चैत्र ११ काठमाण्डौँ । नेपालको भौगोलिक वनावट अनुसार यसको क्षेत्रफल मध्य ६८ प्रतिशत पहाडी भूभाग पर्दछ । १७ प्रतिशत तराईले ओगट्दा १५ प्रतिशत हिमाली क्षेत्र पर्दछ ।
तर तराईका २२ जिल्लाको जनसंख्या १ करोड ५६ लाख ३४ हजार देखिन्छ । जुन कुल जनसंख्याको ५३.६१ प्रतिशत हो । पहाडमा ४०.३१ प्रतिशत अर्थात् १ करोड १७ लाख ५७ हजार र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत १७ लाख ७२ हजार मात्रै जनसंख्या रहेको छ ।
पछिल्लो १० वर्षमा सबैभन्दा धेरै जनसंख्या बढ्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका पहिलो स्थानमा छ । कागेश्वरी मनोहराको जनसंख्या २०६८ को भन्दा दोब्बरले बढेको छ । २०६८ मा ६० हजार २३७ रहेको यहाँको जनसंख्या २०७८ मा १ लाख ३० हजार ४३३ पुगेको छ ।
त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाको जनसंख्या पनि करिब दोब्बर बढेको छ । २०६८ मा ६२ हजार १७२ रहेको यहाँको जनसंख्या २०७८ मा १ लाख २३ हजार ११६ पुगेको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिकामा २०६८ मा ८१ हजार ४४३ जनसंख्या रहेकामा २०७८ मा १ लाख ५१ हजार ४७९ पुगेको छ । काठमाडौंको नागार्जुन नगरपालिकामा २०६८ मा ६७ हजार ४२० रहेको जनसंख्या बढेर २०७८ मा १ लाख १५ हजार ४३७ पुगेको छ ।
सरकारले २०७३ सालमा स्थानीय तह पुनर्संरचना गरेर ७५३ स्थानीय तह निर्माण गर्दा २९३ वटा नगरपालिका तोकेको थियो । कतिपय ग्रामीण क्षेत्रलाई पनि समेटेर नगरपालिका बनाइएको थियो । तर पहाडी क्षेत्रका नगरपालिकाबाट समेत बसाइसराइ अत्यधिक रोकिएको छैन ।
जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने पाँच जिल्लाहरुमा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् । सबैभन्दा बढी रामेछापमा वार्षिक जनसंख्या वृद्धिदर माइनस १.६७ प्रतिशत छ । खोटाङमा माइनस १.५६, मनाङ र भोजपुरमा समान माइनस १.३९ तथा तेह्रथुममा माइनस १.३० प्रतिशत छ ।
यसले पहाडी जिल्लाबाट अत्याधिक मात्रामा तराईमा वा शहरमा बँसाई सरेका कारण यो रिणात्मक देखिएको स्पष्ट छ । पहाडी जिल्लाहरुमा शहरीकरण, एकीकृत बस्ती, स्वास्थ्य, शिक्षा र रोजगारीको पर्याप्त अवसर सृजना गर्न नसके आगामी दशक अझै कहाली लाग्दो हुन सक्ने जोखिम देखिएको छ ।