हकप्रद शेयर निष्कासनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने


काठमाण्डौ ३० असार ।
नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षबाट हकप्रद शेयर निष्कासनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गर्ने भएको छ ।

बोर्डले आज काठमाण्डौमा सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद शेयर निष्कासनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिनसक्ने व्यवस्था गर्ने उल्लेख गरिएको हो ।

लगानीकर्ताहरुको हकलाई ध्यानमा राखेर त्यो प्रावधान राखेर अघि बढने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी बोर्डले गएको आर्थिक वर्षबाट सुरु भएको ‘एक नेपाली स् एक डिम्याट खाता’ सम्बन्धी नीतिलाई पनि प्रभावकारी बनाउने कार्यक्रम तय गरेको छ ।

बोर्डका अध्यक्ष कार्कीले ५० करोड वा त्यसभन्दा माथिका र एक अर्ब वा त्यसभन्दा बढीको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउन सहजीकरण गर्ने योजना पनि अघि सारेको छ ।

बोर्डले समष्टिगत बजार सुधार तथा विकास नीति अन्तर्गत धितो पत्रको दोस्रो बजारमा सूचना प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन थप डिस्क्लोजरको व्यवस्था गर्ने पनि जनाएको छ ।

सोम, असार ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया