संघीय संसदका दुबै सदनकाे बैठक बस्दै


काठमाडौं, २६ भदाै ।

संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाकाे बैठक बिहीबार दिउँसो १ बजे बस्दैछन्। प्रतिनिधिसभा बैठकमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्नेछन्।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएको राहदानी विधेय २०७५ पनि प्रतिनिधिसभा बैठकको एजन्डामा छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको राहदानी विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार गर्न भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता गरेकी थिइन्। संसद्ले पारित गरेको विधेयक पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता गरिएको यो पहिलोपटक हो। मन्त्री ज्ञवालीले उक्त विधेयक पारित गर्नका लागि पुनः प्रस्ताव राख्नेछन्।

राष्ट्रियसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। यो विधेयक प्रतिनिधसभाबाट राष्ट्रियसभामा छलफलका लागि आइपुगेको हो। यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री कोकुल बाँस्कोटाले विज्ञापन विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन्।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रियसभा बैठकमा वातावरण संरक्षण विधेयक २०७६ माथि छलफल गरी पारित गर्न प्रस्ताव पेश गर्नेछन्। यस्तै बस्नेतले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको वन विधेक २०७६ माथि छलफल तथा पारित गर्न पनि प्रस्ताव गर्नेछन्।

बिहि, भदौ २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया