देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल

देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल

  • मङ्लबार, पुस २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, २२ पुस : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकभित्रको आर्थिक गतिविधिलाई संरक्षण र सुरक्षा प्रदान गर्दै देशको अर्थतन्त्र सुधार गर्नुपर्ने वर्तमान आवश्यकता भएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा सशस्त्र प्रहरीको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रण गर्न अन्तर निकायमा भए गरेका कमीकमजोरीलाई सुधार्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले कुनै एकल निकायको प्रयासले मात्र राजस्व चुहावट नियन्त्रण गर्न सम्भव नहुने हुँदा सम्बन्धित सरोवाला निकायहरूको संयुक्त प्रयासले लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो । राजस्व चुहावट नियन्त्रणका लागि कुनै पनि कार्य गर्दा नागरिकलाई दुःख नहोस् भन्ने कुरामा समेत ध्यान दिन जरुरी रहेको अर्थमन्त्री खनालले बताउनुभयो ।

बैठकमा अर्थसचिव डा घनश्याम उपाध्यायले राजस्व चुहावट नियन्त्रण कार्य सबैको साझा दायित्व रहेको उल्लेख गर्नुभयो । उहाँले सीमित साधनस्रोतका बाबजुत पनि अधिकतम परिचालन भई परिणाम हासिल गर्नुपर्ने हालको अवस्थामा प्राप्त जिम्मेवारीलाई थप प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी राजस्व सचिव भुपाल बरालले खुला सिमानाका कारण शान्ति सुरक्षा र राजस्व सङ्कलन दुवैमा चुनौती रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सीमा क्षेत्रमा रहेका गोदामलाई सीमाबाट निश्चित दूरीमा राख्नुपर्ने तथा बजार अनुगमनलाई तीव्र बनाउनुपर्ने साथै सीमानाकाबाट बरामद भएका अवैध सामानहरूको सहज रूपमा लिलाम प्रक्रिया अघि बढाउन जरुरी रहेको बताउनुभयो ।

त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राजस्व चुहावट नियन्त्रणमा खटिने सम्पूर्ण कर्मचारीहरू आपसी समन्वय र सहकार्यकासाथ परिचालन भएमा मात्र राजस्व सङ्कलन तथा चुहावट नियन्त्रण परिणाममुखी हुने र सीमानाकाबाट आवतजावत गर्नेहरूको समेत अभिलेख राख्न जरुरी रहेको बताउनुभयो । उहाँले राजस्व चुहावट नियन्त्रण कार्यमा खटिने निकायहरूले एकले अर्कालाई दोषारोपण गरेर मात्र समस्याको समाधान नहुने तथा लक्ष्यमा पुग्न नसकिने बताउँदै सीमित स्रोतसाधनका बाबजुत राजस्व सङ्कलन र चोरीपैठारी नियन्त्रण गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी