तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

  • बुधबार, पुस २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

मुस्ताङ, २३ पुसः यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरलानाकास्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालवाहक कन्टेनर न्यून भएको हो । सो कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालवाहक कन्टेनर हाल भन्सार कार्यालयमा आठ–दशवटा मात्र जाँचपासका लागि ‘पेन्डिङ’मा रहेका बताउनुभयो । भन्सार जाँचपासका लागि पेन्डिङमा रहेका कन्टेनरबाहेक कोरलानाकाबाट थप कन्टेनर भन्सार कार्यालयमा नआएको सूचना अधिकारी सिंहको भनाइ छ । ्

यसअघि तातोपानी र रसुवागढी नाका नखुल्दा दैनिक १५–२० वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुने गरेकामा हाल त्यो सङ्ख्या लगभग पूरै घटिसकेको सूचना अधिकारी सिंहको भनाइ छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाकाबाट भित्रिएका मालवस्तुको भन्सार जाँचपास हुँदा साढे पाँच अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भइसकेको छ । कोरलानाकाबाट हालसम्म ११ अर्ब बढीको मालवस्तु आयात भएको र नेपालबाट रु १९ करोड बढीको हस्तकला तथा नेपाली उत्पादन मालवस्तु चीनतर्फ निर्यात भएको उहाँको भनाइ छ ।

सूचना अधिकारी सिंहका अनुसार हालसम्म कोरलानाकाबाट दुई हजार १०० बढी विद्युतीय कार चीनबाट नेपाल भित्रिएका छन् । पछिल्लोपटक बिवाइडी कम्पनीले झन्डै ५०० बढी विद्युतीय कार कोरलानाकाबाट नेपाल भित्र्याएको छ । कोरलानाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोग ल्याएको र तातोपानी नाका र रसुवागढी नाका खुलेपछि यहाँ आयात–निर्यात कारोबार घटेपछि भन्सार कार्यालयका कर्मचारी फुर्सदिला भएका छन् । यो नाकाबाट सामान ढुवानी गर्दा आर्थिक भार बढ्ने भएकाले आयात–निर्यातको परिमाण न्यून भएको हो ।

प्रमुख सिंहले तातोपानी र रसुवागढी नाका खुले पनि यहाँको भन्सार कार्यालयबाट प्रतिकूल मौसमबाहेक अन्य समयमा आयात–निर्यात कारोबार शून्य नहुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो “रसुवागढी र तातोपानी नाका बन्द हुँदाजस्तो आयात–निर्यात त नहोला, तर कतिपय व्यापारीका लागि यहाँको कोरलानाकाबाटै आयातनिर्यात गर्न सहज हुन्छ । यसैले विगतका वर्षजस्तो यहाँको भन्सार ठप्प भन्ने हुँदैन ।”

यतिबेला कोरलानाका र भन्सार कार्यालयमा चहलपहल घटेको छ । प्रतिकूल मौसमका बाबजुद भन्सार कार्यालयमा केही कर्मचारीले कार्यालय धानेर बसेका छन् । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा व्यापार गरेर बस्ने व्यापारी, चिनियाँ भन्सारबाट मालवाहक कन्टेनर र विद्युतीय सवारी चलाएर बाहिर निकाल्ने स्थानीय युवाहरू पनि नाकाको चहलपहल घटेपछि जाडो छल्न बेँसी झरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी