भोलि जनयुद्धका बेपत्ता योद्धालाई विशेष कार्यक्रमसाथ सम्झिँदै


काठमाडौं, २ असार ।

दस वर्षे महान जनयुद्धका योद्धाहरुलाई भोलि एक विशेष कार्यक्रम आयोजना गरेर स्मरण गरिने भएको छ ।

२०५२ फागुन १ बाट शुरु भएको महान जनयुद्धका क्रममा राज्यले विभिन्न समयमा जनयुद्धमा सहभागी भएको आरोपमा तत्कालीन शाही सरकारका सुरक्षाकर्मीले गिरफ्तार गरी सयौं नागरिकलाई बेपत्ता पारेको थियो ।

सोही क्रममा २०५९ असार ३ गते राजधानीबाट जनयुद्ध संचालक तत्कालीन पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य समेत रहेका विपिन भण्डारी र आरआर क्याम्पसका विद्यार्थी नेता दिलबहादुर राईलाई राज्यविरुद्ध लागेको अभियोगमा गिरफ्तारपछि बेपत्ता पारेका थिए । हालसम्म पनि उनीहरुको अवस्था अज्ञात छ । बेपत्ता परिवारले आफ्ना सदस्यको कि लास कि शास चाहियो भन्दै निरन्तर संघर्ष गर्दै आइरहेको छ । तर यसबारे राज्यले जवाफ दिन सकेको छैन । शान्ति प्रक्रिया समेत पूरा हुन नसकेको र यसमा राज्य पक्षले बेवास्ता गरिरहेको पीडितहरुको गुनासो छ ।

सोही घटनाको स्मरण गर्दै भोलि मंगलबार राज्यद्वारा बेपत्तायोद्धा परिवार समाज नेपालले राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा शान्ति प्रक्रिया र वर्तमान राजनीतिक परिस्थिति नामक एक दिवसीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको समाजले जानकारी समाजका संस्थापक एवं वरिष्ठ अधिवक्ता एकराज भण्डारीले दिएका छन् ।

कार्यक्रममा सहभागीताका लागि सरोकारवाल तथा सबैलाई आग्रह समेत गरिएको छ । अपरान्ह १२ बजे कार्यक्रम शुुरु हुने पनि समाजले जानकारी दिएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता र जनयुद्धका नेताहरुको उपस्थिति रहने पनि जनाइएको छ ।

अखिल (क्रान्तिकारी)का तत्कालीन महासचिव पूर्ण पौडेल पनि हालसम्म बेपत्ता छन् । शान्ति प्रक्रिया शुरुसँगै बेपत्ता योद्धाहरुको अवस्था पत्ता लगाउन र घटनाको छानबिन गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेपनि हालसम्म पनि आयोग निकम्मा अवस्था छ ।

सोम, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार