रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

  • बिहिबार, पुस १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

भक्तपुर, १७ पुसः आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन् ।

विदेशी मात्र नभई आन्तरिक पर्यटकको बढ्दो चापले व्यवसायीहरू उत्साहित भएका हुन् । भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटक भरिएका छन् ।

केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नंं ८ सिपाडोलको संङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटलहरू आन्तरिक पर्यटकले भरिएका छन् । पर्यटन व्यवसायी एवं भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले रातभरि नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न यहाँ स्वदेशी पर्यटकको घुइँचो लागेको बताउनुभयो ।

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलाको समेत अवलोकन गर्न सकिन्छ ।

पर्यटन व्यवसायी बकेले भन्नुभयो, “रानीकोटबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ«े, गौरीशङ्कर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिन्छ । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकले यहाँका होटल भरिएका छन्, व्यवसायीहरु उत्साहित छौँ ।”

सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुट, सर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटो दूरीको सडकका कारण पनि रानीकोटमा पर्यटक आवागमन सहज भइरहेको छ ।

अङ्ग्रेजी नयाँ वर्षको भीडले पर्यटन व्यवसायीलाई ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेँ भन्नुहुन्छ, “पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नु अगाडि बनाएको गढी र पछि मल्ल राजाहरूले रानीका लागि दरबार बनाएपछि रानीकोट नाम रहेको यो क्षेत्र ऐतिहासिक रूपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो । यहाँबा देखिने हिमाल र सूर्योदयले १२ महिना पर्यटकको आकर्षण बढ्न थालेको छ, नयाँ वर्षमा त झन् खचाखच हुने गरेको छ ।”

‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथ पनि आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसायमा उत्साह थपेको बताउनुहुन्छ । अङ्ग्रेजी नयाँ वर्षमा यहाँको होटल खचाखच भएको उहाँले बताउनुभयो ।

रानीकोट रिसोर्टका सञ्चालक नारायण श्रेष्ठले नयाँ वर्ष मात्रै नभई बिदाका दिनमा पनि यहाँ कोठा पाउन मुस्किल हुन थालेको बताउनुभयो । पिकनिकदेखि एकरात बस्न आउने पारिवारिक जमघट, विभिन्न निकायका कार्यक्रमलगायत आन्तरिक पर्यटकको आगमन बढ्दै गएको उहाँले बताउनुभयो ।

भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिभराउ भएका छन् । २०२५ को बिदाइ गर्दै २०२६ को पहिलो सूर्योदय र यहाँका हिमाली दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकले नगरकोटका आकर्षण थप बढाएको होटल व्यवसायी एवं होटल चौतारीको सञ्चालक बद्री माक बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विदेशी पर्यटकको चाप पनि बढेको छ, स्वदेशी पर्यटकको चाप पनि उस्तै छ । अङ्ग्रेजी नयाँ वर्षमा करिब ५० प्रतिशत विदेशी पर्यटक र ५० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटल भरिएका छन् ।”

पछिल्लो समय सामान्यदेखि फाईभ स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटककै चाप बढेपछि व्यवसायीहरू उत्साहित छन् । यहाँ थप होटल खुल्ने क्रम पनि जारी छ ।

होटल पिसफुल नगरकोटका सञ्चालक रामशङ्कर ध्वजु चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मजा लिन यहाँ पर्यटकको आगमन बढ्दा निकै खुसी थपेको बताउनुहुन्छ । यसपटक विगत वर्षको तुलनामा पर्यटकको आगमन बढेको उहाँले जानकारी दिनुभयो ।

होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने भन्नुहुन्छ, “मैले होटल क्षेत्रमा काम गरेको २५ वर्ष भयो । कोरोनापछि होटल व्यवसाय अब त उठ्न सकिँदैन कि भन्ने लागेको थियो, तर नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि नै सबै होटल बुक हुन थालेका छन् । स्वदेशी पर्यटकको आगमन पनि बढ्दै गएको छ । यसले उत्साह थपिएको छ, अब केही हुन्छ भन्ने आशा जागेको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी