प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि भोलि सिंगापुर जाँदै


काठमाडौं, भदौ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को निर्वाचन निकै कडा हुने भन्दै अहिलेदेखि नै तयारी थाल्न विपक्षीहरुलाई चुनौती दिएका छन् ।आफू अझै १५ वर्ष निर्वाचनको अखडामा लड्न तयार रहेको बताउदै उनले आउँदो चुनावमा सामना गर्न तयार भएर बस्न चुनाैती दिएका हुन् ।

बुधबार गृह मन्त्रालयमा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई विरोधीहरुले ‘मरिहालोस्’ भनेको बताए ।विरोधीहरुको सोचप्रति कटाक्ष गर्दै उनले ‘बाँचोस्, मुकाबिला गर्छौैं’ भन्नुपर्नेमा ‘मरोस्’ भनेको टिप्पणी गरे ।

‘आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न म त्यस्तो चाहनेहरुलाई भन्न चाहन्छु, मरिगए हुन्थ्यो भन्ने चाहनेलाई’–उनले भने–‘आउँदो चुनाव ‘टफ’ हुनेछ । अस्तित्व रक्षाको लडाइँ अहिलेदेखि सुरु गरे हुन्छ ।’ सोही अवसरमा उनले आफू स्वास्थ्य परीक्षणका लागि बिहीबार (भोलि) सिंगापुर जान लागेको जानकारी दिए । उनले उपचारमा केही दिन लाग्ने बताउँदैै संविधान दिवसभन्दा अगाडि नै आइपुग्नेसमेत बताए ।संविधान दिवस असोज ३ गते मनाइने गरिन्छ ।

बुध, भदौ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया