अहिले महाभूकम्प आए पछि र त्यसको पाराकम्पनहरु निरन्तर गईरहे पछि मानिसहरुमा ठूलो मानसिक आतंक सिर्जना भएको छ । धेरै मानिसहरु भूकम्पका कारण मानसिक रुपमै पनि विरामी परेको कुराहरु आएका छन् । वास्तवमा भूकम्पले मानिसको मस्तिष्कमा नकारात्मक उर्जा वृद्धि भएको छ । जतिखेर पनि भूकम्पको सन्त्रासले निकै मानिसहरुले त उपत्यका पनि छाडेका छन् । यस्तो अवस्थामा आफूलाई सही रुपले मानसिक रुपमा पनि स्वस्थ्य राख्दै कसरी अगाडी बढ्नु उपयुक्त होला त ? मिर्मिरेका लागि सिर्जना तिम्सिनाले वीरेन्द्र सैनिक अस्पताल छाउनी र अल्का अस्पताल जावलाखेलमा कार्यरत मनोरोग विषेशज्ञ डा. प्रदीप पाण्डेसग‘ गरेको कुराकानीः
भूकम्प पछि तरगिंत मानिसहरुमा के के लक्षण देखिएको हुन सक्छ , यो कस्तो समस्या हो ?
भूकम्प आएकोे दिन अलिकति चक्कर लागे जस्तो हुने , टाउको दुखेको जस्तो हुने, उल्टी आउने अत्यास लाग्ने हुन्छ । यो केही दिन या एक साता सम्म हुन सक्छ । तर यो लक्षण आउदा कोही पनि मानसिक रोग लागी हाल्यो भन्ने अवस्था हुदैन । यो सामान्यतया जसलाई पनि हुन्छ । यसलाई हामी एक्युट स्ट्रेस रियाक्सन भन्छौ । कुनै पनि ठूलो तनाव आईसके पछि अत्यास लाग्ने, डर लाग्ने , मुख सुक्ने ढुकढुकी बढ्ने , हातहरु काप्ने, केही हुन्छ कि म मर्छु कि जस्तो हुन्छ । यी खालका लक्षणहरु सामान्य हुन् । तर यसले गर्दा रातभरी निदाउनै नसक्ने , अरुलाई भन्दा धेरै डर लाग्ने र दैनीकी कृयाकलापहरु नै गर्न सकिरहेको छैन भने चिकित्सकसग‘ परामर्श लिनु पर्ने हुन सक्छ । डर सामान्य हो तर ईनर्जि नहुने , काम गर्न नसक्ने हो भने डाक्टरसग‘ सल्लाह लिनु पर्छ जसले गर्दा अहिलेको डर कम हुन सहयोग पुर्याउछ । दोस्रो कुरा भविष्यमा गएर हुन सक्ने खतरा जस्तै पछि धेरै मानिसको डर हराउदै जान्छ तर १० देखि १५ प्रतिशत मान्छेहरुको समस्या जटिल हुन सक्छ । अहिले सम्म डेढ देखि २ लाख सम्म मानिसमा प्रभाव पारेको छ भने १५ देखि २० हजार मानिसहरु मानसिक समस्याबाट प्रभावित हुन सक्छ । यसलाई अहिले नै परामर्श गरी समाधान नगरे भविष्यमा ठूलो विकराल मानसिक समस्या निम्त्याउने संभावना प्रवल छ । त्यसैले मिलेसम्म समस्या भएका मानिसहरुले परामर्श लिनु पर्छ ।
जब भूकम्प आयो त्यस पछि धेरै जनामा आत्तिएर छाती दुख्ने लगायतका समस्या आएको पनि भनेको सुनिएको छ , यसले असर गर्छ कि गर्दैन ?
यो एङजाईटी अर्थात् छटपटिको समस्या हो । यसमा सामान्यतया छाती गहु्रगो भए जस्तो हुने , अप्ठ्यारो हुने , छाती दुख्ने मुटु ढुकढुक गर्ने भए पछि मुटुरोग विषेषज्ञतिर जाने जस्ता समस्या देखिन्छ । यीनै लक्षणहरु तीन चार दिन सम्म हुदा सामान्यतया आत्तिनु पर्दैन । तर यो बढ्यो भने चिकित्सकको परामर्श लिएमा तुरुन्तै राम्रो अवस्थामा आउन सकिन्छ । नत्र भने आफै कोसिस गर्दा पनि पाच सात दिनमा आफै हराउन सक्छ । घर परिवारको अवस्था खानपिनमा ध्यान दिने , शारिरीक व्यायम , योगहरु गर्ने आदि गर्यौ भने पनि हामीलाई यसले मद्धत पुर्याउछ ।
बच्चाहरुमा पनि केही समस्या देखिएको छ भूकम्प पछि । झोक्राएर बस्ने खाना नखाने जस्ता समस्या बच्चाहरुमा पनि देएिको छ यसको लागि के गर्ने होला ?
हामीले जुन तनावका समाचारहरु थेग्न सक्छौ त्योे केटाकेटीहरुमा कम हुन्छ । अहिले भूकम्पको समाचारहरु हेर्ने गर्दछौ यति मान्छे मर्यो , यो घर ढल्यो आदि । त्यसैले केटाकेटीहरु भएको ठॉउमा त्यस्ता समाचार नलगाउने, मान्छे निकालेको, घरहरु भत्किएको दृष्यहरु केटाकेटीहरुलाई नदेखाउने र छलफलहरु गर्दा फेरी भूकम्प आउछ , फेरी यति मान्छे मर्छ भनेर नेगेटिभ कुरा गर्नु भन्दा उनीहरुलाई रिक्रियसनल एक्टीभिटिज तिर लैजादा राम्रो हुन्छ । आर्टहरु गर्न लगाउने, संगितमा व्यस्ता राख्ने, खेलकुदलाई महत्व दिने र अभिभावक आफैले आफ्ना छोरा छारीलाई सुरक्षित ठाउमा घुमाउन लैजानु उपयुक्त हुन्छ । यसरी सकारात्मक सोचको विकास गर्न सक्यो भने यसले उनीहरुलाई मानसिक रुपमा बालियो बनाउन मदत गर्छ ।
अब कुरा गरौं साईकेट्री अर्थात मनोरोग भनेको के हो ? धेरैले यस्ता रोगीहरुलाई पागल भन्छन् नि ?
साईकेटी भन्नाले पागल त पर्छन तर तिनीहरु मात्र हैनन् । साईकेट्री भन्नाले काही न काही माईन्ड र व्रेनसग‘ अन्तर सम्बन्धित हुन्छ र यस सग‘ अन्तरसम्बन्ध हुने गरेर एङजाईटी (छटपटि) को समस्या, डिप्रेसनको समस्या, निन्द्रा नलाग्ने समस्या साथै गाजा, चरेस, चुरोट पिउने समस्या , मिर्गि, लामो समय सम्म टाउको दुख्ने, व्यक्तित्वमा समस्या जस्ता समस्याहरु यस भित्र पर्दछन् । त्यसैले जुन विरामी आए पनि पागलपनको औषधी दिएर उपचार गर्ने होईन उनीहरुको समस्या अनुसार उपचार हुन्छ ।
आम मानिसमा पागलपनै हो भनेर त्यसको औषधी दिन्छ भनेर मानिसहरु कतिपय यस्ता समस्याहरुको उपचारमा जान डराएको पनि देखिन्छ, यसलाई कसरी छुट्याउन सकिन्छ ?
यो मनोरोग चाही हो तर पागलपन र छटपटिको समस्या फरक हो । अहिले भूकम्प आईसके पछि धेरैलाई डर लाग्ने , आत्तिने , छटपटि हुने निन्द्रा नलाग्ने, अत्यास लाग्ने, ढुकढुकी बढ्ने पशिना आउने भएको छ । यो सामान्य एङजाईटीको समस्या हो । यस्तो समस्या करीब १०० मा ४० प्रतिशत जति मान्छेमा हुन्छ भन्ने रिसर्चहरुले देखाएका छन् । तर साईकोसिस् अथवा पागलपनका समस्याहरु भनेको बाटोमा हिड्दा कपडा च्यात्तिएको मान्छे , चप्पल नलाई हिड्ने मान्छे , एक्लै बर्बराई रहने मानिस पर्दछन् । त्यसैले ती खालका मानिसहरु जसले अरुमाथि गलत व्यवहार गरेको थाहा पाउदैनन् , आफूलाई सही हिसाबले मुल्याङ्कन गर्न सक्दैनन् जसलाई म विरामी छु भन्ने ज्ञान नै हुदैन ती मानिसहरु पागलपनका सिकार भएका हुन् । त्यसैले यो समस्या र बाँकी मानसिक समस्याहरु भिन्दै हुन् ।
पछि गएर सामान्य निन्द्रा नलाग्ने , डिप्रेसनका समस्याहरु भएका मानिसहरुमा निको भएन भने पछि पागलपनको समस्या आउने खतरा हुन्छ कि हुदैन ?
एङजाईटी र डिप्रेसन पनि मानसिक रोग नै हुन् तर सबै डिप्रेसनका बिरामीहरु पागलपनको सिकार हुदैनन् । यदी लामो समय सम्म उपचार भएन भने यो डिप्रेसनको समस्यामा उदासीपन हुने , एक्लै बस्ने , नरमाईलो लाग्ने , दिक्क लाग्ने, कान बज्ने , आत्महत्या गर्ने, बाच्न मन नलाग्ने जस्ता समस्याहरु बढ्दै गएर पछिल्लो समय पागलपनको समस्या आउन सक्छ । यो समस्याहरु ६ महिना देखि एक वर्ष सम्म उपचार गरिएन, घरका मान्छेहरुले वास्ता गरेनन् र यस्तै त हो नि भनेर बसिरह्यो भने चाही‘ पछि गएर पागलपनको शिकार हुन सक्छ ।
जो सामान्य तपाईले भन्नु भएको विरामीहरु छन् तीनीहरुलाई यो भूकम्पले कसरी प्रभाव पारेको होला,यसले विकराल रुप लिन सक्छ कि सक्दैन ?
अहिले केही समस्या देखिएको छ । जस्तै अल्का अस्पताल, आर्मी अस्पताल जहा मैले काम गरीरहेको छु , ती ठॉउमा आउने विरामीहरु पनि मेरो समस्या बढ्यो, विमारी बढ्यो भन्नु हुन्छ । किन बढ्यो त भन्दा खेरी दवाई घरमा थियो , भूकम्पले गर्दा घर नै पुरियो दुई हप्ता सम्म औषधी खान पाईन त्यस कारणले बल्झियो भन्ने छ । त्यो बाहेक अहिले जुन महाभूकम्प आयो त्यो आफैमा एउटा तनाव हो र यो सग‘सगै कुनै व्यक्तिले आफ्ना परिवारको सदस्या गुमाउनु , कोहीलाई चोटपटक लाग्नु, कसैको घरै भत्किनु पनि तनावहरु हुन् । जसको कारणले गर्दा मानसिक समस्या बढेको देखिनछ । पहिले देखि नै मन कमजोर भएका व्यक्तिहरुलाई अहिलेको परिस्थितिले झनै तनावग्रस्त बनाएको देखिन्छ ।
कहिले काही मानिसहरु नराम्रो सपना देखे भनेर उठेर आत्तिने अरुलाई बताउने र तनाव लिने गरेको पनि देखिन्छ , के यो पनि मानसिक समस्या हो ?
हाम्रो ब्रेनमा सिग्मोन्ड फ्राईड भन्ने मनोविदले भने अनुसार कन्सियस , प्रिकन्सियस र अन्कन्सियस मार्ईन्ड गरेर तीन वटा दिमागका तहहरु हुन्छन् । यसै अन्तर्गत कस्तो हुन्छ भने हाम्रो दैनिक जीवनमा हामीले विहान देखि बेलुका सम्म के के कामहरु गर्यौ , काम गर्दै जादा कहिले काही हामीले नचाहेका जस्ता काम पनि भएका हुन सक्छन् , कसैले हामीलाई गाली गरे पनि होलान् कहिले हामीले नचाहदा नचाहदै पनि गाली गर्यौ होला । यी खालका तनावहरुलाई हामीले सही तरीकाले सम्हाल्न सकेनौं भने ती कुराहरु तल्लो तह अर्थात अचेतन मनमा गएर बस्छन् । तल्लो तहमा गएर बसेका त्यी तनावहरु कुनै तरिकाबाट निस्कन चाहन्छन् सजिलो तरीकाले निस्कियो भने त ठिकै हुन्छ तर भएन भने ती तनावले सपनाको माध्यम लिन्छन् । सपना भनेको झ्याल जस्तै हो । मनमा गुम्सिएर रहेका कुराहरु , आत्तिएका कुराहरु जसलाई सेयर गर्न सकिदैन, ती कुराहरु सांकेतिक रुपमा सपनामा देखिन्छन् । त्यस कारण कुनै नराम्रो सपना देख्दा डराउनु पर्दैन । यसले हाम्रो जीवनमा व्यक्तिगत रुपमा खासै असर पार्दैन । तर अर्को दिन उठ्दा खेरी हामीले सपनालाई कसरी हेर्छौ भन्ने कुरा महत्वपूर्ण छ । गाउ घरमा सपनाहरुलाई विभिन्न तरीकाले विष्लेषण गर्ने चलन छ । तर सपनालाई हामीले कसरी व्याख्या गर्छौ , आज यस्तो सपना देखे भन्दा यस्तो हुन्छ , उस्तो हुन्छ भन्ने कुरा गर्दा खेरी कसैले शुरुमै नेगेटिभ आईडिया दिदा नराम्रो हुन पनि सक्छ । कसरी लिनु पर्यो भने तनावहरु थियो मैले त्यसलाई व्यक्त गर्न नसकेको कारण सपनाको माध्यम लिएर निस्किएर गयो । अब मलाई ठीक छ भनेर आशाबादी हुन सकियो भने यसले हामीलाई असर पार्दैन ।
तपाईले उपचारको क्रममा लामो समय लाग्ने कस्तो कस्तो समस्या देख्नु भएको छ ?
