उपत्यकामा हानिकारक प्रदूषणको मात्रा उच्च भेटियो, क्यान्सरको फैलन सक्ने खतरा : डाक्टर

उपत्यकामा हानिकारक प्रदूषणको मात्रा उच्च भेटियो, क्यान्सरको फैलन सक्ने खतरा : डाक्टर

  • शनिबार, भदौ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, १२ भदौ ।

उपत्यकामा क्यान्सरको कारकका रूपमा रहेको हानिकारक प्रदूषणको मात्रा उच्च भेटिएको छ ।

विश्वभरिका विज्ञहरूले काठमाडौं आसपासका क्षेत्रमा गरेको अध्ययनले वायु प्रदूषणको एउटा तत्वका रूपमा रहेको पोलिसाइक्लिक अरोम्याटिक हाइड्रोकार्बन (पीएएचएस) तथा टक्सिक इक्युभेलेन्ट क्वान्टिटी, (टीईक्यू) विशालु तत्व विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ८० गुणसम्म बढी भेटिएको हो ।

अध्ययनमा संलग्न डा. महेश्वर रूपाखेतीका अनुसार प्रदूषणको यो अवस्थाले मानिसमा क्यान्सरलगायत रोगको खतरा बढी हुन्छ । काठमाडौंमा भेटिएको पीएएचएसको मात्रा बेइजिङ र नयाँदिल्ली लगायतका सहर बराबर हो ।

चाइना एकेडमी अफ साइन्स, एकेडेमी अफ फिनल्यान्ड तथा नेपाली वैज्ञानिकहरूको संयुक्त अनुसन्धानले पीएएचएसले मानिसको फोक्सोमा सीधा असर गर्ने उल्लेख गरेको छ। राम्ररी नडढेको कृषिजन्य सामग्री तथा डढेलोबाट निस्कने धुवाँ तथा इँटाभट्टाबाट निस्कने धुवाँ यसको मुख्य स्रोत हो ।

काठमाडौंमा २० वर्षभन्दा पुराना डिजेल इन्जिनका गाडीबाट राम्ररी नजली निस्किएको धुवाँ यस्तो प्रदूषणको अर्को महत्वपूर्ण स्रोत हो। भारतका विभिन्न स्थानमा जलाउने कृषिजन्य सामग्रीबाट निस्किएको धुवाँको नमुनासमेत वैज्ञानिकहरूले उपत्यकामा प्रमाणित गरेका थिए।

काठमाडौं उपत्यकामा वायु प्रदूषणका विभिन्न तत्व तथा त्यसको संयोजन र रासायनिक पदार्थको मिसावटको प्रतिशतसमेत अध्ययनकर्ताले विश्लेषण गरेका थिए । वायु प्रदूषण विज्ञ डा. रूपाखेतीले अन्नपूर्णसँग इमेलमा भने, ’यस्तो प्रदूषणले क्यान्सर निम्त्याउँछ। यसको मात्रा मनसुनका समयमा झन् धेरै देखिएको छ, यो आश्चर्यजनक पनि छ।’

पीएएचएसको मात्रा १ नानोग्राम परमिटर क्युब हुनुपर्नेमा उपत्यकाका विभिन्न ठाउँमा दुईदेखि ८० गुणासम्म बढी देखिनु स्वास्थ्यका लागि सबैभन्दा खतरा हो। त्यस्तै पीएएचएसमा टक्सिक इक्युभेलेन्ट क्वान्टिटी (टीईक्यू) विषालु तत्वको मात्रा २.७४ देखि ८१.५ नानोग्राम मिटरक्युब भेटिएको छ।

विज्ञहरूका अनुसार यो मात्रा दक्षिण एसियाली सहरमध्येकै सबैभन्दा धेरै हो । यस्तो प्रदूषणको स्रोतका रूपमा रहेको डिजेल जेनेरेटरले उपत्यकामा सबैभन्दा धेरै ब्ल्याककार्बन उत्सर्जन गरिरहेको छ।

स्वच्छ ऊर्जा नेपालको एउटा अध्ययनअनुसार डिजेल जेनेरेटरले वार्षिक एक हजार एक सय ८१ टन कार्बन मोनोअक्साइड उत्सर्जन गरिरहेका छन्। त्यस्तै नाइट्रोजन अक्साइड पाँच हजार तीन सय ७८, पीएम १०, ३४४ टन प्रतिवर्ष उत्सर्जन भइरहेको छ।

सल्फर अक्साइड प्रतिवर्ष ५४ टन, ब्ल्याक कार्बन १३५ टन तथा अर्गा्निक कार्बन दुई सय ११ टन उत्सर्जन भइरहेको छ। यी सबै प्रदूषणले सीधै फोक्सोमा असर गर्छ। छोटो आयु भएका प्रदूषणजन्य यस्ता तत्वले वातावरणसँग मानवीय स्वास्थ्यमासमेत गम्भीर प्रभाव पारिरहेको छ।

यसले जलवायु परिवर्तनका लागिसमेत नकारात्मक भूमिका खेलिरहेको छ। ब्ल्याकार्बन, मिथेन, प्रोपोस्पेरिक ओजन र हाइड्रो फ्लोरो कार्बन (एयर कन्डिसनर तथा रेफ्रिजेरेटरबाट निस्कने प्रदूषण) सबै पीएएचएसअन्तर्गत पर्छन्।

वायु प्रदूषण गर्नेमध्येको एउटा तत्व पीएएचएस पीएम २.५ अन्तर्गत मापन तथा अध्ययन गरिन्छ। यस्तो प्रदूषण सीधै नाक र मुखबाट फोक्सोमा पुगेर गाडिन्छ।विज्ञहरूका अनुसार यसले फोक्सोमा असर गर्छ र क्यान्सरको खतरा बढाउँछ।

वायु प्रदूषणका कारण सबैभन्दा धेरै श्वासप्रश्वासका रोगी बढेका छन्। पीएम २.५ सीधै फोक्सोमा गाडिएर स्वास्थ्य समस्या झेल्नेको संख्या धेरै छ। डब्लूएचओका अनुसार अति कम विकसित देशका १३ लाख मानिसले बर्से्नि प्रदूषणकै कारण ज्यान गुमाइरहेका छन्।

वातावरण मन्त्रायलयको एउटा अध्ययनअनुसार नेपालमा बर्से्नि एक हजार ६ सयभन्दा बढीको मृत्युु भइरहेको छ भने १५ लाख मानिसले श्वासप्रश्वाससम्बन्धी समस्या झेलिरहेका छन्। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूनेप) को एउटा तथ्यांकअनुसार दुई दशकपछि वायु प्रदूषणको यही अवस्था रहे नेपालमा बर्से्नि २५ हजारको मृत्यु हुनेछ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको भन्दा सात गुणा बढी पीएम १० (पार्टिकुलेट म्याटर १०) काठमाडौंमा छ। अस्तव्यस्त बाटोमा थोत्रा सवारीसाधनको बढ्दो चापले पीएम १० को मात्रा बढिरहेको छ।

डब्लूएचओले काठमाडौंका लागि पीएम १० को मात्रा एक सय २० भन्दा बढी हुन नहुने उल्लेख गरेको छ। दक्षिण एसियाका २२ सहरमध्ये काठमाडौं र नयाँदिल्ली धेरै वायु प्रदूषण भएका सहर हुन्। पछिल्लो समयमा काठमाडौं उपत्यकामा सरकारले राखेका वायु प्रदूषण मापनयन्त्र सबै बिग्रिएका छन्।

राजधानीका विभिन्न ६ ठाउँमा राखिएका यन्त्र बिग्रिएपछि सरकारले आधुनिक उपकरण ल्याउने तयारी गरिरहेको जनाएको छ । वातावरण विभागका महानिर्देशक सुरोज पोखरेलले विभिन्न ६ वटा नयाँ रियल टाइम प्रदूषण मापकयन्त्र ल्याउने प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

क्लिन एयर नेटवर्क नेपालका कार्यक्रम संयोजक प्रशान्त खनालले उपत्यकाको वायु प्रदूषणमाथि गम्भीर बहस गरी न्यूनीकरणका उपाय खोज्न ढिलो भइसकेको बताए। उनले जलवायु परिवर्तनको बहसमा अब कार्बनडाइअक्साइड, मिथेनलगायतका ग्यास मात्रै होइन पीएएचएसमाथि छलफल केन्द्रित गर्न सुझाव दिए।

उपत्यका बनोटका कारण पनि वायु प्रदूषणका दृष्टिकोणले संवेदनशील छ। कचौरा आकारको उपत्यकामा हावासँगै प्रवेश गरेका प्रदूषणका कण बाहिर जान हत्तपत्त सक्दैन। इसिमोडले गरेको अध्ययनअनुसार काठमाडौंका मुख्य स्थानमा पीएम १० (प्रदूषणको मात्रा) धेरै छ । प्रदूषणले मानिसलाई विभिन्न रोग निम्त्याउँछ।

वैज्ञानिकहरूका अनुसार उपत्यकामा बिहानको समयमा खाना पकाउने, सवारीसाधन सडकमा निस्कने तथा सडकमा धुलोधुवाँ उड्न थाल्ने भएकोले पनि बढी प्रदूषण हुन्छ । अन्नपुर्ण पोष्ट दैनिकबाट ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी