साताको दोस्रो कारोबार दिन नेप्सेमा सामान्य करेक्सन भएको छ। अघिल्लो कारोबार दिन उच्च अंक बढेको नेप्से, यस दिन अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा सामान्य करेक्सन भएर बन्द भएको हो।
सोमबार नेप्से परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १३ अर्ब ७८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ स्टकको १ लाख ४७ हजार ६७६ पटकको कारोबारमा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँबराबरको ३ करोड ६२ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ट्र्ेड टावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन घटेका स्टकहरुको मूल्य गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ९३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।