विपद व्यवस्थापन कार्यमा एकीकृत भएर लाग्न मुख्यमन्त्री शाहीको निर्देशन


सुर्खेत ३० असार ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रभावकारी रुपमा विपद् व्यवस्थापनका कार्यमा लाग्न निर्देशन दिनुभएको छ ।

कर्णाली प्रदेश विपद व्यवस्थापन परिषदको आज सम्पन्न बैठकमा मुख्यमन्त्री शाहीले फरकफरक प्रदेशमा फरक–फरक विशेषताको विपदको समस्या रहेको बताउँदै कर्णाली प्रदेशको सापेक्षता अनुसारको विपद प्रतिकार्य योजनाको आवश्यक रहेको बताउनु भएको हो ।

मुख्यमन्त्री शाहीले वर्षायामको शुरुसँगै विपदका घटनाहरु बढिरहेको बताउँदै सरकारका सबै संयन्त्र एकीकृतरुपमा उद्धार तथा व्यवस्थापनका कार्यमा लाग्नुपर्ने बताउनु भएको छ । विपद प्रभावितहरुको तत्काल उद्धार, उपचार, आवास तथा खाद्यान्नको प्रवन्धका लागि सबै निकाय एकीकृत रुपमा परिचालन हुनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ ।

मुख्यमन्त्री शाहीले सरकारको तर्फवाट उद्धार तथा विपद व्यवस्थापनको कार्यमा कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता व्यक्त गर्दै त्यसको लागि उद्धार तथा अन्य सामाग्रीको अभाव भएमा तत्काल सरकारलाई जानकारी दिन आग्रह गर्नुभएको छ ।

उद्धारका लागि तीनवटै सुरक्षा निकायको टोलीलाई युनिफाईड कमाण्डमा परिचालन गरिएमा प्रभावकारी हुने बताउँदै मुख्यमन्त्री शाहीले त्यस्तो व्यवस्था गर्न सुरक्षा निकायलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश भित्रका कुनै पनि मुख्य राजमार्ग बाढी र पहिरोका कारण अबरोध उत्पन्न हुन नदिन निर्देशन दिनुभएको छ ।

सोम, असार ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया