काठमाडौं, १४ भदौ ।
मेची अञ्चलकै सबैभन्दा ठूलो मेची अँखा अस्पतालले हालसम्ममा १६ लाख ५१ हजार ७५५ जनाको आखा परीक्षण गरेको जनाएको छ ।
सन् १९९६ मा झापाको चारपानेमा स्थापना भएको मेची आँखा अस्पतालले अहिले विर्ताबजारमा चार बिगाहा क्षेत्रफलमा आफ्नै भवनबाट सेवा सुरु गरिरहेको छ ।
स्थापनाकालदेखि अहिलेसम्ममा एक लाख ९० हजार ८६९ जनाको आँखाको शल्यक्रिया पनि गरिएको छ ।
अस्पतालले पछिल्लो समयमा आएर नानी प्रत्यारोपण गर्ने सेवा आरम्भ गरेदेखि एकजनाको नानी प्रत्यारोपण गरी उनलाई संसार देखाउन सफल भएकामा मेची आँखा अस्पतालले आफनो सेवालाई गौरवान्वित मानेको छ ।
दृष्टि कमजोर, मोतियाबिन्दु र आँखा पाक्ने रोगका बिरामी बढी आउने यो अस्पतालमा मेची अञ्चल र छिमेकी राष्ट्र भारतबाट बढी बिरामी आउने गरेको पाइन्छ ।
मेची आँखा अस्पतालले दिएको जानकारीअनुसार नेदरल्यान्डको आर्थिक एवम् प्रविधि सहयोग रहेको यो अस्पतालमा १७ देखि ४० वर्ष उमेर समूहका आँखा रोगी बढी आउने गरेका छन् ।
नेदरल्यान्ड सरकारले सन् २०१४ मा रु एक करोड ६९ लाख ५१ हजार ५ सय बराबरको सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।
सामान्यतया रु ५० र पेइङमा रु १५० शुल्क निर्धारण गरेको अस्पतालले सेवा सगसगै आम्दानी पनि गर्न सफल भएको छ ।
अहिलेसम्ममा रु छ करोड ५६ लाख २० हजार ३ सय २२ आम्दानी गर्न सफल भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।