धरान ,पुस ६ ।
धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटी सुनसरीको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ ।
रगत अभाव हुँदा प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी समस्यामा परेका छन् । प्रतिष्ठानमा दैनिक ५० देखि ६० पिन्ट रगत खपत हुने गरेको केन्द्रले जनाएको छ ।
प्रतिष्ठानमा रगत अभाव हुँदा केही दिनदेखि बिरामीका आफन्तबाट नै सट्टा भर्ना गर्नुपर्ने भएपनि कतिपय अवस्थामा ग्रुप नमिल्दा समस्या आउने गरेको रक्तसञ्चार केन्द्रका कर्मचारी सानुबाबु थापाले बताउनुभयो ।
केन्द्रमा ओ पोजेटिभ, एबी पोजेटिभ र बी पोजेटिभ गु्रपका रगत शून्य रहेको छ । अन्य गु्रपका रगत समेत थोरै भएका कारण समस्या भएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
कतिपय जटिल शल्यक्रियामा बिरामीको रगत समूह अनुसारको रगत अनिवार्य चाहिने भएपनि अभावकै कारण त्यस्ता विरामीको शल्यक्रिया समेत सार्नु परेको प्रतिष्ठानका एक शल्य चिकित्सकले बताए ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले निर्वाचनका अवधिमा सबै मानिस निर्वाचनमै केन्द्रित भएको र अत्याधिक बढेको चीसोका कारण रक्तदान कार्यक्रम हुन नसक्दा रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सट्टाभर्ना गरेर भएपनि बिरामीलाई रगत उपलब्ध गराउने प्रयास भएको छ ।’ उहाँले विभिन्न संघ संस्थालाई रक्तदान कार्यक्रम गर्न पत्राचार गरेको समेत जानकारी दिनुभयो ।
पुष ८ गतेदेखि लगातार रक्तदान कार्यक्रम हुने भएकोले रगतको अभाव हट्ने उहाँको भनाई थियो । यसैबीच प्रतिष्ठानमा उपचार गर्न आउने बिरामी रगत कै अभावले मृत्यु हुनु नपरोस भनेर चिकित्सा शाास्त्रका विद्यार्थीहरुको समुह विपिकेआइएचएस व्लड डोनेसन कमिटीले जुनसुकै समयमा समूह मिल्ने बिरामीलाई रगत दिने बताएको छ ।
कमिटीका पूर्व अध्यक्ष विमल देओले प्रतिष्ठानमा उपचार गर्न आउने कुनै पनि बिरामीले रगतको अभावमा मृत्युवरण गर्नु नपरोस भनेर संस्था गठन गरेको बताउनुभयो ।
उहाँले प्रतिष्ठानमा करीब १५ सय विद्यार्थी रहेकोमा सबैको सम्पर्क नम्बर सहित रक्त समूह बनाएको र रेडक्रस वा कसैले रक्तदानका लागि अनुरोध गरेमा तत्काल सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कहिले कांही रगत अभाव हुन्छ । कतिपय बिरामीलाई रगत चाहिएपनि चाहेको रक्त समुहको रगत रक्तसञ्चार केन्द्रमा नहुँदा हामीले मासिक रुपमा कम्तिमा ७० पिन्ट रगत दान गर्ने गरेका छौं ।’