चालु आवको पहिलो ६ महिनामा साढे १० खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आावको पहिलो ६ महिनामा रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा ३९।१ प्रतिशतले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स ४।२ प्रतिशतले बढेको थियो । २०८२ पुस महिनामा १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो ।
पुस मसान्तसम्म भित्रिएको रेमिट्यान्स रकमलाई डलरमा गणना गर्दा ७ अर्ब ५० करोड डलर पुगेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२।३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष डलरमा रेमिटयान्स २।७ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो ।
त्यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७३३ रहेको छ ।