नेपालले २३ वर्ष मुनिको एएफसी छनौटमा आज ओमन विरुद्ध खेल्ने


एएफसी यू–२३ छनोट च्याम्पियनसिपमा नेपालले शुक्रबार ओमानसँग खेल्दै छ। कतारको दोहामा मार्च २६ सम्म सञ्चालन हुने छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसहित आयोजक कतार, ओमन र अफगानिस्तान छन्।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपालको लक्ष्य छनोट रहेको बताएका छन्। ‘युवा समूहमा नेपालको खेल राम्रो छ। हामीले पर्याप्त तयारी गर्न त सकेका छैनौं। तर पछि टोलीमा अनुभवी र क्षमतावान् खेलाडी छन्। प्रतिद्वन्द्वी सबै बलिया रहेकाले कमजोरी सुधार गर्दै छनोटका लागि खेल्ने छौं’, बालगोपालले भने। नेपालले समूहको दोस्रो खेल मार्च २४ मा कतारसँग र अन्तिम खेल मार्च २६ मा अफगानिस्तानसँग खेल्ने छ। समूहको शीर्ष टोली सन् २०२० मा थाइल्यान्डमा आयोजना हुने च्याम्पियनसिपका लागि छनोट हुने छ।

विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाली टोलीमा अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, अर्पण कार्की, असीम भुसाल, विकास खवास, विमल घर्तीमगर, विश्वास        श्रेष्ठ, दिनेश राजवंशी र गौरव बुढाथोकी छन्। टोलीमा हेमन्त थापामगर, कमल        श्रेष्ठ, प्रिजन तामाङ, धीरज        श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नीतिन थापा र दीप कार्की छन्। टोलीको सहायक प्रशिक्षकमा सुमन श्रेष्ठ छन्।

शुक्र, चैत्र ८, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया