दाङ, १७ साउन ।
दाङको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई सरकारले स्तर बृद्धिगरी मेडिकल कलेज वनाउने घोषणा गरेपछि त्यसको विकासका लागि वहस सुरु भएको छ ।
राप्ती अञ्चलको केन्द्रविन्दु रहेको दाङको घोराहीमा कलेज स्थापनाका लागि अन्चलवासी नै लाग्नुपर्ने सरोकारवालाको भनाई छ ।
विष्णु आर्ट सेन्टर घोराहीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायले मेडिकल कलेज स्थापनाका लागि एसियाकै ठुलो उपत्यका दाङ हरेक कुरामा सुगम रहेको वताएका हुन् ।
प्रत्येक विकास क्षेत्रमा स्थापना गरिने मेडिकल कलेज मध्यपश्चिमको दाङमा स्थापना गरिने भएपछि व्यापारी, राजनैतिक दल र सर्वसाधारणमा एकता हुनुपर्ने उनीहरुको भनाई थियो ।
विष्णु प्रसाद पोख्रेलको अध्यक्षता तथा राप्ती उपक्षेत्रीय अस्पतालका प्रमुख डा. विकास देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी देवकोटाले मेडिकल कलेजका वारेमा जनशक्ति, जग्गा र भौतिक संरचनाका लागी केन्द्रमा पहल गर्नुपर्ने वताए ।
साथै उनले कलेज स्थापनाका लागि जिल्ला तहका दलहरु एकमत हुनुपर्ने, आधारभुत कुराहरु प्रर्याप्तता हुनुपर्नेमा जोड दिए ।
सहभागी विभिन्न क्षेत्रका प्रतिनिधीहरुले अस्पतालको क्षेत्र, सरसफाई, खोनपानीको समस्यालाई समाधान गरी उचित क्षेत्र छनोट गरी मेडिकल कलेज स्थापना गर्न पहल थाल्नुपर्ने वताएका थिए ।