पाँच कारणसहित सर्लाही हत्याकाण्डको नालीबेली


सर्लाही, लालबन्दी नगरपालिका १, लखन्तीमा असार ५ गते नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर, अङ्गभङ्ग बनाएर हत्या गरेपछि छेउमा कटुवा पेस्तोल राखी फोटो खिचेर त्यो फोटो केही आफूनिकट सञ्चारमा सुटुक्क सम्प्रेषण अथवा सार्वजनिक गरेको छ । घटना मात्र होइन, घटनाको प्रचारसमेत जनतामा भ्रमित जनमत निर्माण गर्ने उद्देश्यले योजनाबद्ध रहेको देख्न सकिन्छ । यहाँ घटनापछिका कारणहरूको विवेचना गर्ने प्रयास गरिएको छ ।

हाम्रो पार्टीले वली सरकार गठन हुनासाथ सरकारले कुर्सी जोगाउन ठूलाठूला राष्ट्रघात गर्ने र दलाल सत्ताको रक्षाका लागि फासिवादको अभ्यास गर्नेछ भनेका थियौँ । आज सरकारले राष्ट्रघात गरिरहेको, अर्को चुनाव खर्च जुटाउन भ्रष्टाचार गरिरहेको, फासिवादको अभ्यास गरिरहेको पञ्चायती शैलीका सुखानी अभियान पिस्कर–छिन्ताङ–जुगेडी हत्याकाण्डहरू दोहोर्याइरहेको आरोप प्रमुख प्रतिपक्ष, सत्तारूढ नेताहरू र नागरिक समाजले लगाइरहेका छन् । नेकपाको पूर्वअडान र दृष्टिकोणमा सरकारमा रहेको गिरोहबाहेक एकमत भएका छन् ।

क्रान्ति र समाज रूपान्तरणमा बल प्रयोगको सिद्धान्त आवश्यक छ कि छैन ? त्यसको स्वरूप केकस्तो हुने भन्ने विषयमा अलग्गै छलफल गर्नुपर्छ । यहाँ सरकार कसरी फासिवादतिर जाँदैछ भन्ने कुरा उठाउन खोजिएको छ ।

नेपालका आमनागरिकले परिवर्तनको चाहना राखेका छन् । जनयुद्धले त्यसप्रकारको चाहना जायज छ र सम्भव पनि छ भन्ने विश्वास अथवा जनमत बढाएको छ । त्यसैगरी देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढोस् र विदेशी शक्तिकेन्द्रको दादागिरी नहोस् भन्ने चाहना बुद्धिजीवी र देशभक्तहरूको छ । यो नेपालको जमिनी यथार्थ (ग्राउन्ड रियालिटी) हो । तर शासकहरू समाज परिवर्तनको चाहनालाई दबाउने कुचेष्टा गरिरहेका छन् । उनीहरूलाई विदेशीको आडभरोसा छ । जमिनी यथार्थको सम्बोधन नभएसम्म परिवर्तनको चाहनाको नेतृत्व नेकपाले नगरे अरू कोही आउँछ । वर्गसङ्घर्ष अगाडि आएन वा आउन सकेन भने साम्प्रदायिकता, जातिवाद, विखण्डन अथवा पश्चगमनले जनअसन्तोषको दुरुपयोग गर्न सक्छ । त्यसैले जनयुद्धले उठाएको समाज रूपान्तरणको चाहना पूरा नगरी राजनीतिक समस्या समाधान हुँदैन । ओली–प्रचण्डको विचार र राजनीतिले समस्या समाधान गर्दैन भन्ने कुरा पुष्टि भइसक्यो ।

काङ्ग्रेस–एमालेसहित पुरानो कुलीन वर्ग र सत्ताले प्रचण्ड–बाबुरामलाई सेवा–सुविधा दिएर आत्मसमर्पण गराउने, सङ्घीयता र गणतन्त्रको आडमा बसेर लुटको राज कायम राख्ने रणनीति लिएका छन् । त्यसमा शासक वर्गलाई पश्चिमी र भारत सरकारको समर्थन छ । शासक वर्गलाई विदेशीले जासुसी चिप्स राखेर मिति गुज्रेका हतियार दिएका छन् । त्यसैको आडमा वली–बादलमण्डली राजु घिमिरे र कुमार पौडेलहरूको हत्यामा उत्रिएको छ ।

हाम्रो पार्टीले दोस्रो संविधानसभा र त्यसपछिको चुनावमा बहिष्कार अभियान सञ्चालन ग¥यो । तर निर्वाचनको विरोधमा बोल्न, लेख्न, सभा गर्न अघोषित प्रतिबन्ध लगाइयो । नारा मेटियो । पोस्टर च्यातियो । चितवनमा बहिष्कारसभा चलिरहेको बेला कमरेड कञ्चनलाई मञ्चबाट घोक्र्याएर झारियो । देशभर त्यही गरियो । त्यसपछि बाध्य भएर नेकपाले चुनाव बहिष्कारमा साङ्केतिक बल प्रयोग ग¥यो । अरूण ३ र माथिल्लो कर्णाली आयोजना नेपाली पुँजी र प्रविधिमा बनोस् र ऋण लिनुपरे नेपालले नै लिनुपर्छ । हामीले भनेको त्यत्ति हो । एनसेलले कर तिर्नुपर्छ । धेरै महँगो भयो । टेलिकम क्रान्तिपछि पनि चाहिन्छ । डुबाउने षड्यन्त्र नगर । हामीले भनेको त्यही हो । तर दलालहरूको झुण्ड त्यसलाई अशान्ति देख्छ ।

            – अनिल शर्मा ‘विरही’

जनआवाज नसुनेपछि पार्टीले दलालहरूविरुद्ध सङ्घर्ष अगाडि बढायो । शान्तिपूर्ण सङ्घर्षकै क्रममा गतवर्ष विराटनगरको युवा सम्मेलनमा जाँदै गर्दा वंशीधर चोकबाट नेताहरू गिरफ्तार भए । त्यो शृङ्खला लगातार जारी छ । त्यसैबीच सरकारले नक्कली भिडन्तका नाममा हत्या गर्ने योजना बनाएको सूचना प्रवाह भयो । प्रचण्डका नेता कुशलले धरानमा पूर्वका अमूक नेताहरूलाई ‘इन्काउन्टरको समाचार सुन्न प्रतीक्षा गर’ भनेका थिए । वलीका लँगौटिया शेरधन राईले ‘पूर्वमा विप्लवको बिउ मास्ने’ उद्घोष गरेका छन् । यसैबीचमा भोजपुर हत्याकाण्ड, सर्लाही हत्याकाण्ड,सङ्खुवासभा–भोजपुर, कालीकोट अपरेसन तथा गोलीकाण्डका घटना भएका छन् । वली–बादल दलाल मण्डलीले गिरफ्तार गर्ने, यातना दिने, थकाउने–गलाउने र आत्मसमर्पण गराउने पहिलो रणनीति बनाएको छ । त्यसो गरेर नसकिने अवस्थामा नेताहरूको तालिका बनाएर ‘इन्काउन्टर’ भन्दै मार्दै गर्ने दोस्रो रणनीति बनाएको छ । कमरेड कुमारलाई गिरफ्तार गरेर आत्मसमर्पण गराउन सकिन्न भन्ने निष्कर्षका आधारमा बादल गृह प्रशासनले केन्द्रीय योजना अनुरूप हत्याको योजना बनायो । उसले कमजोर नाटक मञ्चन गर्यो । तर यो नाटक जनयुद्धको समयमा काङ्ग्रेस–एमालेको सरकारले प्रयोगमा ल्याएर असफल भइसकेको बासी रणनीति हो । प्रहरी पठाएर गिरफ्तार गराउने, नेता हिरासत–जेलमा गएर आत्मसमर्पणको कागजमा ल्याप्चे लगाउन लगाएर छुटाउने गरिएको छ । बाटो ढुकेर मार्ने, भिडन्तको समाचार र फोटोहरू बाँड्ने गरिएको छ । दबाब दिएर आत्मसमर्पण गरेको मान्छे पनि अपवादबाहेक सरकारको हुँदैन । हत्या गरेपछि त जनता, आफन्त, साथीभाइ बदलाको दिशामा डोलायमान हुन्छन् । यो शैली खुमबहादुर खड्का पूर्णबहादुर खड्काहरूले प्रयोग गरेर काङ्ग्रेसलाई डुबाएको कार्यशैली हो । त्यही शैली प्रयोग गरेर नेकपाका एकजना उदीयमान नेताको सर्लाहीमा वली–बादल मण्डलीले हत्या गरेको छ ।

कुमार पौडेल हत्याकाण्डका स्थानीय कारण पनि छन् । पहिलाे : बागमती नगरपालिकाका मेयर भरत थापा आपराधिक पृष्ठभूमिका भ्रष्टाचारी हुन् भन्ने आमगुनासो छ । सर्लाही पार्टीले उनका विरुद्ध सङ्घर्ष गरिरहेको छ । थापाले बागमतीको एकलौटी दोहन गरिरहेका छन् । २०५१ सालमा बूढी बागमती बरहथवामा पसेको थियो । अनियन्त्रित दोहनका कारण त्यही प्रकोप (बाढी) दोहोरिन सक्छ । जनता त्रसित छन् । तर जनतालाई बोल्न दिइन्न । घर बनाउन एक चिम्टी लग्न पाउन्नन् । बागमतीमा सर्लाही र रौतहटका अरू कुनै निर्माण व्यवसायीले काम गर्न, प्रतिस्पर्धासमेत गर्न पाउँदैनन् । बागमती नगरपालिकाका जनप्रतिनिधि, नेता, ठेकेदार सबै थापा आफैँ हुन् । नारायणकाजीको ढोकाबाट छिरेर प्रचण्ड पार्टीलाईसमेत पैसाले पुरेका थापाले प्रहरीलाई किनेर कुमारको हत्या गर्न उक्साएको बुझिएको छ । २०७५ चैत १ गते नेकपा सर्लाही जनपरिषद्द्वारा मेयर थापाको ज्यादतीका विषयमा जारी विज्ञप्तिमा भनिएको छ, उनी २०५६ सम्म सञ्जय साह (टक्ला) को सडक ढाटमा मासिक काम गर्ने कनिष्ठ कर्मचारी थिए । उनको पैत्रिक सम्पत्ति छ कट्ठा (अब्बल), १ बिघा २ कट्ठा बगर र एउटा काठेघर थियो । माओवादी पार्टीको निर्णय भनेर सञ्जय साहलाई दबाब दिएर गुन्डाहरूसँग मिलेर १ वर्षपछि २५ प्रतिशत सेयर हडपेका थिए । उनी तत्कालीन माओवादीमा प्रवेश गरी टक्लालाई धम्क्याएर सेयर लिन सफल भएका थिए । यसबीचमा थापाका काठमाडौँमा २ वटा पक्की घर, कर्मैयामा पेट्रोलपम्प, २ वटा भवन (७ कट्ठामा एउटा निर्माणाधीन), २ वटा क्रसर, निर्माण उद्योगका औजार (जेसीबी, ट्रक, स्काभेटर आदि), बागमती रेडियोमा अप्रत्यक्ष लगानी, १० बिघा खेत बटुलेका छन् । तर अख्तियारको रतन्धो रोगी आँखाले शक्तिशालीलाई देख्दैन । राजनीतिको आडमा थापाको कालो धन्दा चलाइराख्न नेकपा र कुमार पौडेललाई थापाले बाधक ठानेका थिए । विज्ञप्ति सार्वजनिक हुनासाथ कुमारलाई भेट्न थापाले आफ्ना नातेदारहरू र पार्टीका सबै स्रोत परिचालन गरेको सूचना कमरेड कुमारले पार्टीमा जानकारी गराउनुभएको थियो । तर पार्टीको निर्देशन नभएकाले भेट्नुभएको थिएन । भरत थापाको आपराधिक पृष्ठभूमिका सन्दर्भमा विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धमा कर्मैयाका लोकबहादुर प्रधान (लोकरोशन प्रधान) श्रेष्ठ मारिए । श्रेष्ठले पार्टीको हिसाबकिताब भरत थापालाई राख्न दिन्थे । त्यही रकम खानका लागि थापाकै सुराकीमा श्रेष्ठ मारिएको त्यस क्षेत्रका तत्कालीन माओवादीहरू बताउँछन् ।’ कुमार पौडेलको परिवार र सोही पार्टीका कैयौँ इमानदार स्थानीयले पौडेल हत्याकाण्डमा मेयर थापालाई जिम्मेवार ठानेका छन् ।

दाेस्राे, सर्लाहीमा सागरनाथ बन परियोजना नामको सुकुमबासी बस्ती छ । बन विभागको स्वामित्वमा रहेको उक्त जग्गाका सुकुमबासी र हुकुमबासीलाई बास र रोजगारको व्यवस्था गरेर आवश्यक परेमा स्थानान्तरण गर भन्ने हाम्रो धारणा कसरी गलत हुन्छ त ? तर राजनीतिक क्षेत्रका दलालहरूले सुकुमबासीलाई लखेट्न बारम्बार कोसिस गरिरहेका छन् । एकातिर दलाल राजनीतिककर्मी र प्रशासन अर्कोतिर सुकुमबासी र नेकपा छन् । पछिल्लोपटक गएको फागुनमा सुकुमबासी बस्तीमा आगो लगाएर लखेट्ने योजना बनेको सूचना पार्टीलाई उक्त परियोजनाका एकजना कर्मचारीले दिएका थिए । पार्टीको लगातारको दबाब र जनचेतनाका कारण फागुनको षड्यन्त्र पछाडि सरेको छ । जग्गा दलाल, राजनीतिक दलाल र प्रशासकहरू सुकुमबासी लखेटेर उक्त जग्गाबाट कमिसन सुनिश्चित गर्न चाहन्छन् । त्यसकारण नेकपालाई उनीहरूले अवरोध र बाधक ठानेका छन् । त्यसकारण सुकुमबासीका दुस्मनहरू पनि कुमार हत्याकाण्डमा संलग्न छन् ।

तेस्रो, कमरेड कुमारको राजनीतिक संलग्नता तत्कालीन एमालेको युवा सङ्गठनबाट सुरु भएर चुरेभाबर पार्टी हुँदै नेकपासम्म विकास भएको हो । कुमारमा जातीय भावनाका विरुद्ध वर्गीय भावना प्रबल थियो । मधेसी, थारू र पहाडी मूलका सबैजनामा राम्रो प्रभाव थियो । वैशाखको मध्यमा सर्लाहीमा भेट हुँदा उहाँले चुरेको बस्ती तल झार्ने र चुरेको बाढीपहिरो नियन्त्रण गर्नुपर्ने अन्यथा तराई पनि मरुभूमीकरण हुने विचार गम्भीरतापूर्वक राख्नुभएको थियो । उहाँ जातीय तत्वहरूको आँखाको कसिङ्गर हुनुहुन्थ्यो । जातिवादी हस्तक्षेप र धम्कीमा परेका समुदायले सर्लाहीमा कुमार पौडेललाई सम्झन्थे । त्यसकारण सर्लाही हत्याकाण्डमा जातिवादी तत्वहरू पनि संलग्न छन् ।

चौथो, कुमार पौडेल हत्याकाण्डमा विदेशी शक्तिकेन्द्रको दबाब आएको चर्चा छ । पहाडी मूलका नागरिकका बीचबाट स्वतन्त्र र देशभक्त चेतना भएका नेतालाई उठ्नै नदिने उनीहरुको पुरानै रणनीति हो । त्यसैगरी भारतीय मूलका व्यापारी र कालोबजार ीसमेत उक्त हत्याकाण्डमा उत्प्रेरक रहेको देखिन्छ । तराईमा वर्गसङ्घर्षको विकास हुन नदिने र उनीहरूका साम्राज्यवादी मालिकहरू उक्त अपराधमा संलग्न छन् । कमरेड ऋषि देवकोटा ‘आजाद’, सूर्यनाथ यादव, रामवृक्ष यादवपछि तराईमा त्यस्तै प्रकारको राजनीतिक हत्या भएको छ ।

पाँचौँ, गृहमन्त्री बादलले सुरुमा नेकपालाई अतिन्यूनीकरण गरे । चैत मसान्तभित्र समाप्त गर्ने घोषणा गरे । आत्मसमर्पण गराउने, राजनीतिक र आर्थिक शक्ति परिचालन गरेर घेरा कस्ने प्रयास गरे । एकातिर नेकपाको विस्तार नरोकिने भएपछि भित्रभित्रै फासिस्ट योजना बनाएको देखियो । त्यही षड्यन्त्र कार्यान्वयन गर्न र त्यसलाई पुष्टि गर्न अतिशयोक्तिपूर्ण प्रचार गर्न थाले । पलायन भएका व्यक्तिहरू, सञ्चारमा आएका सूचना र धारणाका आधारमा नेकपाले युद्धको घोषणा गरेझैँ प्रचार गर्न थाले । बादलको त्यसप्रकारको धारणाको पछाडि नक्कली भिडन्तको प्रचार गर्दै हत्या अभियान चलाउनु थियो । त्यो षड्यन्त्र भोजपुर हुँदै सर्लाहीसम्म पुगेको छ । राजनीतिक समस्याको शान्तिपूर्ण समाधानका लागि चौतर्फी दबाब सरकारलाई परिरहेको बेला यसप्रकारको हर्कतमा सरकार तल्लीन छ । जनयुद्धको विरासतको दाबी फितलो होला र त्यसको आधारमा आफ्नो राजनीतिक औचित्य समाप्त होला भन्ने त्रासले प्रचण्ड–बादलमण्डली दमन अथवा आत्मसमर्पणबाहेक अरू छलफल र सहमतिको दिशामा देश जाला कि भनेर त्रसित छ । त्यही अव्यक्त त्रासद्वारा प्रेरित भएर सरकार चलिरहेको छ । यसमा भ्रष्टाचारी, देशद्रोही, दलाल र हतियार तस्कर प्रहरी, प्रशासन र शक्तिकेन्द्रले हावा भरिरहेको देखिन्छ ।

मान्छे निश्चित विचारधाराबाट परिचालित हुन्छ भन्ने कुरामा जोड दिँदै वैज्ञानिक अल्बर्ट आइन्सटाइन भन्छन्, ‘कुनै मुसामाथि झम्टिरहेको बिरालोले पनि विचारद्वारा आफ्नो निजी धारणा बनाउँछ । बिरालोले जब कुनै मुसालाई देख्दछ तब समान रूपले नै प्रतिक्रिया गर्दछ । यो तथ्यले यो कुरालाई प्रदर्शित गर्दछ– बिरालोले पनि आफ्ना धारणाहरू र सिद्धान्त बनाउँछ जसले त्यसको आफ्नो इन्द्रियानुभविक जगत्मा त्यसको पथप्रदर्शन गर्दछन् ।’

वली सरकार र सरकारी पार्टीहरूले जेसुकै दाबी गरे पनि यिनीहरू दलाल पुँजीवादी व्यवस्थाका इमानदार कारिन्दा हुन् । कम्युनिस्ट र समाजवादको नारा लगाउने हुँदा यी नयाँ पण्डाहरूले झन् बढी भ्रम खडा गर्न सक्छन् । त्यसैले कुमार पौडेल हत्याकाण्डले सामाजिक दलाल सरकार र दलाल पुँजीवादी व्यवस्थाको मुकुन्डो उत्रिएको छ ।

मङ्ल, असार ३१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विचार-ब्लग समाचार