साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्से यस दिन भने बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक २७.१९ अंक बढेर २७०८.७० विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँबराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।