युरिक एसिडको बाथ भनेको के हो ? यस्ता छन् लक्षण र उपचार


दिनहुँ सेवन गर्ने खाद्य पदार्थ पाचन हुने क्रममा शरिरमा उत्पादन हुने विकार तत्व ‘युरिक एसिड’ को मात्रा रगतमा सामान्य भन्दा बढी देखा परेर विशेषत जोर्नीहरुमा असर भएको अवस्थालाई युरिक एसिड बाथ (Gout or Gouty Arthrits) भनिन्छ । वयस्क पुरुषको शरिरमा प्रति १०० मिलिलिटर रगतमा ७ र महिलामा ६.२ मिलिग्रामसम्म युरिक एसिड हुनु सामान्य नै मानिन्छ । तर सो भन्दा बढी भएमा जोर्नीहरुमा खराब प्रभाव देखिन्छ र जोर्नीहरुमा युरिक एसिड क्रिस्टलको रुपमा जमेर जोर्नी सुन्निने र दुख्ने हुन्छ । रगतमा युरिक एसिडको मात्रा बढेको देखिए तापनि धेरैजसो व्यक्तिहरुमा कुनै लक्षण नदेखिने विभिन्न अध्ययनबाट देखिएको छ ।

पश्चिमी देशको तथ्याङ्कको आधारमा भन्नु पर्दा ३० वर्ष माथिका पुरुष र ५० वर्ष माथिका महिलाहरुमा कुनै न कुनै बखत गाउटको समस्याले पिरोलेको हुन्छ । गाउटले धेरैजसो विरामीमा गोडाको बुढीऔंला, गोलीगाँठा र यस वरपरका जोर्नीमा टन्किएर दुख्ने, सुन्निने हुन्छ । रोग छिप्पिदै गएपछि भने घुडा तथा हातका जोर्नीहरुमा पनि असर पर्न सक्छ ।

युरिक एसिडको बाथ हुनुमा आहार–विहार र खानपानको भूमिका एक चौथाई जति मात्रै हुन्छ । अर्थात् तिन चौथाई जति भूमिका त हाम्रो शरिर आफैले उत्पादन गर्ने युरिक एसिडको मात्रामा भर परेको हुन्छ । युरिक एसिडजन्य प्रोटिनयुक्त खानाको बावजुद अन्य कारणले गर्दा पनि युरिक एसिड उत्पादन भएको हुन्छ । वंशाणुगत कारण, शारिरीक मोटोपन, लामो अवधि भोको बस्ने बानी, मृगौलाको कार्य विफलता, मृगौलाको पत्थरी, मुटु सम्बन्धि रोगहरु, मधुमेह आदि जस्ता कारणहरुले र कुनै प्रकारका दिर्घरोगहरु साथै केही किसिमका औषधिहरुको प्रयोगको कारण ( जस्तै : लगातार थायजाइड ग्रुपको औषधी, जुन उच्च रक्तचापमा प्रयोग गरिन्छ ) पनि कतिपय व्यक्तिको रगतमा युरिक एसिड बढेको हुन्छ ।

युरिक एसिडको बाथको उपचार कसरी ?

अन्य किसिमको बाथरोग भन्दा युरिक एसिडको बाथलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । यस्तो बाथलाई व्यवस्थापन गर्नको लागि विशेषज्ञ डाक्टर र बिरामीबिच उचित छलफल, परामर्श र सहकार्य अनिवार्य हुन्छ । अन्यथा विरामीहरुले डाक्टरको परामर्श बिना विविध प्रकारका औषधी छोटो समयको लागि सेवन गर्दा रोग झन्झन् जटिल हुँदै जाने सम्भावना रहन्छ ।

युरिक एसिडको बाथद्वारा पिडीत विरामीहरूले तत्काल अस्पताल पुगेर डाक्टरकाे सल्लाह लिनुपर्छ । आहार–विहार र दैनिक जिवनयापन पद्धतिमा परिमार्जन गर्ने वित्तिकै युरिक एसिडको मात्रा घटिहाल्छ भन्ने कुरा पनि कतिपय विरामीहरुमा लागु नहुन सक्छ । किनकी वंशाणुगत लगायत अन्य कारणले पनि युरिक एसिड बढाएको हुनसक्छ । त्यसैले विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम उचित प्रकारको औषधी प्रयोग गर्ने जस्तै anti-inflammatory drugs   (उचित प्रकारको नदुख्ने औषधी) र Uric Acid Lowering Agent  (युरिक एसिड घटाउने औषधी) प्रयोग गर्न जरुरी देखिन्छ । खानपानमा सन्तुलन कायम गरेमा, प्रसस्त मात्रामा तरलपदार्थ र पानी सेवन गर्ने बानी बसालेमा, शारिरिक तौल नियन्त्रण गर्ने, नियमित शारिरिक ब्यायाम गर्ने र शंका लाग्नासाथ डाक्टरको परामर्श लिने बानी बसालेमा युरिक एसिडको बाथलाई व्यवस्थापन गरेर सहजै छुट्कारा पाउन सकिन्छ ।

युरिक एसिड कसरी नियन्त्रण गर्ने ?
आधुनिक जीवनशैली र खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित भइरहेका छन्। दिर्घकालीन रोगको रुपमा लिइने युरिक एसिडबाट जोगिने केही उपाय छन्। ती पालना गरे तपाईं पनि जोगिन सक्नुहुन्छ।

१. शरिरको तौल नियन्त्रण गर्नुहोस्। बढी तौल भएको शरिरमा युरिक एसिड थुप्रिएर बस्दछ र रगतमा प्रसार हुन्छ।

२. मासुजन्य खाद्यपदार्थमा प्युरिन रहेको हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ। खासगरी रातो मासुको उपभोग कम गर्नुपर्दछ। कलेजो, किड्नी, मुटुजस्ता मांस पदार्थको उपभोग सकेसम्म घटाउनुपर्छ। मासुको सुप, बियरजस्ता यिष्टबाट प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ। सिमी, तोरीको साग, पालुंगोको साग, खसी, हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन्।

३. किड्नीको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्ने गर्दछ। त्यसैले दैनिक कम्तिमा १० गिलास पानी पिउनुपर्दछ।

४. क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ। केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदिको नियमित सेवन गर्नुपर्दछ।

५. अल्कोहल, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता सफ्ट ड्रिँकको सेवन घटाउनु पर्दछ।

६. तेलमा तारेको खानेकुरा कम खानु पर्दछ। तारेको खानेकुरामा भएको तेल तथा फ्याट रेनसिडमा परिणत हुन्छ। रेनसिडको उपभोगले शरिरमा अन्तरनिहित भिटामिन ई नष्ट गरी युरिक एसिड प्रसार हुन्छ।

७. शारीरिक व्यायाम र मानसिक तन्दुरुस्ती नियमित राख्नुपर्दछ।

बुध, साउन २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया