बाढीपहिरो र डुबानबाट पीडितहरुको उद्धार तथा राहत कार्य उच्च प्राथमिकतामाः गृहमन्त्री थापा


काठमाडौँ, ३ साउन । गृहमन्त्री रामबहादुर थापाले बाढीपहिरो र डुबानबाट पीडितहरुको उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रस्तुत भएका सार्वजनिक महत्वका प्रस्तावमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिको विवरण सङ्कलन गरी खोज, उद्धार तथा राहत वितरणको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको जानकारी दिए ।

गत असार २६ गतेदेखिको अविरल वर्षाले ३४ जिल्ला प्रभावित भएका तथा हालसम्म ९० जनाको मृत्यु भएको, ४१ जना घाइते, २९ जना बेपत्ता र एक हजार ३०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । उनले प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायका ४१ हजार सुरक्षाकर्मी परिचालन भएका र आजसम्म तीन हजार ३६६ जनाको सकुशल उद्धार गरिएको र घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताए ।  प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनुका साथै बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको छ ।

उद्धारमा सम्बन्धित जिल्लास्थित सबै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायत विभिन्न सामाजिक सङ्घ संस्था परिचालन गरिएका गृहमन्त्री थापाले सदनलाई जानकारी गराए । विपद् न्यूनीकरण र व्यवस्थापनका लागि बाढी र वर्षाको पूर्व सूचना प्रणाली सक्रिय गराइएको छ भने सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सुसूचित गरिएको बताइएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र नेपाल टेलिकमको वैकल्पिक तरिकाबाट सञ्चार पर्वाह गरिएको छ ।

शुक्र, साउन ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार