पुस्कर, प्रज्वल, माधव र रमेशलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


काठमाडौं, २५ भदौ ।
सर्बोच्च अदालतले नेता तथा पत्रकार कृष्ण कुमार श्रेष्ठ प्रज्वल, घनश्याम श्रेष्ठ पुस्कर सहितचार जनालाई तीन दिन भित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
मंगलवार भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहसपछि अदालतले बन्दीसहित तीनदिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । सरकारले गैरकानूनी रुपमा पटक–पटक गिरफ्तार गरी गैरन्यायिक ढंगबाट प्रहरी हिरासतमा राखेको भन्दै प्रज्वल र पुस्करसहित माधव गौतम र रमेश खड्कालाई तत्काल थुनामुक्त गर्न माग गर्दै आईतवार बन्दीप्रत्यक्षीकरणको रिट निवेदन परेको थियो ।
सोहि रिटमाथि मंगलवार भएको सुनुवाईपछि न्यायधिस डा मनोजकुमार शर्माको एकल इजलासले उनीहरुलाई पक्राउ गर्नुको कारणसहित आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक तीन दिन भित्र बन्दीसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
रिटमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएको भनी वैचारीक आस्थाकै आधारमा गैरकानुनी रुपमा पटक–पटक गिरफ्तार गरि हिरासतमा राखिएकोले भन्दै उनीहरुको रिहाईको माग गरिएको छ ।
गत चैतमा गिरफ्तार परेका चारै जनालाई पछिल्लो पटक यहि भदौ १६ गते संखुवासभा जिल्ला अदालतले रिहा गरेलगत्तै अदालत परिसरबाटै प्रहरीले पुनः गिरफ्तार गेको थियो । जसमध्ये पुस्करलाई जिल्ला प्रहरी कार्यलय मोरङ, प्रज्वल र रमेशलाई इलाका प्रहरी कार्यलय इटहरी सुनसरी र माधवलाई जिल्ला प्रहरी कार्यलय तेह«थुमको हिरासतमा राखिएको छ ।
पहिलो पटक चैत १० गते पुस्कर र माधव, १२ गते खड्का र चैत १३ गते प्रज्वल गिरफ्तारमा परेका थिए । गत बैशाख १७ गते सुनसरी जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएकोमा धरौटी रकम नबुझाएपछि सुनसरीको झुम्का कारागार चलन भएका उनीहरुले भदौ ९ गते धरौटी बुझाएका थिए । लगत्तै अदालत परिसरबाटै पुन गिरफ्तार गरी संखुवासभा लगेको थियो ।
संखुवासभा जिल्ला अदालतले भदौ १६ गते रिहा गर्न आदेश दिएको थियो । लगत्तै गिरफ्तार गरि सुनसरी पुयाईएका प्रज्वल नेपाल पत्रकार महासंघका पार्सद हुन् । लामो समयदेखि सन्चार क्षेत्रमा आबद्ध भई काम गर्दै आएका प्रज्वल युद्ध पत्रकार समेत हुन् । उनी झण्डै दुई दशकदेखि पत्रकारीता क्षेत्रमा निरन्तर कृयाशिल छन् । उनी नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य तथा पूर्व कोषाध्यक्ष समेत हुन् ।
दसवर्षे जनयुद्धका बेला जनमुक्ति सेनामा काम गरेका उनले पछि पार्टी निर्देशनमा नै माओवादीले सन्चालन गरेको रेडियोमा जिम्मेवारी सम्हालेका थिए ।
पूर्वाञ्चलका जिल्लाहरुमा केन्द्रित रहेर सञ्चालन भएको रेडियो जनगणतन्त्र ९५.१ मेघाहर्ज पूर्वी प्रशारण सेवामा लामो समय काम गरेका प्रज्वलले शान्ति प्रक्रिया अघि बढेसँगै काठमाडौं आएका केही समय रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रममा आबद्ध भएर समेत काम गरेका थिए ।
शान्ति प्रक्रियाको दशकभर पत्रकारिता गरेर केही अघि मात्र फेरि पार्टीको जिल्ला नेतृत्व सम्हाल्न गएका श्रेष्ठ माओवादीको युवापंक्तिभित्र लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।
उता, लामो समयदेखि सन्चारक्षेत्रमा नै कृयाशिल अर्का नेकपा नेता पुस्कर रेडियो मिर्मिरेका पूर्व अध्यक्ष समेत हुन् । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्त एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र दयाराम पोख्रेलले बहस गरेका थिए ।

मङ्ल, भदौ २४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया