर के गर्नु ? मानिसलाई घर जानै परेको छ उनीहरुलाई कसरी पठाउने त ?
हामी सग‘ विकल्प नभएका कारण नै मानिसहरुले यस्तो यात्रा गर्न बाध्यता परेको छ । अल्टरनेटिभ उपाय नै यसरी हिड्नु बनेको छ । घर जानबाट कसैलाई रोक्न सकिन्न ।
तर पनि यसलाई व्यवस्थित बनाउन प्रयासहरु भएका छन् । जस्तो सरकारले केही दिन अघि लामो दुरीका सवारी साधनलाई मात्र तेल दियो ।
यही पीडालाई हेरेर सरकारले त्यस्तो व्यवस्था गरेको थियो । तर सरकारसग‘ पनि उपाय नभए पछि के गर्ने त ?
उपत्यकाबाट कति मात्रामा सवारी साधनहरु बाहीरीरहेका छन् र व्यवस्थापन कसरी भईरहेको छ ?
अहिले विगतको भन्दा आधा मात्र गाडीहरु बाहिर भित्र गरीरहेका छन् । ३५ सय देखि ४ हजार सम्म गाडीहरु आवत जावत गरीरहेका छन् ।
एक त भूकम्प पछि गएका सबै मान्छे फर्किएका छैनन् र मानिसको चाप अलि कम छ यस समयमा । ती मध्य करीब १० लाख सम्म मानिसहरु गईसकेका छन् र अब २÷४ दिन भित्र ५÷७ लाख मान्छे जान्छन् भन्ने हाम्रो अनुमान छ ।
अर्को म के भन्न चाहन्छु भने अहिले पेट्रोल पम्पमा ठूलो लाईन छ तर तेल छैन । नपाएर धेरै रिसाउनु भएको पनि होला । तर यो साझा विपत्ति हो ।
तेल नभए पछि कसरी दिन सकोस् भए जति न दिने हो । त्यसैले जसरी भुकम्पका बेला हामी सबै एकै ठाउमा उभिएका थियौं त्यसै गरी अहिलेको विपत्तिमा पनि एक हुनु पर्छ ।
अहिले लिफ्ट कल्चर पनि शुरु भएको छ । ट्राफिक प्रहरीले पनि त्यसमा सहयोग गरीरहेको छ ।
हाम्रो संगठन प्रमुख उपेन्द्रकान्त अर्याल ज्यूले हामीलाई निर्देशन नै दिएर खाली गाडी गईरहेको छ भने सोधेर लिफ्ट दिन अनुरोध गर्न र नागरिकलाई सहयोग गर्न भन्नु भएको छ ।
साथै प्रहरीले ५÷७ वटा बस र ट्रक घुमाएर यात्रुहरुको राहतका लागि सेवा दिईरहेको छ । त्यसैले हामीले संभव भएका सबै विकल्पहरु प्रयोगमा ल्याएका छौं ।
यस बाहेक हेल्प डेस्कबाट सहयोग भईरहेको छ , लेन अनुसासन , मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने कार्य ( ड्रिंक एण्ड ड्राईभ ) न्युनीकरण गर्ने कार्य जस्ता कार्य पनि प्रहरीले गरीरहेको छ ।
दशैंको बेला आयो खाने पिउने कल्चर पनि छ हाम्रो त्यसैले त्यता पट्टि पनि ध्यान दिईरहेका छौं । जनताको घरमा दुखः नआओस्, काठमाण्डौं वासीले दुखः नपाउन भन्ने हाम्रो चाहना छ ।
ईन्धन संकट पछि मापसे कार्बाही कत्तिको भईरहेको छ ?
ईन्धनमा संकट आए पछि जसरी ८० प्रतिशत सवारी साधन चलेका छैनन् त्यसै गरी मापसे कार्बाहीमा पनि कमी आएको छ ।
पहिला दैनिक १८ सय सम्म मापसे चेक हुन्थ्यो भने अहिले दैनिक ३ सय जति हुने गरेको छ यो ईन्धन संकट पछि । र कार्बाहीको कुरा गर्दा दैनिक एभरेजमा ४०÷५० कार्बाही हुने गरेको छ ।
अहिले रेष्टुरेन्टमा भन्दा टोल छिमेकमा घरमा बस्यो खायो गर्ने चलन बढ्या छ । भएको थोरै तेल पनि दशैमा टिका थाप्न जानका लागि राखिएको हुन सक्छ थोरै मात्रामा ।
त्यसैले रहर र मोजमस्तीका लागि मानिसले सवारी साधन ननिकालेका पनि अहिले कार्बाहीमा कमी आएको छ ।
लाइसेन्स प्वाल पार्ने कार्यले कत्तिको उपलव्धि भएको छ त ?
एकदमै राम्रो भएको छ । विगतमा सवारी दुर्घटनाबाट धरै मानिसको ज्यान जाने गथ्र्यो ।
तर अहिले त्यसमा ५० प्रतिशतले कमी आएको छ । हाम्रो र्याकरहरु सधै गाडी तान्न सडकमा रातभर राख्नु पथ्र्यो । तर अहिले त्यो र्याकर चल्दै चल्दैन ।
अर्को के भने यहाको बासीन्दामा पनि न‘या संस्कारको विकास हुदै गएको छ ।
लाईसेन्स प्वालै पार्ने भने पछि विदेशी काममा जादा खेरी लाईसेन्स हेर्दा खेरी त्यसलाई हेरिने भएकाले मानिसले सचेत हुन थालेका छन् ।
कतिपयले लाईसेन्स प्वाल पार्दिनु भएन मेरो विदेश जानु छ भनेर आशु नै पनि चुहाएको रिपोर्ट छ हामीसग‘ ।
अहिले जोक हो कि के हो सुनिदैछ कि बिहे गर्नु पूर्व केटीहरुले केटाहरुको लाईसेन्स हेर्छु भन्न थालेका छन् कतिको ड्रिंक गर्दछन् भनेर ।
त्यसैले समग्रमा भन्दा लाईसेन्स प्वाल पार्ने कार्यले गर्दा ड्रिंक एण्ड ड्राईभमा कमी आएको छ ।
यदी कसैले कुनै फरक जिल्लाबाट अर्को लाईसेन्स लियो भने त्यो झन बढी अपराध भएको छ ।
तपाई ट्राफिक महाशाखा प्रमुख भए पछि के के परिवर्तन ल्याउनु भएको छ ?
पहिलो काम केन्द्रीय बसपार्कमा पार्किङ सिस्टम डेभलप गर्दिएको छु मैले ।
यसले गर्दा रिंगरोडमा लामो दुरीका रात्री बसहरु लामो समय सम्म पार्किङ गर्दा समस्या भएको थियो । तर अहिले रिङ रोडमा जानुस् यो धेरै खुल्ला छ ।
अहिले सबै बस बिदेशीले अरबौं लगानी गरेर बनाई दिएको बसपार्कमा बस्न थालेका छन् । यसले काठमाण्डौंको सवारी चापमा ठूलो परिवर्तन ल्याएको छ ।
अर्को तिर ट्राफिक प्रहरीको व्यवहारमा व्पापक परिवर्तन भएको छ । अस्ती एक जना यहा आएर ट्राफिक पुलिसले त भन्यो मलाई भन्नु भयो तर मैले ट्राफिक प्रहरीले त‘ भन्दैन भने । तर उनले भनेकै हो भने ।
दरबारमार्गमा गौतम थरका सिपाहीको कुरा गर्नु भयो मैले तत्कालै त्याहाका ईन्सपेक्टर साहेबलाई फोन गरेर गौतमलाई लिएर आउनुस् भनेर ती मानिसलाई मैले ट्राफिकले त भने भन्दैन , तपाई भन्यो भन्नु होला तपाई अब गीता छुन तयार हुनुहुन्छ ? भनेर भने पछि एक छिन नाम कन्फ्युज भयो पत्ता लगाएर आउछु भनेर गएको ती मानिस अझै फर्किएको छैन ।
उ झुट बोलिरहेको थियो । अहिले यो परिवर्तन त्यत्तिकै भएको हैन मेरो दृढतामा यो संभव भएको हो ।
त्यसै गरी अहिले ए रिक्सा, ए ट्याक्सी भनेर भन्न पाईदैन भन्ने बनाएको छु ।
ट्याक्सी दाई , रिक्सा दाई भन्न सकिन्छ नि । होटलमा भाडा माझ्ने मान्छेलाई पनि सम्मानपूर्वक व्यवहार गर्नु भनेको छु ट्राफिक प्रहरीलाई ।
सम्मानको संस्कृति विकास गर्नु पर्छ । त्यही हो जिब्रोको गरीमा मिठो बोलेमा भनेको त्यही हो ।
जिब्रोको गरीमा २४ घण्टामा दुई तीन चोटी खानु मात्र हैन मिठो बोल्नु पनि हो । एक अर्कालाई सम्मान गर्ने मिठो बोल्ने हरेक पव्लिकले पनि त्यस्तो व्यवहार गर्नु पर्छ भन्छु म ।
हाम्रो संस्कार धर्म सबैले सिकाएको त्यही हो । मैले ट्राफिक प्रहरीलाई पनि त्यो सिकाएको छु ।
त्यो बाहेक सार्वजनिक बसमा यातायातमा यात्रा गर्ने कुरामा पनि मैले प्राथमिकता दिएको थिए‘ ।
मैले दिएको यो सन्देश अहिले यथार्थतामा आएको छ तेल संकटका कारण । सार्वजनिक सवारीमा यात्रा गर्नु उपयुक्त विकल्प हो भन्ने देखियो नि ।
अहिले साईकल गस्तीको विकास गरेका छौं,सचेतना कार्यक्रमहरु, चालक परिचालकलाई प्रशिक्षण दिने, स्टीकर बसहरुमा टास्ने कुरा आदि कार्यक्रमहरु अघि बढाएका छौं ।
ट्राफिकको व्यवहारमा परिवर्तन गरीरहदा कतिपयले प्रहरीलाई नै त त मम भनेर गाली गरीरहेको पनि देखिन्छ नि ?
गुरुहरुले क, ख सबैलाई एकैसाथ सिकाउछ । तर कसैले छिटो सिक्छ कसैले ढिलो सिक्छ ।
मार्सल आर्ट सिकाउने गुरुले पनि सबैलाई समान रुपले सिकाउछ तर कसैले गुरुलाई जीत्छ कसैले थोरै सिक्छ ।
ट्राफिक प्रहरी भनेको सिभिल पुलिस हैन भन्ने कुरा सब भन्दा पहिले मैले सिकाए‘ ।
सबै ट्राफिक प्रहरी जय बहादुर चन्द हैनन् नि । १२ सय ट्राफिक प्रहरी त मैले सिकाएका मानिस हुन् ।
तर ट्राफिक प्रहरीले धेरै समस्या भोग्नु परेको छ ।
प्रहरीलाई ब्रेथ लाईजर लाउने कुरामा अस्लील गालीगलौज गर्ने, जागिर खाई दिउ भनेर थर्काउने समेत गरेको गुनासो गर्ने आउछ ।
यस्तो बेला मैले के भन्ने गरेको छु भने हामीले राज्यको तर्फबाट ब्रेथ लाईजर लगाउने अधिकार पाईरहेको बेलामा त्यो पाउदैनौ भनेर गालीगलौज गर्ने मानिस असल नागरिक हुदै होईन ।
त्यस्तो मानिसलाई यदी ब्रेथलाईजर लगाउनु हुन्न भने अब सिभिल पुलिस आउछ ।
यस पछि डिलिङ सिभिल पुलिसको हुन्छ । यस पछि तपाई थुनिन पनि सक्नु हुन्छ , तपाईलाई मुद्धा लाग्न सक्छ तपाईको च्वाईस् भन्नु भन्या छु ।
किन कि बोल्न त पायो नि मानिसले । यसरी सम्झाउदा नि नमान्नेलाई सिभिल पुलिसको जिम्मा लगाउने गरेका छौं ।
त्यसै गरी सडकमा ट्राफिक प्रहरीहरु बसिरहेको बेलामा अस्लील गाली गरेर पनि हिड्दिने कोही हुन्छन् । त्यो बेलामा नरिसाउनुस भन्या छु मैले ट्राफिक प्रहरीलाई ।
जाडो, गर्मी, धुलो, धुवामा दुखः गरेर खटिरहेको ट्राफिकलाई गालीगलौज गर्छ भने मुसुक्क हास र आज एउटा मुर्ख भेटियो भन्नुस् भनेर स्कुलिङ गरेको छु ।
साथै हुकुम प्रमाङगीको जमाना छैन लोकतन्त्र हो यो । कसैले पनि ट्राफिक प्रहरीको जागिर खाने कुरा आउदैन भनेर बुझ्नुस् भनेर स्कुलिङ गरिएको छ र समग्रमा भन्दा अहिले ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तन छ ।
सडक साघुरो छ तर सवारी साधन बढ्ने क्रम धेरै भईरहेको छ , यो चापले ट्राफिक व्यवस्था कस्तो हुन सक्छ ?
अहिले १५ सय ९६ किलो मिटर जति सडक छ जम्मा काठमाण्डौंमा । यो भनेको १५ लाख ९६ हजार मिटर जति हुन्छ । उता ८ लाख ५० हजार सवारी साधनहरु यातायातमा दर्ता भएर चलिरहेका छन् ।
तिनको एभरेजमा तीन मिटर लम्वाई हुने हो भने पनि २५ लाख मिटर भन्दा बढी हुन्छ ।
अहिले हामीले पम्पमा जुन लाईन देखिरहेका छौं त्यौ सबै गाडी काठमाण्डौंमा आउने हो भने १० लाख मिटर भित्र हुने गाडीहरु बाहिर राख्नु पर्छ हामीले ५० प्रतिशत गाडीको लम्बाई सडकको लम्बाई भन्दा धेरै छ ।
कमसेकम पनि ३ हजार किलो मिटर सडक अहिले हुनु पर्छ सहज मुभमेन्ट हुनका लागि ।
जस्तो के बुझौ भने २÷३ जना सुत्न मिल्ने कोठामा २० जना सुत्यो भने के हुन्छ ? कि कोही उभिनु पर्यो कोही सुत्नु पर्यो यस्तै त हो ।
सडक पनि नबढाउने, पुराना गाडी पनि विस्थापित नगर्ने र नया गाडी पनि आउन दिईरहने हो भने भूकम्प आए पछि के गर्ने भने जस्तै के गर्ने भन्ने हुन्छ । समस्या निकै जटिल हुन्छ ।
ट्राफिक प्रहरीको चूनौती के हो र के चाही परिवर्तन संभव छ ?
काठमाण्डौंमा आन्तरीक व्यवस्थापनका लागि साधन स्रोतको कमी छ । संसारका अरु धेरै देशमा सडकमा ट्राफिक प्रहरी देखिदैन ।
सबै क्षेत्रमा सिसिटिभी हुन्छ र त्यसैका आधारमा अप्रेसनमा ट्राफिक प्रहरी हुन्छ । कुनै कुनामा उनीहरु आकस्मिक सेवामा हुन्छन् ।
सिसिटिभीका आधारमा गल्ती गर्ने सवारी साधनलाई उनीहरुले जरीवाना गर्ने र कार्बाही गर्ने प्रकृया हुन्छ । तर नेपालमा अहिले यो व्यवस्था निकै गाह्रो छ ।
अहिले प्वाल पार्ने र क्लास लिने कुराले मात्रै केही सजिलो भएको छ । २० हजारको बिल तिर्नेले हजार रुपैयाको जरीवाना त तिरि हाल्छ नि । त्यसैले नेपालमा कानुन पनि बलियो बनाउनु पर्छ ।
अर्कोतिर काठमाण्डौंको सडकमा धुलो धुवा धेरै छ । श्वास्थ्यमा ट्राफिक प्रहरीलाई ठूलो समस्या देखिएको छ । तर जनता र सेवाग्रहीको व्यवहार अझै परिवर्तन हुन सकेको छैन । त्यसैले यस्ता धेरै कुराहरुमा परिवर्तनको आवस्यकता छ ।
त्यसैले अब पुलिस मैत्री जनता , जनता मैत्री पुलिस बन्नु पर्छ ।