डोटी, १ असोज ।
नेपाल सरकारले यसै आर्थिक वर्षदेखि देशभरका गाउँ विकास समिति तहमा कृषि वा पशु प्राविधिक जनशक्ति राख्ने तयारी शुरु गरेको छ ।
अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७२÷७३ का लागि प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार कृषि विकास मन्त्रालयले यस अगावै जिल्ला–जिल्लामा परिपत्र गरि कृषि वा पशु प्राविधिक राख्न आवश्यक गाविसको विवरण समेत माग गरिसकेको छ ।
आ.व. २०७२÷७३ का लागि अर्थमन्त्री महतले २०७२ असार २९ गते मंगलबार संविधानसभा, व्यवस्थापीका संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यको बुँदा नं. १ सय १४ मा प्रत्येक गाविसमा एक जना कृषि वा पशु प्राविधिकको व्यवस्था गर्न बजेट विनियोजन गरेको उल्लेख छ । जस अनुसार डोटी जिल्लामा पनि पचास वटै गाविसमा प्राविधिक राख्ने प्रक्रिया अघि बढेको छ ।
जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालय डोटीको समन्वयमा गाविस तहमा कृषि र पशु प्राविधिक राख्ने गरि उपल्लो निकायमा विवरण पठाईसकिएको एक श्रोतले जनाएको छ ।
जिल्ला पशु सेवा कार्यालय श्रोतका अनुसार सिटिईभिटीद्वारा मान्यता प्राप्त शिक्षण सँस्थाबाट जे.टि.ए.उत्तिर्ण गरेका जनशक्ती भर्ना गरिने जनाईएको छ । कृषि अन्तरगत भने ग्रामीण कृषि प्राविधिक कार्यकर्ता सम्बन्धी ५१ दिने तालिम प्राप्त जनशक्ती भर्नाका लागि ग्रामीण कृषि कार्यकर्ता सञ्जाल नेपालले यस विषयमा बेला–बेलामा जिल्ला, क्षेत्र र केन्द्र तहमा दवाव दिंदै आएको छ ।
सरकारले ग्रामिण कृषि कार्यकर्ताको रुपमा देशभर दुई हजारभन्दा बढिलाई तालिम पनि यस अगावै दिईसकेको छ । डोटीमा पनि ग्रामीण कृषि प्राविधिक कार्यकर्ता सम्बन्धी ५१ दिने तालिम प्राप्त २६ जना जनशक्ति रहेको र ४ जना अहिले तालिम लिईरहेको जिल्ला कृषि विकास कार्यालय श्रोतले जनाएको छ ।
एक श्रोतका अनुसार आगामी फाल्गुनदेखि शुरुमा ४ महिना र आर्थिक वर्ष २०७३÷७४ बाट लामो समयका लागि प्राविधिक जनशक्ति परिचालन गर्ने कृषि मन्त्रालयको मोटामोटी तयारी रहेको छ ।