भावनाहरु सामन्य अवस्थामा, डिप्रेसनमा र मेनियामा गरी तीन अवस्थामा हुन्छन् । मन कमजोर हुदै गए पछि सामन्य अवस्थाबाट तलतिर जाँदा त्यसलाई हामी डिप्रेसन भन्छौं र अर्को जब मन चाहीने भन्दा खुसी हुन्छ त्यसलाई हामी मेनिया भन्दछौं । डिप्रेसन र मेनिया दुबै मन एक ठॉउमा नबसेर कहिले धेरै निराश हुने कहिले धेरै खुसी भएर मैले जे पनि गर्न सक्छु भन्ने सोच आउछ । डिप्रेसनमा कहिले मेरो जिन्दगी बेकार छ , म बाच्नुको कुनै अर्थ छैन भन्ने अनुभुति भईरहन्छ । यस्तो खालको लक्षणलाई वाई पोलार अफएक्टीभ डिजअर्डर भनिन्छ । यो सग‘सगै अर्को सिजोफ्रेनिया जुन पागलपनको समस्या हो । यी रोगहरु लामो समयसम्म रहने र उपचार पनि लामो हुन्छ ।
हामी मध्यमै कति यस्तै मानसिक समस्या भएर दवाई खाईरहेका मानिसहरु हुन सक्छन् तर समाजको डरको कारणले गर्दा हामी भन्न सक्दैनौं । हाम्रै परिवारमा, अफीसमा , कलेजमा यस्ता थुप्रै विरामीहरु हुनुहुन्छ । किन घरमा भन्नु हुन्न त भनेर सोध्दा घरको मान्छेलाई भन्यो भने घरकै मान्छेले नि हेप्ने, समाजले स्वीकार नगर्नेे , अफीसले नि निकाल्दिने यही कारणले गर्दा मानिसले आफ्न्त , गाउ समाजमा यो समस्या शेयर गर्नु नसक्ने अवस्था रहेको छ । यसले गर्दा उनीहरुको समस्या झन बढेको देखिन्छ । त्यस विषयमा समाज पनि सकारात्मक हुनु पर्दछ । यो पनि अरु जस्तै समस्या हो । दवाई खाए पछि राम्रो हुन्छ , उहाहरुलाई दवाईको अवस्था के छ मनको अवस्था के छ भनेर सचेत पार्ने हो भने विरामीहरुलाई अझ राम्रो हुन्छ ।
रातभरी सुत्न नसक्ने थकान महसुस हुने जस्ता समस्याहरु हुन्छन् नि के हो यो ?
हाम्रो दिमागको निन्द्राको दुई वटा तहहरु हुन्छन् । जसलाई र्यापीड आई मुभमेन्ट स्लीप र नन र्यापीड आई मोभमेन्ट स्लीप भनिन्छ । र्यापीड आई मोभमेन्ट स्लीप भनेको सामान्यतया पातलो निन्द्रा हो । पातलो निन्द्रा छ भने दशै घण्टा सुते पनि नसुत्या जस्तो लाग्छ । तर नन र्यापीड आई मोभमेन्टको चारवटा ग्रेड छन् त्यसमा तेस्रो र चौथोमा सुत्यौ भने गहिरो निन्द्र पर्दछ । अर्थात आज म एकदम राम्रो सग‘ सुते भने जस्तो हुन्छ । जस्तो भूकम्प आउदा धेरै मान्छे पालमा गएर सुत्यौं । त्यो बेला भूकम्प आउछ कि घर भत्किएर हामीलाई केही हुन्छ कि त्यो मनोत्रासले गर्दा खेरी हामी छटपटाएर बसेका थियौं र यो कुनै रोगले असर पारेको हैन । रातभरी सुत्न खोजेपनि डरको कारणले गर्दा निदाउन सकिदैन । यसले गर्दा बिहान उठ्दा थाके जस्तो हुने गले जस्तो हुने , मन कमजोर हुने हुन्छ । यस्तो पातलो निन्द्राको बेलामा बढी हामीले सपना पनि देख्दछौं तर अर्को गहिरो निन्द्रमा सपना देखिदैन ।