बेलायतमा ब्रेक्जिट विरुद्धमा मतदान, प्रधानमन्त्री जोनसनले बहुमत गुमाए


एजेन्सी, भदौ १८ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसद्मा बहुमत गुमाउनु भएको छ । बेलायती सांसदहरुले प्रधानमन्त्री जोनसनको प्रस्तावको विरुद्धमा मतदान गरेसँगै संसदमा उहाँ कमजोर बन्नु भएको हो ।

संसदीय काम कारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदहरूले मतदान गरेपछि प्रधानमन्त्रीको ब्रेक्जिट नीतिलाई ठूलो झड्का लागेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संसदीय काम कारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदहरूले मतदान गरेका छन् ।

जसका कारण अब उनीहरूले सहमति विनाको ब्रेक्जिट प्रक्रिया रोक्नका लागि एउटा विधेयकलाई अगाडि बढाउन सक्नेछन् । सो विधेयकमाथि संसद्मा छलफल हुने बताइएको छ । गएरातिको मतदानमा सरकारको पक्षमा तीन सय एक मत र विपक्षमा तीन सय २८ मत खसेको थियो ।
प्रधानमन्त्री जोनसनले सहमति विनाको ब्रेक्जिट प्रक्रियालाई रोक्ने विधेयक पारित भए आफूले आमनिर्वाचनका लागि प्रस्ताव ल्याउने यसअघि नै बताउनु भएको छ । सरकार अक्टोबर १५ तारिखमा आमचुनाव गराउने तयारीे छ ।

युरोपेली संघको बैठक बस्नु भन्दा २ दिनअघि निर्वाचन गराउने सरकारले तयारी गरेको विविसीले उल्लेख गरेको छ । पार्टी परिवर्तन गर्दै सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्र्याट्समा गएपछि जोनसन संसद्मा कमजोर बन्नु भएको हो ।

बुध, भदौ १८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया