बजेट पूर्णरुपमा कार्यान्वयन हुुन्छ: मन्त्री गुरुङ


पोखरा, असार २ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को बजेट पूर्णरुपमा कार्यान्वयन हुने दावी गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अब पनि बजेटलाई पूर्णरुपमा कार्यान्वयन गर्न नसके प्रदेश सरकारको कुनै अर्थ नहुने बताउनुभयो ।

गत वर्षको करिव ५० प्रतिशत बजेट कार्यान्वयन गरेको जिकिर गर्दै उहाँले ‘आवश्यक कानूनमध्ये कतिपय बनिसकेको तथा केही बन्ने क्रममा रहेका कारण यो बजेट कार्यान्वयन सहज रुपमा हुने बताउनुभयो । गुरुङले आन्तरिक राजश्व संकलनलाई प्रभावकारी बनाउन पर्यटन, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताउनुभयो ।

प्रदेशमा ६ अर्बभन्दा बढी घाटा आन्तरिक राजश्ववाटै पूर्ति गर्ने लक्ष्य राखिएको स्पष्ट पार्दै उहाँले यस बर्ष पाँच अर्ब रुपैयाँ उठाउने योजना रहेको बताउनुभयो । मन्त्री गुरुङले गण्डकी प्रदेशमा आउने पर्यटकलाई शुल्क उठाउने बताउनु भयो ।

यस प्रदेशमा गुड्ने ६० देखि ७५ प्रतिशत यातायातका साधन अन्यत्र दर्ता भएको बताउँदै मन्त्री गुरुङले ती साधनलाई यही प्रदेशमा दर्ता गर्न लगाउने र त्यसका लागि २५ प्रतिशत राजश्व छुट दिने व्यवस्था गरिएको बताउनुभयो ।

नयाँ दर्ता एवं नविकरण समेत गरि सरकारले तीन अर्ब २८ करोड राजश्व संकलन लक्ष्य राखेको उहाँको भनाई थियो । विकास निर्माणलाई प्रभावकारी बनाउन विकास प्राधिकरण गठनको सोच अघि बढाइएको उल्लेख गर्दै उहाँले यसबाट राष्ट्रिय गौरव एवं महत्वका योजना सम्पन्न गर्न त्यसबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सोम, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार

Like us On Facebook

Follow Us On Twitter