इलाम, २४ भदौ ।
विगत नौ वर्षदेखि किबीखेती विस्तार तथा व्यवसाय सुरु गरेका इलाम सुलुबुङ–४ तालगाउँका तारामणि खतिवडाले यथेष्ट आम्दानी गरेका छन् ।
व्यावसायिकरुपमा किबी फलको खेती थालेका खतिवडाले वार्षिक रु छ लाख बढीको आम्दानी गर्दै आएका छन् । सर्वोच्च अदालत काठमाडौँमा नायब सुब्बाको जागिर छोडेर किबीखेती गर्न थालेका उनले विसं २०६४ देखि इलाम सुलुबुङमा किबीखेतीको विस्तार गरेका हुन् ।
उनले अहिले ५० रोपनी जग्गामा रातो र हरीयो जातका किबी रोपेका छन् । खतिवडाले उत्पादन गरेको किबी इलाम, झापा, मोरङदेखि काठमाडौैँ हुँदै भारतको सिलीगुढी, सिक्किम, कोलकात्तालगायतका ठाउँसम्म बिक्रीका लागि लैजाने गरेको खतिवडाले बताए ।
उनले उत्पादन गरेको किबीफल रु ५०० देखि ७०० किलो सम्म बिक्री हुने गरेको बताइएको छ । यस्तै उनले गत वर्ष रु ३० हजारको किबीका बिरुवासमेत बिक्री गरेका छन् ।
सरकारी जागिरभन्दा आफ्नै व्यवसाय गर्दा उचित हुने ठानेर किबीखेती व्यवसायतिर लागेको उनले बताए । हाल इलाममा मात्र २० हजार किसानले किबीफलको खेती गरी मनग्य आम्दानी लिन थालेका छन् ।
यहाँका किसानले १२ बोटदेखि ८०० बोटसम्म किबी रोपेका छन् । अलँैचीखेती मासिएपछि निरास बनेका किसानले किबीफल तथा बिरुवा बेचेर आयआर्जन गर्दै आएका छन् ।
एक रोपनीमा १२ देखि १५ वटा बिरुवा रोप्न सकिने तथा भाले र पोथी बिरुवा अलगअलग हुने किसानले बताएका छन् । समुद्र सतहबाट ८०० मिटरदेखि दुई ९०० मिटरसम्मको उचाइमा यसको खेती गर्न सकिन्छ ।
मुटु रोग, क्यान्सर, अल्सर, उच्च रक्तचाप, दम, मधुमेह आदी रोगको उपचार र मोटोपन घटाउनमा समेत किबीफलले सहयोग पु¥याउने भएकाले यसको नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा ठूलो माग भइरहेको खतिवडाले बताउनुभयो ।
ग्राफ्टिङको बिरुवा रोपेको एक वर्ष पछि तथा कटिङको दुई वर्ष पछि किबीफल उत्पादन दिन सुरु भई ५०÷६० वर्षसम्म लगातार उत्पादन हुने किसान बताउँछन् । नेपालका ४० जिल्लामा यसको खेती विस्तार भइरहेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।