व्यावसायिक मेवा खेती र यसकाे पौष्टिक तथा औषधिय महत्व 


पृष्ठभूमि: 

मेवा एक महत्वपूर्ण फल हो जसलाई उष्ण तथा उपोष्ण हावापानी भएका स्थानहरुमा खेती गर्न सकिन्छ । लगभग ४ सय वर्ष पहिला भारत हुँदै मेवाको प्रवेश नेपालमा भएको अनुमान गरिएको छ । हाल नेपालको तराईदेखि १००० मिटरसम्म उचाइ भएको स्थानमा मुख्यतः घरायसी प्रयोजनका लागि करेसाबारीमा मेवा लगाइने गरिएको छ । नेपालको बजारमा मेवाको माग निरन्तर रुपमा बढि रहेको हुँदा दुई दशक यता नवलपरासी, चितवन लगायतका केही जिल्लाका केही भागहरुमा कृषकहरुले व्यवसायिक रुपमा मेवा खेती सुरु गरेका छन् । हाल ८० प्रतिशत मेवा भारतबाट आयात गरिएको पाइन्छ । नेपाली उत्पादनले २० प्रतिशत मात्र आपूर्ती गरेको छ । त्यसैले नेपालमा व्यवसायिक मेवा खेतीको राम्रो सम्भावना छ ।

वनस्पतिक विवरण
मेवा क्यारिकासी (Caricaceae) परिवार अन्तर्गतको एक वनस्पति हो । यसको वैज्ञानिक नाम क्यारिका पपाया हो ।

मेवाको बोटहरु निकै चाँडो बढ्छन् । रोपेको पहिलो वर्ष ३ मिटरसम्म र जीवनकालमा १० मिटरसम्म बढ्छन् । मेवाको आयु १०–१२ वर्ष हुन्छ । सोझो वा ठाडो वृद्धि हुने मेवाको बोटमा साधारणतया हाँगाबिँगा हुँदैनन तर बोट वृद्धि हुने मुना वा टुप्पोमा चोटपटक लागेमा त्यस स्थानमा हाँगा पलाउँछन । मेवाको डाँठको भित्री भाग खोक्रो हुन्छ र बाहिरी सतह हल्का हरियो रङको हुन्छ । मेवाका पातहरु ५–६ महिनामा झर्छन् । मेवाको बोटका सबै भागमा सेतो चोप हुन्छ ।

मेवाका भाले, पोथी र उभयलिङ्गी गरी तिन प्रकारका फूल हुन्छन् । पोथी फूलहरु ठूला र भेट्नो छोटो भएका हुन्छन् । भाले फूलहरु साना हुन्छन् । यिनीहरु करिब ५०–६० सेन्टिमिटर लामो डाँठमा झुप्पामा फुल्छन् । उभयलिङ्गी फूलहरु भाले भन्दा ठूला र पोथी फूलभन्दा साना हुन्छन् ।

मेवाका फल गोलो वा लाम्चो गोलाकार हुन्छन् । फलको आकार जात र बोटको स्वास्थ्य अनुसार ८ से.मी. देखि ५० से.मी.सम्म लामो हुन्छ ।

मेवाका बोटमा स्त्रीलिङ्ग स्थायी किसिमको हुन्छ । यसमा वातावरणको प्रभाव पर्दैन तर भाले र उभयलिङ्गी बोटमा वातावरणको प्रभाव पर्दछ । कम तापक्रम, दिन र रातको तापक्रममा धेरै फरक, माटोमा बढी चिस्यान र नाइट्रोजन भएको अवस्थामा भालेबोटमा पनि केही पोथी फुलहरु निस्कन जान्छन् । त्यसैगरी धेरै गर्मी, सुख्खा अवस्था र माटोमा कम नाइट्रोजन भएको अवस्थामा उभयलिङ्गी बोटमा पनि भाले फुलहरु निस्कन्छन् ।

उत्पत्ति र खेती विस्तारः

मेवाको उत्पत्ति भएको स्थान यै हो भनेर अझसम्म पनि भन्न सकिएको छैन तर पनि यसलाई दक्षिण मेक्सिको र मध्य अमेरिकी क्षेत्रको रैथाने बाली मानिन्छ । दक्षिण एसियामा भने मेवाको प्रवेश १६ औं शताब्दिको अन्त्यतिर दक्षिण पूर्वी एसियाबाट भएको मानिन्छ । यसरी मध्य अमेरिकाबाट सुरु भएको मेवाको खेती क्रमश विस्तार भएर संसारका प्रायः जसो सबै देशमा धेरै थोरै मात्रामा हुने गररेको छ ।

विश्वमा मेवा उत्पादन:

विश्व खाद्य सङ्गठनको तथ्याङ्क अनुसार सन् २००८ मा संसारभर ४ लाख ११ हजार हेक्टर जमिनमा मेवा खेती गरिएको थियो । जसबाट सरदर २४.६ मे.ट..प्रति हेक्टरको दरले १ करोड मे.ट. भन्दा बढी फल उत्पादन भएको थियो ।

सन् २००९ (२०६६÷६७) मा नेपालमा करिब २ हजार २ सय हेक्टर जमीनबाट ३१ ह्जार मे.ट. मेवाको फल उत्पादन भएको सरकारी तथ्याङ्क छ । नेपालमा मेवाको उत्पादन १४ मे.ट. प्रति हेक्टर छ ।

पौष्टिक तथा औषधिय महत्व:  मेवा एउटा बहुउपयोगी बाली हो । मेवाको फलबाट जाम, जेली, क्यान्डी, सुकुटी र विभिन्न प्रकारका पेय पदार्थ बनाउन सकिन्छ । मेवामा प्रचुर मात्रामा विभिन्न किसिमका भिटामिन र अन्य पौष्टिक तत्व पाइन्छ । पाकेको मेवाको फल जन्डिस रोगको निदानका लागि उपयोगी हुन्छ । यसको नियमित सेवनले आँखाको दृष्टि शक्ति बढाउन सहयोग गर्दछ । मेवाको काँचो फलमा पाइने सेतो चोपमा प्यापेन नामको इन्जाइम हुन्छ जसलाई विभिन्न किसिमका सौन्दर्य सामग्री, दन्तमन्जन र साबुनमा मिसाइन्छ ।

हावापानी:

१. मेवा उष्ण प्रदेशीय गर्मी हावापानी भएकोँ रुचाउने बाली हो । यदि लामो समयसम्म १५ डिग्री सेन्टीग्रेड भन्दा तलको तापक्रम रहेमा जरा, बोट र फलको बृद्धि राम्ररी हुन सक्दैन । कम तापक्रम भएमा जरा, बोट र फलको बृद्धिका साथै फलको स्वाद र गुलियोपनाको विकास कम हुन्छ । मेवाको बोटले तुसारो पटक्कै सहन सक्दैन ।

२. फुल फुल्ने समयमा धेरै तापक्रम भएमा परागसेचन कम भई उत्पादन घट्दछ । तापक्रम ३२ डिग्री सेन्टिग्रेट भन्दा बढी भएमा फूल झर्ने समस्या देखा पर्दछ ।

३. तापक्रम –०.६ डि.से. भन्दा तल र ४४ डि.से. भन्दा माथि भएमा बोटको वृद्धि पूर्ण रुपमा रोकिन्छ र बोट मर्दछ ।

४. चिसो हावापानी, सुख्खा र असिञ्चित स्थान, धेरै हुरीबतास चल्ने स्थान र ओसिलो स्थान मेवाको व्यवसायिक खेतीका लागि उपयुक्त हुँदैनन् ।

५. फल पाक्ने समयमा सुख्खा मौसम भएमा गुलियोपना बढ्दछ । मेवा खेतीको लागि सबभन्दा उपयुक्त तापक्रम २१ देखि ३२ डिग्री सेन्टीग्रेट मानिन्छ ।

माटो

१. मेवा खेतीका लागि पि.एच.६ देखि ७ सम्म भएको पानी नजम्ने, गहिरो र प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट माटो सबभन्दा राम्रो हुन्छ । यदि कम पि.एच. भएको अम्लीय माटो छ भने कृषि चुनको प्रयोग गर्नु पर्दछ ।

२. कम प्राङ्गारिक पदार्थ भएको चिम्टाइलो माटो मेवाको लागि राम्रो मानिदैन । फेदमा एक दिन भन्दा बढी समय पानी जमेमा मेवाका बोट मर्दछन् । त्यसैले पानी जम्ने स्थान मेवा खेतीका लागि उपयुक्त हुँदैनन् । सुख्खा समयमा मेवालाई प्रशस्त पानीको आवश्यक पर्ने भएकोले व्यवसायिक खेतीका लागि सिंचाई सुविधा हुनु पर्दछ ।
जात
नेपालमा मुख्यत घरायसी प्रयाजनका लागि कोठेबारीमा मेवाका केही बोट लगाउने गरिन्छ । कृषकहरु कोठेबारीमा आफैंले छनौट गरेका स्थानीय जात लगाउँछन् । तर, केही वर्ष यता चितवन, नवलपरासी, धादिङ लगायतका केही जिल्लामा व्यवसायिक रुपमा पनि मेवाको खेती सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले नेपालका लागि रेड लेडी, फार्म सिलेक्सन –१ र पुसा ड्वार्फ नामका मेवाका जातहरु सिफारिस गरिएका छन् ।

बिरुवा उत्पादन: 

मेवाको प्रसारण बीउबाट गरिन्छ । व्यवसायिक रुपमा मेवाको खेती गर्न सिफारिस गरिएका मेवाका जातको बीउ भरपर्दो स्रोतबाट प्राप्त गर्नु पर्दछ । बीउलाई २–३ पटक बालुवा मिलाएर धोइपखाली बीउको बाहिरी भागमा भएको पातलो झिल्ली पदार्थ हटाउनु पर्दछ । त्यसपछि बीउलाई १–२ दिन छायाँमा सुकाएर नर्सरीमा रोप्न सकिन्छ । मेवाका बिरुवा नर्सरी व्याड वा प्लास्टिक थैलामा उत्पादन गर्न सकिन्छ । जरा कुहिने रोगबाट बचाउन रोप्नुभन्दा अगाडि बीउलाई ०.१ प्रतिशतको व्याभिस्टिन वा थिराम विषदीको घोलमा उपचार गर्नुपर्दछ ।

नर्सरी ब्याडमा बिरुवा उत्पादन गर्ने तरिका:

– नर्सरी बनाउने स्थान पानी नजम्ने तर सिंचाईकोे सुविधा भएको हुनुपर्दछ ।

-नर्सरीको लागि १ मिटर चौडाई, आवश्यकता अनुसारको लम्बाई र १० से.मी.उचाईको ब्याड बनाउने ।

-नर्सरी ब्याडमा राम्ररी कुहेको गोबर मल हालेर कुटोले खनेर माटोमा मिलाउने ।

-कुहिने रोगबाट बिरुवालाई जोगाउन नर्सरी ब्याडलाई ५ प्रतिशतको फर्मालिनले भिजाएर प्लास्टिकले छोप्ने ।

-२०–२५ दिन पछि प्लाष्टिक हटाई कुटोले खनेर माटो बुर्बरो बनाउने ।

-लाइनदेखि लाइन र बीउदेखि बीउको दुरी १० से.मी हुने गरी १ से.मी गहिराईमा बीउ रोपेर पराल वा पातपतिङ्गरले ब्याडलाई छोपी हजारीले पानी दिने ।

-समय समयमा ब्याडको चिस्यान निरीक्षण गरी आवश्यकता अनुसार सिंचाई दिने ।

-एक रोपनी जमीनको लागि २०–२५ ग्राम आवश्यकता पर्दछ ।

प्लाष्टिक थैलामा बिरुवा उत्पादन गर्ने तरिकाः

-प्वाल बनाइएका २० से.मी उचाइ र १५ से.मी.चौडाइका प्लाष्टिकका थैलाको व्यवस्था गर्ने ।

-माटोमा, राम्ररी कुहेको गोबर मल र बालुवा बराबर मिलाएर थैला भरेर थिच्ने ।

-प्रत्येक थैलामा ४–५ ओटा बीउ रोप्ने र नियमित रुपमा हजारीले पानी दिने ।

-बीउ उम्रपछि ३ ओटा बिरुवा राखेर अरु हटाउने ।

-यदि नर्सरीमा बिरुवा ओइलाउने रोग देखिएमा १ प्रतिशत बोर्डे मिक्चर वा ०.२ प्रतिशत कपर अक्सिक्लोराइड छर्ने ।

-दुई महिनापछि करिब २५ से.मी. अग्ला बिरुवा सार्न योग्य उपयुक्त हुन्छन् । नर्सरी ब्याडमा भन्दा प्लास्टिक थैलामा बिरुवा उत्पादन गर्नु उपयुक्त हुन्छ ।

जग्गाको तयारी र बिरुवा रोपाई:

१. जमीनलाई एक पटक राम्ररी जोतेर झारपात हटाउने र पानीको निकासको व्यवस्था मिलाउने ।
२. बिरुवा रोप्ने दुरी जात अनुसार फरक पर्दछ । नेपालमा सिफारिस गरिएका जातहरुलाई १.९ह१.९ मिटरको दुरीमा लगाउँदा सबभन्दा राम्रो उत्पादन हुन्छ ।

३. २ फिट लम्बाई, चौडाई र उचाईका खाल्डा खन्ने । खाल्डा खन्दा निस्केको माथिल्लो सतहको मलिलो माटो एकापट्टि र तलको रुखो माटो अर्कापट्टि राख्ने ।

४. खाल्डा खन्दा निस्केको मलिलो माटोले खाल्डाको तल्लो भाग पुर्ने । त्यसपछि करिब १५ किलोग्राम कुहेको गोबरमललाई माटोमा मिलाएर खाल्डाको माथिल्लो भाग पुरेर राम्ररी थिच्ने । जमीनको सतह भन्दा करिब आधा फिट अग्लो हुने गरी खाल्डो पुर्ने खाल्डो पुरेको कम्तीमा एक महिनापछि मात्र बिरुवा रोप्ने । बिरुवा खाल्डोको बीचमा रोप्नु पर्दछ ।

५. मेवाका बिरुवा असार, असोज वा फगुन महिनामा रोप्न सकिन्छ । जरा नचुँडिने गरी नर्सरीमा तयार गरिएका बिरुवालाई उखेलेर एउटा खाल्डामा ३ ओटा बिरुवाका दरले रोप्नु पर्दछ । प्लाष्टिक थैलामा तयार गरेका बिरुवालाई प्लाष्टिक हटाई माटो सहित रोप्नु पर्दछ । बिरुवा रोप्ने स्थानमा एक हप्ता पहिला करिब दुई के.जी. राम्ररी कुहेको गोबर मल र ५० ग्राम डिएपि मल माटोमा मिलाएर त्यसपछि बिरुवा रोप्नुपर्छ । बिरुवा रोपेपछि माटोलाई राम्ररी थिच्नुपर्छ र सिंचाई गर्नुपर्छ ।

मल, सिंचाई र बगैंचाको हेरचाह:

१. मेवालाई रसायनिक र प्रङ्गारिक दुवै स्रोतबाट मल दिनुपर्छ । २. रासायनिक मलको स्रोतबाट प्रत्येक वर्ष एउटा मेवाको बोटलाई २५० ग्राम नाइट्रोजन, २५० ग्राम फोस्फरस र ४०० ग्राम पोटास दिनु पर्छ । यी रासायनीय मल एकै पटक नदिई वर्षमा ३ पटक बराबर भागमा बाँडेर दिनुपर्छ । पहिलो पटक बिरुवा सारेको ४ महिनापछि र त्यपिछि हरेक ४–४ महिनामा रासायनिक मल दिनुपर्छ । यस अलावा बोरोन, म्याग्नेसियम र तामायुक्त सुक्ष्म तत्व पनि वर्षमा एक पटक दिनुपर्छ । सुख्खा याममा सिंचाई गरेर माटोमा प्रशस्त चिस्यान भएको अवस्थामा रासायनिक मलको प्रयोग गर्नुपर्दछ ।

३. माघको अन्त्यदेखि फागुनको पहिलो हप्तासम्म राम्ररी कुहेको गोबर मल एक बोटमा करिब १५ किलोग्रामका दरले दिनुपर्छ । गोबर मलको प्रयोगपछि सिँचाई गर्नुपर्छ ।

४. राम्रो उत्पादनको लागि मंसिरदेखि जेठसम्मको सुख्खा मौसममा महिनाको एक पटक मेवाको बगैँचामा सिंचाई गर्नुपर्छ । ५. फुल नफुलुन्जेल मेवाका बोटको लिङ्ग छुट्याउन सकिदैंन । तसर्थ फुल फुल्न थालेपछि अनावश्यक भाले बोट हटाउनु पर्छ । भाले पोथी बोट छुट्टाछुट्टै हुने जातमा हरेक १० पोथी बोट बराबर एक भाले बोट राखेर अन्य भाले बोट हटाउनुपर्छ । सुरुमा एउटा खाल्डामा दुई तीनओटा बिरुवा रोपिएका हुन्छन् । त्यसैले फूल फूलेपछि एउटा खाल्डामा एउटा पोथी बोट मात्र राखी अरु हटाउनु पर्छ । यस अघि भनिए अनुसार मेवामा उभयलिङ्गी र पोथी बोट छुट्टाछुट्टै हुने जात पनि हुन्छन् । यदि यस प्रकारको जातको खेती गरिएको छ भने फूल फुल्न थालेपछि एउटा खाल्डोमा एउटा बोट राखी अरु हटाउनु पर्छ । यसरी बोट हटाउँदा सकेसम्म पोथी बोट हटाई उभयलिङ्गी बोटलाई राख्नु पर्दछ । पोथी फुलबाट निस्केको फलभन्दा उभयलिङ्गी फूलबाट निस्केको फल लाम्चा र आकर्षक हुने भएकोले उभयलिङ्गी बोट राख्नु उपयुक्त हुन्छ ।

रोग व्यवस्थापन: 
१. बेर्ना कुुहिने ९म्बmउष्लन याा० विशेष गरी वर्षाको समयमा वायुमण्डलमा आद्रता बढी भएमा, नर्सरीमा पानी जमेमा वा माटोमा चिस्यान अत्याधिक भएमा र तापक्रम २५ डि.से. भन्दा बढी भएमा यो रोग चाँडो फैलन्छ ।

व्यवस्थापनका उपायहरु:

-नर्सरीको माटोलाई २ प्रतिशतको फर्मालिनले उपचार गर्ने ।

-बीउलाई ब्लाइटक्स ( २ ग्राम प्रति केजी बीउका दरले) उपचार गर्ने ।

-नर्सरी ब्याडलाई १ प्रतिशत बोडोमिक्चरले उपचार गर्ने ।

-सिंचाई कम गर्ने ।

२. फेद कुहिने (Collor Rott) यो रोग लागेका बोटको फेद जमीनको सतह र सो भन्दा केहि माथिसम्म सुन्निए जस्तो हुन्छ । र क्रमश बोक्रा कुहिन्छ । वर्षा याममा यसको प्रकोप बढ्छ । यस रोगको नियन्त्रणको लागि १ प्रतिशतको बोर्डोमिक्चर घोलले बोटको फेदको वरिपरि उपचार गर्ने र फेदमा बोर्डोपेन्ट लगाउनु पर्छ । धेरै सङ्क्रमित बोटहरु छ भने उखेलेर नष्ट गर्नुपर्छ ।

३. खराने रोग (powdery mildew) सुरुमा पातको तल्लो सतहमा साना साना पहेँला फलमा रङका थोप्ला देखापर्दछन् । रोग बढ्दै जाँदा यी थोप्लाको वरिपरी सेतो ढुसी देखा पर्दछ । रोगको लक्षण पात, डाँठ र फलाम पनि देखिन्छ । यस रोगको नियन्त्रणका लागि सल्फेक्स वा इन्सफ जस्ता सल्फरयुक्त विषदि २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नुपर्दछ ।

४. गोलो थोप्ले रोग (Papaya ring spot) रोगी बोटका डाँठ, पात र फलमा गोलागोला औँठी जस्ता धब्बा देखा पर्दछन् । रोगको नियन्त्रणका लागि नुभान १ एम.एल. प्रति लिटर पानी वा मालाथियान २ एम.एल. प्रति लिटर पानीमा मिसाई प्रयोग गर्ने ।

५. जराको जुका (Nematodes)
जुका लागेमा जरामा गाँठाहरु देखापर्दछन् । पात पहेँलो हुन्छ र मर्दछ । यस रोगको नियन्त्रणका लागि निमको पिना ५० ग्राम प्रति बोटका दरले बोटको फेदको माटोमा प्रयोग गर्नुपर्दछ ।

कीरा व्यवस्थापन:

१ रातो सुलसुले (Red Spider mite) यो कीराले पात र फलबाट रस चुसेर नोक्सान पु¥याउँछ । सुलसुले नियन्त्रणका लागि केल्थान २ मिलिलिटर प्रति लिटर पानीमा वा सल्फर २ मिलिग्राम प्रति लिटर पानीमा मिसाएर छर्नुपर्छ ।

२. फलको औँसा (Fruit Fly) औँसाले फलको गुदी खाएर नोक्सान गर्दछन् । फलहरु कुहिएर पाक्नु भन्दा अगाडि नै झर्दछन् । यो कीराको नियन्त्रणका लागि फल टिपेर गहिरो खाल्डोमा गाड्नु पर्छ वा तातो पानीमा उमालेर औंसालाई मार्नु पर्दछ । वयस्क भिँगा मार्न नुभान वा मालाथिएन २ मिलिग्राम र करिब १० ग्राम चिनी प्रति लिटर पानीमा मिलाएर हरेक १५–१५ दिनको फरकमा छर्नुपर्छ ।

३. मिलिबग यो कीरा लागेको बोटका पात साना र गज्याङ्गुजुङ् परेको हुन्छन् । कलिला पात पहेँलिएर झर्ने गर्दछन् । यो कीरा नियन्त्रणका लागि मालाथियन २ मिलिलिटर प्रति लिटर पानीमा मिलाएर छर्नुपर्दछ ।

४. लाही कीरा लाहीले कलिला पात र फूलबाट रस चुस्दछ । मुख्य रुपमा लाहीले भाइरसबाट हुने गोलो थोप्ले रोग र पपाया मोज्याक भाइरसलाई सार्ने काम गर्छ । लाही कीरा नियन्त्रण गर्न नुभान वा मालाथिएन २ मिलिग्राम प्रति लिटर पानीमा मिलाएर छर्ने ।

फल टिपाई र भण्डारण बोक्राको रङ गाढा हरियोबाट हल्का हरियोमा परिणत भई फलको टुप्पो पहेँलो हुन थालेपछि फल टिप्न लायक हुन्छन् । मेवाको फल हातले बटारेर वा चक्कुले काटेर टिपी भेट्नेलाई फेदैबाट हटाउनु पर्छ ।

फल टिपिसके पछि ग्रेडिङ गर्नुपर्छ । ग्रेडिङ गर्दा फलको साइज, स्वरुप र पाकेको अवस्थाका आधारमा छुट्याउनु पर्छ । साइजको आधारमा फललाई २६० देखि ३६० ग्रामसम्मलाई सानो ३६० देखि ५०० ग्रामसम्मलाई मध्यम र ५०० देखि १००० ग्रामसम्मलाई ठूलो ग्रेडको मानिन्छ ।

फललाई साधारण कोठामा २५ देखि २८ डिग्री सेन्टिग्रेड तापक्रममा एक हप्तासम्म र १० देखि १२ डिग्री सेन्टिग्रेड तापक्रम र ८५ देखि ९५ प्रतिशत आद्रता भएको कोल्डस्टोरेजमा तीन हप्तासम्म भण्डारण गर्न सकिन्छ । फल टिपिसकेपछि बजार वा भण्डारणमा पठाउनु अगाडि प्याकिङ गर्नुपर्छ । प्याकिङ गर्दा हरेक फललाई पुरानो पत्रिका वा अन्य कागजले बेरेर क्रेट टोकरी वा डोकोमा साईज अनुसार हार मिलाएर राख्नुपर्छ ।

उत्पादन सिफारिस प्रविधिबाट एक वर्षमा प्रति कट्ठा जमीनमा ४५ हजारसम्म आम्दानी गर्न सकिन्छ ।

लेखक:  सर्मिला बिडारी

शुक्र, भदौ १, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया