प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग

प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग

  • मङ्लबार, माघ १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ, १३ माघः निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिले माग गरेका छन् ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आज यहाँ आयोजना गरेको निजी क्षेत्रका छाता संस्थाहरूसँगको अन्तक्र्रियामा सहभागी वक्ताहरूले निर्वाचन आचारसंहिता पालना भएमात्र स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपामा निर्वाचन हुने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निर्वाचन आचारसंहिताको पूर्णपालना गराउन अनुगमनमा कडाइ गर्नुपर्ने र आचारसंहिता उल्लङ्घन भएको पाइएमा तत्काल कारबाहीको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । उद्योग क्षेत्रलाई व्यवस्थित निष्पक्ष र लगानीमैत्री बनाउन स्पष्ट सीमा र पारदर्शी लेखा प्रणाली आवश्यक भएको उहाँको विचार थियो ।

निर्वाचन आचारसंहिता पालना र मतदाता शिक्षाको लागि उद्योग क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको पनि अध्यक्ष अग्रवालले जानकारी गराउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन नीतिगत स्पष्टता र राजनीतिक स्थायित्व आवश्यक भएको बताउनुभयो । निर्वाचन सम्पन्न गराएर स्थिर सरकार बनाउन आवश्यक रहेको उहाँको धारणा थियो । निर्वाचनमा उम्मेदवारहरूले खर्च विवरण लिँदा पारदर्शी रूपमा बैंकबाटै कारोबार गर्ने व्यवस्था राम्रो भएकाले त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन पनि उहाँले माग गर्नुभयो । उद्योग वाणिज्य महासङ्घको केन्द्र र सबै शाखाहरूबाट पनि निर्वाचन आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषयमा प्रचारप्रसार गरेर निर्वाचन सम्पन्न गराउन आयोगलाई सहयोग गर्ने प्रतिबद्धता वरिष्ठ उपाध्यक्ष श्रेष्ठको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै मतदाता शिक्षामा आयोगले अझ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । त्यसका लागि आयोगलाई आवश्यक सहयोग गर्न आफूहरू पनि तयार रहेको उहाँले बताउनुभयो । बदलिँदो परिस्थितिमा निर्वाचन हुन्छ हुँदैन भन्ने अन्योलबीच निर्वाचन हुन्छ भन्ने वातावरण आयोगले बनाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले निर्वाचनको समयमा हवाई तथा स्थलमार्गबाट नेपाल भित्रने पर्यटकलाई होटल तथा गन्तव्यसम्म पुग्नका लागि सहज वातावरण बनाउने गरी सहयोग गर्न आयोगलाई आग्रह गर्नुभयो । गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि अन्तरराष्ट्रिय जगत्मा नै नेपालमा शान्ति पूर्ण रूपमा निर्वाचन हुन सक्दैन भन्ने भ्रम रहेको भन्दै उहाँले त्यस्तो किसिमका भ्रमलाई गलत सावित गर्नको लागि पनि निर्वाचनको समयमा आउने पर्यटकको उचित व्यवस्थापन आवश्यक रहेको र त्यसतर्फ आयोगले पनि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । निर्वाचनको समयमा आवश्यक सहयोग र समन्वय गर्न आफूहरू तयार रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

रेष्टुराँ तथा बार एसोसिएसन अफ नेपाल (रेबान) का अध्यक्ष सङ्घर्ष विष्टले निर्वाचन आचारसंहिता र मतदाता शिक्षाका विषयमा आयोगलाई आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताउनुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइले निर्वाचनको समयमा नेपाल आउने पर्यटकलाई व्यवस्थापन गर्न निर्वाचन आयोगले सहजीकरण गर्नुपर्ने बताउनुभयो । निर्वाचनसम्बन्धी सकारात्मक सूचना विश्व बजारमा पुर्‍याउन पर्यटन व्यवस्थापन आवश्यक भएको उहाँले सुनाउनुभयो । निर्वाचन आचारसंहिता पालनामा संस्थाको फेसबुक एवं वेबसाइटमार्फत सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग भएको र समुदायलाई असर हुनेगरी ध्वनि प्रदूषण भएको विषयप्रति आयोगको ध्यानाकर्षण गराउनुभयो । साथै निर्वाचन आचारसंहिता पालनालगायत निर्वाचनसँग सम्बन्धित विषयमा सम्पूर्ण जिल्ला कार्यालय र वेबसाइटमार्फत सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

नेपाल उद्योग परिसङ्घका महानिर्देशक घनश्याम ओझाले सातै प्रदेश र जिल्लामा निर्वाचन आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महिला उद्यमी महासङ्घका मल्लिका श्रेष्ठले मतपत्रको नमूना निकाल्न राजनीतिक दललाई दिँदा राजनीतिक दलहरूले आफ्नो निर्वाचन चिह्नमा छाप लगाएको मतपत्र मतदातासमक्ष देखाउने गरेको जसको कारण केही मतदाता अन्योलमा समेत पर्ने गरेकाले आयोगले नै मतपत्रको नमूना निकाल्नुपर्ने सुझाव दिनुभयो । निर्वाचनको समयमा महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले महिलाहरूको लागि निर्वाचनसम्बन्धी चेतनामूलक कार्यक्रम आवश्यक रहेको पनि बताउनुभयो । सो अवसरमा आयोगका सहसचिव ज्ञानहरि घिमिरेले निर्वाचनको तयारी र हालसम्म भए गरेका कामका बारेमा प्रस्तुति गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी