सुत्केरीको मृत्युपछि सेती अञ्चल अस्पतालमा तनाव


चैत्र ८ धनगढी ।  चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले शुक्रबार सेती अञ्चल अस्पतालमा प्रदर्शन गरेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको उपचारकाक्रममा बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

सुत्केरी व्यथा लागेपछि चैत ४ गते सेती अञ्चल अस्पताल धनगढीमा भर्ना भएकी रेखाको शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत् उनले स्वस्थ शिशु जन्माइन् । शिशुको अवस्था सामान्य छ ।

तर, शल्यक्रियापछि रेखाको भने पेट सुन्निएको मृतकका श्रीमान् जय थापाको भनाइ छ ।

उपचारमा संलग्न चिकित्सकले ‘ग्यास्ट्रिक’को कारण देखाउँदै दुई दिनसम्म रेखाको उपचार गरिरहे पनि थप उपचारका लागि केही नभनेको उनको आरोप छ ।

तर, पेट सुन्निने समस्या कम नभएपछि रेखालाई थप उपचारका लागि ७ गते बिहान बाँकेको कोहलपुर ‘रेफर’ गरिएकोमा बाटोमा नै बिरामीको मृत्यु भएको उनका श्रीमान् जयले जानकारी दिए ।

मृतकको शव आफन्तले बुझ्न मानेका छ्रैनन् ।

शुक्र, चैत्र ८, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया